मंगलवार, जेठ १४ २०८२
काठमाडौ। नेपाली कांग्रेस शिक्षा बिभागले उच्च- शिक्षाका आयाम विषयमा विमर्श कार्यक्रम आयोजना गरेको छ। मंगलवार लैनचौरस्थित मल्ल होटेलमा उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा गुणस्तरीय शिक्षा दिन सके नेपाली विद्यार्थीहरू अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
सभापति देउवाले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक नीति निर्माण गर्न काँग्रेसले ध्यान दिने बताउनुभयो। शिक्षाको गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउन सकिने देउवाको धारणा छ।
‘शिक्षा एकदमै महत्त्वपूर्ण विषय हो। हरेक अभिभावकले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन्। त्यसकारण हामीले नेपालको शिक्षा प्रणालीलाई राम्रो र बलियो बनाउनुपर्छ। नभए सबैले आफ्ना सन्तानलाई विदेश पठाउन थाल्छन्। नेपाल निकै सुन्दर र प्रचुर सम्भावनाले भरिएको छ। नेपाल शिक्षाको हब पनि बन्नसक्छ। सोही अनुसार अगाडि बढ्न सक्यौं भने नेपाली मात्र होइन विदेशी विद्यार्थी पनि नेपाल आउन सक्छन्,’ उनले भने।
उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्गदर्शन र सल्लाहको खाँचो रहेको बताए।
मन्त्री पन्तले विश्वविद्यालयलाई स्वतन्त्र तरिकाले चलाउनुपर्ने र आफुले हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरे। विश्वविद्यालयमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने र विद्यार्थीहरूको विदेश पलायन रोक्नुपर्ने उनको धारणा छ।
मन्त्री पन्तले विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको लागि कसैले पनि पनि भनसुन नगर्न आग्रह गर्दै बरु सरकारले आग्रह गरिदिएर बस्दिन पर्यो भन्ने वातावरण बनाउन प्रज्ञिकहरूसँग आग्रह गरे । पन्तले विदेशमा रहेका विश्वविद्यालयहरूलाई नेपाल अध्यापन गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिँदै युवापुस्ताहरूलाई स्वदेशमा नै रोक्न सक्ने गरिको शिक्षा दिन सक्नुपर्ने धारणा राखे ।
उक्त कार्यक्रममा शिक्षा विद्हरूले शिक्षा क्षेत्रलाई राजनीतिक दवाव र प्रभावबाट टाढा राख्नु पर्ने धारणा राखेका छन्।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमाले विश्वविद्यालय भनेको एकेडेमिक्सहरूको गणतन्त्र भएकोले बाहिरबाट कसैले हस्तक्षेप गर्न नहुने बताउनुभयो । के पढाउने, कसरी पढाउने र पढाएको कुरा कसरी मुल्यांकन गर्ने भन्ने जस्ता नितान्त विश्वविद्यालयको कुरा भएकोले यसमा हस्तक्षेप गर्न नहुने उहाँको धारणा छ।
उहाँले आफू उपकुलपति हुँदा प्रधानमन्त्रीबाट कहिल्यै पनि हस्तक्षेप नगरेको उदाहरण दिँदै विश्वविद्यालयको ओनरसिप सरकारमा नहुने बताए । यसैगरी ओनरसिप विश्वविद्यालयकै हुनुपर्ने बताउँदै यसका लागि बोर्ड अफ ट्रस्टलाई अगाडी बढाउनुपर्ने धारणा व्यक्त गरे ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थ खनियाँले शिक्षा मन्त्रालय र क्याबिनेटले समेत गरेका निर्णयहरू कार्यान्वयन नहुने गरेको उल्लेख गर्दै अहिले नेपालको उच्च शिक्षा माथिल्लो तहबाटै बिग्रिएको बताउनुभयो । शिक्षा मन्त्रालयले निर्देशिकाको भरमा मात्रै ३) वर्ष बढी विदेशी सम्बन्धन प्राप्त कलेजहरूलाई अनुमति दिएको बताउँदै देश मै भएका विश्वविद्यालयहरूको हकमा सरकारले विश्वविद्यालयसँग सहकार्य नगरी प्रध्यापकहरूसँग गर्ने गरेको बताउनुभयो ।
खनियाँले विश्वविद्यालय बन्छन् की खुल्छन् भन्ने प्रश्न गर्दै सरकारको लगानीमा भर पर्ने भएतापनि लगानी कति गर्ने विषयमा नै अन्योलता देखिने गरेको बताउनुभयो । उहाँले भएका शैक्षिक संस्थाहरूलाई विश्वविद्यालयमा रूपान्तरण गर्न सकिने भएपनि त्यसो नगरी नयाँ खुल्ने गर्नु राम्रो नभएको विचार व्यक्त गरे ।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा। अम्माराज जोशीले विश्वविद्यालयमा लगानीको मोडेल के हुने भन्ने विषयमा प्रस्ट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सरकारको लगानीबाट मात्रै चल्न नसक्ने बताउनुभयो । विश्वविद्यालयमा कसैको सर्त लागु नहुनेमा जोड् दिँदै शिक्षक राम्रो भए शिक्षा राम्रो हुने र शिक्षक राम्रो नभए शिक्षा राम्रो नहुने भएकोले सबै दोषी भएको बताउनुभयो ।
यस्तै कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी अघि बढ्नुपर्ने बताए । पार्टीको शिक्षा नीतिले समग्र शिक्षा नीति निर्माणमा र कार्यान्वयनमा योगदान गर्ने अपेक्षा राखिएको बताउँदै उच्च शिक्षा सम्बन्धी विमर्श कार्यक्रम राखिएको प्रष्टा पारे ।