शनिवार, चैत्र २८ २०८२
काठमाडौँ, — सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गर्दै आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई अनुरोध गरेपछि स्वास्थ्य क्षेत्रमा अन्योलता देखिएको छ। नेपाल चिकित्सक संघ ले विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति व्यवस्थापन नगरी तत्काल ओपीडी सेवा सञ्चालन सम्भव नभएको स्पष्ट पारेको छ।
संघले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन पहिलो सर्त हुने उल्लेख गर्दै हालको अवस्थामा सार्वजनिक बिदाका दिन नियमित ओपीडी सेवा दिन सकिने अवस्था नरहेको जनाएको छ।
सरकारले भने शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेसँगै स्वास्थ्य संस्थाहरूमा पनि सोहीअनुसार बिदाको व्यवस्था गरिएको थियो। तर, बिरामीको चाप र सेवा निरन्तरतालाई ध्यानमा राख्दै आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरिएको थियो।
यसबीच, स्वास्थ्यकर्मीहरूले दीर्घकालीन योजना र जनशक्ति व्यवस्थापनबिना सेवा विस्तार गर्ने निर्णयले सेवा गुणस्तरमा असर पार्न सक्ने चेतावनी दिएका छन्। स्वास्थ्य क्षेत्रमा उत्पन्न यस परिस्थितिले सरकार र चिकित्सकबीच समन्वयको आवश्यकता अझ बढाएको देखिएको छ।
