बुधवार, आषाढ ३१ २०८३
काठमाडौं, २८ असार। संस्कृत वाङ्मयको समृद्ध परम्परा तथा नेपाली साहित्यको शास्त्रीय छन्द संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ पाणिनि विद्यालय–परिवारद्वारा आयोजित 'आठौँ पाणिनि छन्दसाँझ–२०८३' भव्यताका साथ सम्पन्न भएको छ। कागेश्वरी मनोहरा–९, खहरेस्थित पाणिनि विद्यालयमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले विद्यार्थीमा भाषा, साहित्य, संस्कृति र संस्कारप्रतिको आकर्षण अभिवृद्धि गर्ने सन्देश दिएको छ।

विद्यालयका प्राचार्य प्रकाशचन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सनातन वैदिक धर्मका संरक्षक तथा धार्मिक–सांस्कृतिक अभियन्ता परमहंस परिव्राजकाचार्य यतीश श्री १००८ डा. स्वामी केशवानन्द गिरिजी महाराज प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। भाषाविद् तथा कवि प्रा. डा. देवी नेपाल र वरिष्ठ पत्रकार टीकाराम यात्री विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको शुभारम्भ कक्षा ४ का विद्यार्थीहरूको मन्त्रोच्चारण, कक्षा ८ का विद्यार्थीहरूको शङ्खध्वनि तथा दीपप्रज्ज्वलनबाट गरिएको थियो। त्यसपछि कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले संस्कृत र नेपाली साहित्यका कालजयी कृतिहरू विभिन्न शास्त्रीय छन्दमा कण्ठस्थ वाचन गर्दै दर्शकको मन जितेका थिए।

विद्यार्थीहरूले आद्याचार्य शङ्कराचार्यका गणेशपञ्चरत्नम् र चर्पटपञ्जरिकास्तोत्रम्, आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी माला, महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुतली, गोस्वामी तुलसीदासको श्रीरुद्राष्टकम् लगायत भरतराज पन्त, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, रामप्रसाद ज्ञवाली, टीका आत्रेय, गौतम मनीष र मनोज भण्डारीका सिर्जनाहरू प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्रग्विणी, पञ्चचामर, तोटक, उपजाति, भुजङ्गप्रयात, शिखरिणी, मन्दाक्रान्ता, शार्दूलविक्रीडितजस्ता शास्त्रीय छन्दसँगै सवाई र झ्याउरे छन्दको समेत प्रयोग गरिएको थियो। अभिनयात्मक रामायण वाचन, स्वागत नृत्य तथा बालकलाकार आँचल बस्यालको विशेष प्रस्तुतिले कार्यक्रममा थप आकर्षण थपेको थियो।

कार्यक्रमका वक्ताहरूले पाणिनि विद्यालयले संस्कारयुक्त शिक्षा, संस्कृत भाषा तथा नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए। कार्यक्रम संयोजक रोहिणीराज तिमिल्सिनाले आठ वर्षअघि सुरु भएको छन्दसाँझ अभियानले शास्त्रीय साहित्यप्रति नयाँ पुस्ताको रुचि बढाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।

प्रमुख अतिथि डा. स्वामी केशवानन्द गिरिजी महाराजले पाणिनि विद्यालयको संस्कारयुक्त शिक्षालाई अनुकरणीय नमुना भएको उल्लेख गर्नुभयो। विशिष्ट अतिथि प्रा. डा. देवी नेपालले विद्यालयको शैक्षिक वातावरणको प्रशंसा गर्दै यहाँ अध्ययन गर्ने अवसर पाएको भए आफ्नो जीवनयात्रा अझ फरक हुन सक्ने धारणा व्यक्त गर्नुभयो। वरिष्ठ पत्रकार टीकाराम यात्रीले नेपाली भाषा र मातृभाषाको सम्मानलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने कार्यमा पाणिनि विद्यालय अग्रणी रहेको बताउनुभयो।

सो अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा वरिष्ठ पत्रकार टीकाराम यात्रीलाई विद्यालयले सम्मानसमेत गरेको थियो। सम्मानपत्रको वाचन क्रमशः कार्यक्रम संयोजक रोहिणीराज तिमिल्सिना, युवा कवि गौतम मनीष र उपप्राध्यापक गोविन्द घिमिरेले गर्नुभएको थियो।
साङ्गीतिक छन्दवाचनका लागि वाद्यवादन समूहको नेतृत्व विद्यालयका सङ्गीत शिक्षक बालकवि श्रीजय शाक्यले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन देवनागरी विभागकी सदस्य शिक्षिका गोमा रेग्मीले गर्नुभएको थियो।

समापन मन्तव्यमा प्राचार्य प्रकाशचन्द्र खड्काले छन्दसाँझजस्ता कार्यक्रमले विद्यार्थीमा संस्कृत र नेपाली साहित्यप्रतिको सम्मान, भाषिक दक्षता तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा विद्यालयकी निर्देशिका रक्षा गौतम, उपप्रधानाचार्य राजीव खड्का, शिक्षक–कर्मचारी, अभिभावक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले आयोजना गर्दै आएको पाणिनि छन्दसाँझ शास्त्रीय छन्द परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणको प्रभावकारी अभियानका रूपमा स्थापित हुँदै गएको सहभागीहरूले बताएका छन्।




