Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रश्नपत्र लिक प्रकरणमा २४ घण्टाभित्र मुख्य आरोपित पक्राउ, परीक्षा प्रणाली सुधारमा सरकार प्रतिबद्ध

प्रश्नपत्र लिक प्रकरणमा २४ घण्टाभित्र मुख्य आरोपित पक्राउ, परीक्षा प्रणाली सुधारमा सरकार प्रतिबद्ध

  • 251
    SHARES

  • प्रश्नपत्र लिक प्रकरणमा २४ घण्टाभित्र मुख्य आरोपित पक्राउ, परीक्षा प्रणाली सुधारमा सरकार प्रतिबद्ध

    काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (MBS) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र WhatsApp मार्फत सार्वजनिक भएको घटनामा संलग्न मुख्य आरोपितहरू २४ घण्टाभित्रै प्रहरी नियन्त्रणमा परेका छन्। शिक्षा तथा युवा मन्त्री सस्मित पोखरेलले घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको जानकारी दिएका छन्। उनका अनुसार परीक्षा प्रणालीमाथिको विश्वास, शैक्षिक संस्थाको विश्वसनीयता तथा हजारौँ इमानदार विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले घटनालाई अत्यन्त गम्भीर रूपमा लिइएको हो।

    मन्त्री पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समन्वय गरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र साइबर ब्युरोलाई अनुसन्धानमा परिचालन गर्न आग्रह गरेका थिए। त्यसपछि प्रहरीले डिजिटल प्रमाण र WhatsApp समूहहरूको विश्लेषण गर्दै घटनामा संलग्न मुख्य आरोपितहरूलाई पक्राउ गर्न सफल भएको जनाएको छ।

    मन्त्री पोखरेलले अनुसन्धान अझै जारी रहेको उल्लेख गर्दै घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गरिने स्पष्ट गरेका छन्। साथै, यो घटना केही व्यक्तिको गल्तीमा मात्र सीमित नभई परीक्षा प्रणालीभित्र रहेका सम्भावित कमजोरीहरूको समीक्षा गर्ने अवसरसमेत भएको उनको भनाइ छ।

    यसैबीच, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले प्रश्नपत्र बाहिरिनुको कारण, सुरक्षा प्रणालीमा रहेका कमजोरी तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।

    मन्त्री पोखरेलले परीक्षा प्रणालीमाथिको जनविश्वास कायम राख्न आवश्यक कानुनी तथा संस्थागत सुधार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। विगतमा यस्ता घटनामा छानबिन लम्बिने र दोषी उम्किने प्रवृत्तिको अन्त्य गर्दै शिक्षा प्रणालीलाई थप पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने दिशामा सरकार अघि बढ्ने उनको भनाइ छ।

    उनले इमानदार विद्यार्थीको मेहनतमाथि अन्याय हुन नदिन तथा शिक्षा प्रणालीप्रतिको जनविश्वास थप सुदृढ बनाउन मन्त्रालयले आवश्यक सबै कदम चालिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    images
    आइतवार, श्रावण १० २०८३०८:४८:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार