आइतवार, चैत्र १ २०८२
काठमाडौं, चैत १। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ग्रामीण विकास केन्द्रीय विभाग, कीर्तिपुरको आयोजनामा “Nepal's Path to Resilience: Navigating the Triple Planetary Crisis” शीर्षकमा विकास संवाद कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालयका रेक्टर प्रा.डा. खडग केसि को प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।

संवाद कार्यक्रममा ग्लोबल इन्स्टिच्यूट फर इन्टरडिसिप्लिनरी स्टडीजसँग आबद्ध पर्यावरणविद् उत्तमबाबु श्रेष्ठले “Nepal's Path to Resilience: Navigating the Triple Planetary Crisis” विषयक अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्दै देशको भौतिक, सामाजिक तथा आर्थिक विकासमा वातावरणीय अवस्थाले पार्ने प्रभावबारे विस्तृत चर्चा गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाध्यक्ष प्रा.डा. के.सीले छिमेकी राष्ट्रहरूबीच विकासको तीव्र प्रतिस्पर्धाले नेपालमा पनि वातावरणीय चुनौती बढ्दै गएको बताउनुभयो। विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आजको मुख्य आवश्यकता भएको उहाँको भनाइ थियो। उहाँले चीनको राजधानी बेजिङले विकाससँगै वातावरण संरक्षणमा गरेको प्रयास उदाहरणीय रहेको उल्लेख गर्दै प्रदूषण नियन्त्रणमा त्यहाँ उल्लेखनीय सुधार आएको जानकारी दिनुभयो।
उहाँका अनुसार विकासले मानव क्षमताको विस्तार गर्दै अन्तरदेशीय सम्भावनालाई उजागर गर्नुपर्ने र समुन्नत समाज निर्माणमा योगदान दिनुपर्ने हुन्छ। साथै, शासकीय व्यवस्थाले वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिन आवश्यक रहेको उहाँले बताउनुभयो। विश्वका शक्तिशाली राष्ट्रहरू कमजोर देशप्रति जिम्मेवार बन्ने क्रममा पछाडि हट्दै गएको तथा क्षेत्रीय सहयोग संगठनहरू कमजोर बन्दै गएको उल्लेख गर्दै नेपालले जलवायु परिवर्तनका चुनौती र त्यसले सिर्जना गर्ने संकटबारे अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर आवाज उठाइरहनुपर्ने उहाँले जोड दिनुभयो।

कार्यपत्र प्रस्तुत गर्दै पर्यावरणविद् डा. श्रेष्ठले समाजका विभिन्न क्षेत्रमा भएको प्रगति र उन्नतिलाई विकासको रूपमा लिने गरिए पनि त्यसका वातावरणीय प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औंल्याउनुभयो। लोकतान्त्रिक शासन, औद्योगिक तथा प्रविधिगत विकास, खाद्य सुरक्षाप्रति बढ्दो सचेतना, निरपेक्ष गरिबीमा आएको कमी, पोषणमा सुधार तथा मानव खुसीयालीमा भएको वृद्धि विकासका सकारात्मक सूचक भएको उहाँले उल्लेख गर्नुभयो।
तर विश्वव्यापी रूपमा तापक्रम वृद्धि, कार्बनडाइअक्साइड उत्सर्जन बढ्नु, समुद्र सतह उक्लिनु तथा वायुमण्डल र पृथ्वीका विभिन्न तत्त्वहरूमा देखिएको परिवर्तनले वातावरणीय संकट गहिरिँदै गएको उहाँले बताउनुभयो। दक्षिण एशियाली हिमाली क्षेत्रमा हिउँ घट्दै जानु, नेपालमा जलवायु परिवर्तनको प्रभाव कृषि उत्पादन र जनजीवनमा देखिनु, अतिवृष्टि, असमयिक प्राकृतिक विपद् तथा वनस्पतिहरूको स्थानान्तरणजस्ता समस्या बढ्दै गएको उहाँको भनाइ थियो।
तापक्रम वृद्धिका कारण विश्वभर फूल फुल्ने र पालुवा पलाउने समय अगाडि सर्नु तथा पात झर्ने समय ढिलो हुन थालेको पनि अध्ययनहरूले देखाएको उहाँले जानकारी दिनुभयो। साथै नयाँ संक्रामक रोगहरूको जोखिम बढ्दै गएको र भविष्यमा जनजीवन अझ कठिन हुन सक्ने चेतावनी समेत उहाँले दिनुभयो। नेपालमा वन्यजन्तु तथा वातावरण संरक्षणमा चुनौती बढ्दै गएको उल्लेख गर्दै जलवायु परिवर्तन, वातावरणीय सन्तुलन र प्रदूषण नियन्त्रणका लागि सबै तहका सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।
कार्यक्रममा विभागीय प्रमुख सुमन खरेलले संवादको उद्देश्यबारे जानकारी दिँदै संरचनात्मक परिवर्तनमार्फत विकासका बहुआयामिक पक्षलाई समेट्न ज्ञान र सम्भावनाको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो। उहाँले ग्रामीण विकासलाई अझ व्यापक बनाउँदै विकास अध्ययनको रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।