Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षकहरुलाई खुला चिठी

शिक्षकहरुलाई खुला चिठी

  • 817
    SHARES

  • शिक्षकहरुलाई खुला चिठी

    विद्यार्थीका सपनाका लागि, शिक्षामा शुद्धताको लागि आन्दोलन लाई सार्थक बनाउनको लागी ।

    आदरणीय शिक्षकहरू,

    म तपाईंहरूलाई सम्मानसाथ यो चिठी लेख्दैछु। तपाईंहरू शिक्षक हुनुहुन्छ देशका भविष्य निर्माता। तपाईंहरूले २०४६ सालमा सडकमा उत्रेर देशको मुहार फेर्नुभयो। २०६२/६३ मा फेरि लोकतन्त्रका निम्ति आवाज उठाउनुभयो। त्यो समय तपाईंहरूको संघर्ष राष्ट्रका लागि थियो कुनै पार्टीको लागि होइन। तपाईंहरूको योगदानमा निस्सन्देह म गर्व गर्दछु।

    तर आज, कठोर शब्दमा भन्नैपर्छ शिक्षालयहरू राजनीतिक अखडा बन्न पुगेका छन्। शिक्षक संगठनहरू स्वतन्त्रताको होइन, दलगत स्वार्थको वकालत गर्दैछन्। विद्यार्थीहरू राजनीतिका मोहरा बनाइँदैछन्। विद्यालयहरूमा योग्यता होइन, पार्टीको टिकटले प्रधानाध्यापक बन्न थालेका छन्। शिक्षामा असत्यको खेती भएको छ। यो पीडादायी साँचो हो ।

    आज तपाईंहरू फेरि सडकमा हुनुहुन्छ, शिक्षामा न्यायका लागि। तर सरकार बहिरो बनेको छ। तपाईंहरूको आवाजलाई लाठीचार्जले दबाउने प्रयास भइरहेको छ। पानी का फोहोरा गिरफ्तारी यिनै माध्यमले तपाईंहरूको पीडालाई उपहास बनाइएको छ।

    विद्यार्थीहरूलाई बलिको बोको नबनाऔं। शिक्षा क्षेत्रलाई राजनीति र पार्टीको स्वार्थमा होम्न बन्द गरौं।हामी शिक्षक हौं कार्यकर्ता होइनौं।विद्यार्थीका निर्दोष सपनाहरू हाम्रो हातमा छन् त्यसलाई राजनीति र निजी स्वार्थका लागि चकनाचुर पार्नु अपराध हो।

    आन्दोलन गरौं, तर विवेकसाथ। न्याय खोजौं, तर विद्यार्थीहरूलाई पढ्नबाट रोक्न होइन, उनीहरूका सपनाहरू जोगाउन। परिवर्तन ल्याऔं,आफ्नु सोच र चरित्र बदल्दै। आज शिक्षामा राजनीति हटाउन सकेनौं भने भोलि हाम्रा आफ्नै सन्तानहरू अन्धकारमा हराउने छन्।

    त्यसैले म तपाईंहरूसँग एक मर्माहत, दृढ र साँचो आह्वान गर्दछु शिक्षक जागौं। शिक्षालाई बचाऔं। विद्यार्थीका सपना जोगाऔं। जब तपाईहरु सच्चिनु हुन्छ तपाईका जायज माग पूरा गर्न आम जनता सडकमा आउने छ्न ।

    सन्देश धनञ्जय हसन

    एक चिन्तित विद्यार्थी, अभिभावक ,नेपाली जनता ।

    images
    सोमवार, बैशाख १५ २०८२०७:४५:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार