Jul 27 2026 | २०८३, श्रावण ११ गते

आजको मिहिनेत, भोलिको सफलता

आजको मिहिनेत, भोलिको सफलता

  • 562
    SHARES

  • आजको मिहिनेत, भोलिको सफलता

    बिन्दु धामी - साउन, १९ गते। सपना देख्नु सजिलो छ तर त्यसलाई हामीले साकार पार्नका लागि निरन्तर परिश्रम गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ । आज गरिएको सानो मिहिनेत नै भोलिको ठूलो उपलब्धिको आधार बन्न पनि सकिन्छ । मान्छे सफल भएर जन्मिदैन उनीहरु निरन्तर सङ्घर्ष, लगनशीलता र धैर्यताबाट निर्माण हुन्छन् । सफल मान्छे त्यतिकै बनिने भए यति धेरै मिहिनेत किन गर्नुपथ्र्याे त ? सफल मान्छे बन्न धेरै प्रयास, मिहिनेत र परिश्रम गर्नुपर्दछ ।

    सफलताको कुनै जादु त छैन तर त्यहाँ पुग्नका लागि योजना, साहस, धैर्य र दिन रातको कडा मिहिनेत चाहिन्छ । आज विद्यालयमा पढ्ने एक साधारण विद्यार्थी पनि यदि उसले अनुशासन मिहिनेत र आत्मविश्वासका साथ अघि बढ्यो भने ऊ भोलिको एक असल राष्ट्र निर्माता पनि बन्न सक्छ । तसर्थ हरेक व्यक्तिमा कुनै न कुनै अद्भूत क्षमता हुन्छ, जो कोहिलाई पनि बाहिरबाट हेर्दैमा त्यस व्यक्तिभित्र के छ भनेर हामीमा पूर्ण रुपमा थाहा पनि हुँदैन तर हामी कसैले पनि कसैलाई अपहेलना गर्नु पनि हुँदैन । आज उसलाई कुनै पनि कार्य गर्न आउँदैन तर सबैले हेला गर्दछन् यो कुरा पक्कै हो । यदि त्यहिँ व्यक्तिले आफ्नो कार्य, धैर्य, मिहिनेत निरन्तरता दिँदै ग¥यो भने उसको पनि आजको मिहिनेत भोलिको सफलता पक्कै हुन्छ र ऊ पनि एक असल नागरिक बन्न सक्षम हुन्छ ।

    भनिन्छ नि किसानले आज रोपेको बिउँ भोलि सफल बन्छ । श्रमिकले आज पसिना बगाएको इँटाले भवन बन्दछ, त्यसैगरि विद्यार्थीले आज पढेको पाठले भविष्य निर्माण गर्दछ र असल सतमार्गको बाटो हिड्ने गर्दछ । त्यसैगरी युवाहरुको सबैभन्दा ठूलो शक्ति भनेको समय हो र समयको सदुपयोग गर्न युवाहरुले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । जसले समयको सदुपयोग गर्न जानेको बुझेको हुन्छ उसले नै भविष्यमा अवसरहरुको ढोका खोल्न सक्षम हुन्छ । तसर्थ खाली समय खेर फाल्यौँ भने पछि गएर पछुताउँनु बाहेक केहि हुँदैन तर हामी सबैले खाली समयको सदुपयोग गर्नुपर्दछ र खाली समयलाई खेर नफालि भविष्यमा सफलताको शिखर चुम्न सकिन्छ । तर जिन्दगीमा थोरै–थोरै गरेर सफलताको शिखर चढ्न सकिन्छ । कुनै पनि काम क्रियाकलाप एकै छिनमा सम्भव हुने हैन । तसर्थ विस्तारै–विस्तारै कडा मिहिनेतले न त कहिल्यै धोका दिन्छ, न त खेर जान्छ ।

    आजको हेरक इमान्दार प्रयास, हरेक सिकाइ, हरेक गल्तीबाट लिएको पाठ यी सबै भोलिको सफलताको खम्बा हुन् । हरेक व्यक्तिले पहिलो खुट्किला गल्तीबाटै अनुभव लिएर अगाडि बढिरहेका पनि हामीले आफ्नै आँखा अगाडि देखेका छौँ । सबै व्यक्तिहरु एकछिनको प्रयासमै सफल हुने भए यति धेरै मिहिनेत हामी सबैले किन गर्नुपथ्र्यौ । आखिर असफलता नै सफलताको अगाडि बढ्ने बाटो होला भन्ने पनि मलाई लाग्छ । तसर्थ हाम्रो दिन रातको मिहिनेतले नै भोलिको सफलता पक्कै हुन्छ होला भन्ने पनि लागिरहन्छ ।

    अल्बर्ट आइन्सटाइन, थाँमस, एडिसन जस्ता थुप्रै व्यक्तिहरु त्यतिकै महान स्मरणीय बन्न पुगेका होइनन् । उनीहरुले पनि कडा मिहिनेतका साथ अनेक रात पार गरेका होलान् त्यहिँ भएर आज उनीहरु युग स्मरणीय बन्न पुगेका थिए । जीवनमा धेरै असफल पनि भइन्छ तर असफल नै सफलताको मार्गदर्शक हो भन्ने भावना पनि हामीमा हुनुपर्दछ । असफलता अन्त्य होइन कि बरु सफलताको एक नयाँ पाठ हो । हामीले मिहिनेत गर्न नछोडौँ किनभने सपना त रातमा देखिन्छ तर पूरा गर्न चाहिँ बिहान उठेर मिहिनेत गरेपछि मात्र सम्भव हुने कुरा हो । सम्भव पनि बिहान उठ्ने बित्तिकै हुने होइन त्यसलाई पूरा गर्न दिन रात न भनि मिहिनेत गर्नुपर्दछ तब मात्र सम्भव हुने कुरा हो ।

    आजको लगानी भविष्यको आधार हो र साना–साना प्रयासहरु अनुशासन र निरन्तर संघर्ष नै सफलताको बाटोमा अगाडि बढाउने शक्ति हुन् । सबैभन्दा पहिला त आफुमा विश्वास हुनु पनि जरुरी देखिन्छ । मिहिनेतलाई निरन्तरता दिऔँ, सफलता पक्कै पनि हाम्रो हुनेछ भन्ने अठोटका साथ हामीले काम कार्य गर्नुपर्दछ । सपना त सबैले देख्छन् तर ती सपना पूरा गर्न चाहिने प्रतिबद्धता, धैर्यता र निरन्तर प्रयास सबैमा हुँदैन तर धेरै जसो मानिस लक्ष्य नजिक पुगेपछि थाक्छन्, हार्छन् वा अब पुगिदैन भनेर मन मारेर पछि हट्ने गर्दछन् । तर सफल हुनेहरु भने ती सबै अवरोध पार गरेर पनि अघि बढ्न सक्ने साहस राख्दछन् ।

    हामी सबैले समयको सदुपयोग गर्नुपर्दछ तर आजको एक घण्टा गुमाउनुको मूल्य भोलिको एक वर्ष पछाडि पर्न पनि सकिन्छ । त्यसैले हामी सबैले बेलैमा सचेत हुन जरुरी देखिन्छ । अहिले गुमाएको समयको महत्व त्यति बेला थाहा हुन्छ जति बेला हामी भविष्यको अन्त्यतिर पुगिसकेका हुन्छौँ तर अन्त्य आएर याद आउँछ कि हामीले त्यति बेलाको समय किन खेर फाल्यौँ भनेर । त्यसैले हामीले आजैदेखि समयको ख्याल गरौँ भनेर सोचेर बुझेर आफ्नो कार्यलाई अगाडि बढाउँदै लैजानुपर्दछ । किनभने समय नै सबै भन्दा ठूलो गुरु हो जसले कठिन परिश्रम गर्नेहरुलाई कहिले पनि धोका दिँदैन । तसर्थ सफलताको एउटा सत्य कुरा यो पनि छ कि “सपना देखेर मात्रै सफलता पाइदैन तिनीहरुलाई पूरा गर्न हामीले दिन रात जागेर थाकेर निराश भएर पनि उठेर अघि बढ्दा मात्र सफलताको सिडि समाउन पाइन्छ ।” जीवनका हरेक पाटामा धेरै प्रयास पछि मात्रै एउटा सफलता हात पार्न सफल भइन्छ । जस्तै ः खेलाडिले हजारौँ घण्टा अभ्यास गरेपछि मात्रै खेलमा जित सम्भव हुन्छ र कलाकारले सयौँ प्रयास गरेपछि मात्रै एक उत्कृष्ट सिर्जना आउँछ तर जसले अहिले गाह्रो मान्दछ ऊ सधैँ पछाडि पर्छ । तर जसले अहिले गाह्रो सहेको हुन्छ त्यो व्यक्ति भोलि गएर आफुलाई उत्तिकै गर्व पनि गर्छ । भोलि ऊ अग्रस्थानमा हुन्छ र अघि बढ्दै जान्छ ।

    हामी सबैले आफ्नो लक्ष्यप्रति समर्पित हुनुपर्दछ । परिस्थिति जस्तो भए पनि आफ्नो मिहिनेत कहिल्यै छोड्नु पनि हुँदैन र सधैँ मिहिनेतलाई निरन्तरता दियो भने एक न एक दिन सफलताको सिढि चढ्न सकिएला भन्ने अठोट लिएर आत्म विश्वास बढाउनु पर्दछ किनभने दुःख गरेर बगाएको पसिनाले नै भोलि हाँसो फलाउँछ, सपना साकार पार्न सपना देख्न मात्र होइन संघर्ष गर्न पनि सधै तयार बन्नुपर्दछ । आजको एक–एक प्रयास हामीलाई त्यो दिन नजिक पु¥याइरहेको छ जून हामीले कल्पना गरिरहनु भएका छौँ ।

    आज हामी सबै सफलताको सपना देख्छौँ– कोहि डाक्टर बन्न चाहन्छ त कोहि शिक्षक, इन्जिनियर र कोहि सामान्य जीवनमा असल मान्छे बन्न चाहन्छन् । तसर्थ सबैको आ–आफ्नो सपना, इच्छा, चाहना हुन्छ तर ती सपना एकै छिनभरमा पूरा हुँदैन त्यो सपना पूरा गर्न धेरै दिन, हप्ता, महिना र प्राय ः वर्षाै सम्मको लगन, त्याग र कडा मिहिनेत पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । तर त्याग विना सफलता सम्भव छैन । हामीलाई मोबाइल, टिभी, रमाइलो, आराम सबै मन पर्छ तर जसले केहि समय ती सबैलाई त्याग्न सक्छ ऊ भविष्यमा अरु भन्दा फरक र अरु भन्दा अगाडि जान सक्छ ।

    असफलता पनि सिकाइ हो रोक होइन । त्यसैले छोटो समयको त्याग दीर्घकालीन उपलब्धिको मूल हो । भनिन्छ नि जुनसुकै काम सानो ठानिए पनि त्यसमा लगन भए भविष्य बदल्न सकिन्छ । सफलता सजिलो कुरा होइन यो संघर्ष, धैर्यता र निरन्तर मिहिनेतको परिणाम हो । आज हामीले गरेका साना प्रयासहरु, थोरै त्यागहरु र अनुशासनका साथ बिताएका पलहरु नै हाम्रा लागि भोलिको सफल भविष्य निर्माण गर्ने खम्बा हुन्छ । त्यसैले आज मिहिनेत गर्न नडराउँ किनभने हाम्रो परिश्रमले नै हाम्रो सपना पूरा गर्नमा ठूलो भूमिका खेल्दछ ।

    भनिन्छ नि सिचिएको बिउँ तुरुन्त फुल्दैन त्यसलाई समय धेरै र संरक्षण चाहिन्छ । जीवन पनि त्यस्तै हो हामी आज मिहिनेत गरिरहेका छौँ भने भोलि त्यो मिहिनेतले फल दिनेछ भन्ने पनि हामीमा आशा भरोसा पनि पक्कै हुनुपर्दछ । हामी नै हाम्रो भविष्यका लेखक हौँ र हुनु पनि पर्दछ र हाम्रो कलम भनेको परिश्रम हो । त्यसैले हामीले हाम्रो भविष्य आफै लेख्ने भाग दौडमा हुनुपर्दछ अब लेखौ यस्तो भविष्य जसलाई पढेर आफै हामी गर्व गरौँ र हामी हाम्रो भविष्य लेख्दा लेख्दै थाक्छौँ होला तर रोकिनु चाहिँ कहिल्यै होइन । भविष्य लेख्दा लेख्दै बस्नुहोस तर हार मानेर होइन । भोलिको उज्यालो भविष्य आजको यहि संघर्षभित्र लुकेको पनि त हुन सक्छ । त्यसैले आजको यो हाम्रो मिहिनेतलाई साक्षी राखेर अगाडि बढ्नु पनि जरुरी देखिन्छ ।

    एउटा भनाइ छ नि– भोलिको फल स्वादिलो चाहिएको छ भने आज नै बोट रोप्नुपर्छ । एउटा उखानमै भनिएको छ– जसले पसिना बगाउँछ उसैले सुन फलाउँछ । तसर्थ आज गाह्रो लागे पनि गुनासो होइन गहिरो अठोट गर्नुपर्छ । समयको हरेक पलले तपाईसँग हिसाब माग्नेछ र अब त्यो हिसाब मिहिनेतले हामीले बुझाउँनुपर्दछ ।

    सपना पूरा गर्न हामीमा साहस चाहिन्छ तर त्यो साहस दिने शक्ति हो परिश्रम । “आजको मिहिनेत भोलिको समृद्ध नेपाल पनि बन्न सक्छ । राष्ट्र निर्माण कुनै एक व्यक्तिको काम होइन यो त जनताको सामुहिक परिश्रम र समर्पणको फल पनि हो । आज हामी जहाँ छौँ त्यो हाम्रो विगतको मिहिनेतको परिणाम पनि त हुन सक्छ । हामी भविष्यमा कस्तो नेपाल चाहन्छौँ भन्ने कुराको उत्तर हाम्रो आजको कर्ममा लुकेको छ । आजको मिहिनेत भोलिको सफलता केवल भौतिक विकासमा मात्रै होइन नैतिकता, इमानदारी र जिम्मेवारीमा पनि आधारित हुन्छ । आज हामी सबैले समृद्ध नेपालको सपना देखिरहेका हुन्छौँ तर ती सपना पूरा गर्न सपना मात्र होइन इमानदार प्रयास, लगनशील प्रशस्त मात्रामा चाहिन्छ । हरेक नागरिकले आफ्नो स्थानबाट कर्म ग¥यो भने नेपालको भविष्य मात्रै नभएर हामी सबै सिङ्गो नेपालको भविष्य उज्यालो बनाउन सकिन्छ ।

    वास्तवमा भन्ने हो भने आजको मिहिनेत किन महत्वपूर्ण छ ? आजको प्रयास भोलिको पहिचान हो । विद्यार्थीले पढाइमा ध्यान दिए भने भोलि सक्षम नेतृत्व तयार गर्नमा निकै नै ठूलो भूमिका खेल्ने गरेको पाइन्छ । किसानले सप्रेर काम गरे भने देश खाद्य सुरक्षामा आत्मनिर्भर बन्छ । श्रमिकले पसिना बगाए भने भोलिको पूर्वाधार बलियो हुन्छ । युवाले सीप र सोचमा लगानी गरे भने देश प्रगति तिर ढल्कने गर्दछ । मिहिनेत गरेर देखाउनु ठूलो कुरा हो तर गुनासो गरेर केहि फाइदा छैन तर पनि हामीलाई के लाग्छ भने गुनासो गर्नु त सजिलो लाग्छ भने काम गरेर मिहिनेत गरेर पढ्नु या कुनै काम गर्नु निकै नै चुनौतीपूर्ण देखिने गर्दछ । तर यथार्थ यहि हो कि हामीलाई मिहिनेत गरेर पढ्न निकै चुनौतीपूर्ण लाग्छ तर गुनासो गर्न सहज हुन्छ । तर सपना पूरा हुन्न । आजको कर्म निकै नै अनिवार्य छ । हामीले निरन्तर मिहिनेत गरेर मात्र एक असल र सुन्दर भविष्य निर्माण गर्नमा हाम्रो आफ्नो निकै ठूलो दायित्व रहन्छ ।

    सफलता कसलाई चाहिँदैन र ? हरेक मानिस आफ्नो जीवनमा केहि बन्न, अगाडि बढ्न र सफल हुन चाहन्छ । तर त्यहाँसम्म पुग्नको लागि हामी सबैले संघर्ष गर्नुप¥यो । निराशा त्याग्नुप¥यो अनि मात्र मिहिनेतको परिक्षा हुन्छ । साच्चै भन्ने हो भने त सफलताको बिउँ आज बिउँझिएको मिहिनेतको बाटो नै रोपिएको हुन्छ । त्यसैले हामी सबैले आजको प्रयास, लगन र निरन्तर साधनाले नै भोलिको उपलब्धि निर्धारण गर्छ । मिहिनेत विना जीवन नै अधुरो सपना नै बन्दछ । जति ठूलो सपना किन नहोस् यदि त्यो पछाडि मिहिनेत छैन भने त्यो केवल कल्पनामा मात्र सीमित रहन्छ । त्यो सपना साकार पार्न सक्दैनौँ ।

    विद्यार्थी जीवन भनेको भविष्य निर्माणको समय पनि हो । अहिलेको पढाइ अभ्यास र अनुशासन नै भोलिको उज्वल भविष्यको आधार बनाउन सकिन्छ । जो विद्यार्थी आज गम्भिर भएर अध्ययन गर्छ ऊ नै भोलिको राष्ट्रको कदरयोग्य नागरिक बन्न पनि सकछ । आजको पढाइ नै भोलिको सफलता होला भन्ने पनि मलाई लाग्छ । “परिश्रम भित्र नै सफलता लुकेको हुन्छ ।” सफलता भाग्यले होइन परिश्रमले तय गर्ने गर्दछ ।

    कुनै पनि क्षेत्रमा अगाडि बढ्न चाहने व्यक्ति आज नै काममा लाग्नु जरुरी देखिन्छ । सानो प्रयासहरु जोडिदै जादा हामीले हाम्रो जीवनमा ठूलो उपलब्धिमा परिणत हुने गर्दछ । जीवनमा असफलता आइरहन्छन् तर निरन्तर मिहिनेतले ती असफलतालाई जित्न सकिन्छ । हिम्मत गर्नेको हार हुँदैन” भन्ने भनाइ सत्य सावित हुने गर्दछ । हरेक व्यक्ति सपना पूरा गर्नमा लाग्दैन तर जो व्यक्ति सपना पूरा गर्नमा लाग्छ त्यो व्यक्तिको मिहिनेतपहिचान नै छुट्टै हुन्छ । आफुप्रति इमानदार, धैर्य भरिपूर्ण हुनुपर्दछ तर समय कहिले कुर्दैन त्यसैले हामीले हाम्रो हरेक दिनलाई अवसरको रुपमा लिदै अगाडि बढ्नुपर्दछ । आजको सानो कदम नै भोलिको ठूलो सफलता बन्न पनि सक्छ । त्यसैले हामीले आलस्य होइन आत्मविश्वास र मिहिनेतलाई साथ बनाएर अघि बढौँ किनभने हामी सबैको भविष्य आजको मिहिनेत भोलिको सफलतामा छ ।

    लेखक बिन्दु धामी सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकि बिद्यार्थी हुन्।

    images
    सोमवार, श्रावण २० २०८२०८:०५:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार