Oct 02 2026 | २०८३, आश्विन १६ गते

समय, शक्ति र नियति: भौतिकताभित्र आध्यात्मिक चेतनाको खोज आजको शिक्षामा जोड्नुपर्छ

समय, शक्ति र नियति: भौतिकताभित्र आध्यात्मिक चेतनाको खोज आजको शिक्षामा जोड्नुपर्छ

  • 398
    SHARES

  • समय, शक्ति र नियति: भौतिकताभित्र आध्यात्मिक चेतनाको खोज आजको शिक्षामा जोड्नुपर्छ

    काठमाडौ। मानिसले जे सोचेको हुन्छ नि ठ्याक्कै त्यो प्राप्ति हुँदैन। किन थाहा छ? किनकि मानिसको जन्म नै यस धरतीमा अनुभुती गर्नको लागि हो र प्रत्येक बोलिमा शव्द , र त्यसको प्रतिक्रिया मानिसको ज्ञान भर्नकै लागि हो। हो हिजो जे सोच्नुभयो आज त्यो प्राप्त गर्न सक्नुहुँदैन किनकि भौतिक सामग्रीहरूले आवश्यकता पूर्ति गर्ने हो तर खुशी र शान्तिको मार्ग होइनन्। शान्तिको मार्ग त तपाइँको सोच नै हो। कसैले तपाईंलाई गाली गरिहाल्यो भने उसलाई केही नभन्नुहोस् तर मनले सोचि दिनुहोस कस्तो मूर्ख रहेछ। तपाईंको रिस आफै हराउँछ। तर त्यही ठाउँमा किन भनेको भनेर प्रति प्रश्न गर्नुभयो भने तपाईंको मनबाट शान्ति हराउँछ। बुझ्नुपर्छ सबैले शक्ति र धन बाघ र सर्प जस्तै हुन।

    बाघ र सर्प मानिसको जीवनमा नदीको पानी जस्तै हुन। त्यो अविरल प्रवाह हो, जसको एउटै पानीलाई मानिसले दोस्रोपटक स्पर्श गर्न सक्दैन। यही अदृश्य समय चक्रले जीवलाई सूक्ष्म शुक्रकीट र भ्रूणबाट शिशु, सबल युवा र अन्ततः शिथिल वृद्ध अवस्थामा परिणत गराउँछ। अनि अन्तमा आत्माले शरीर त्याग्छ। जीवनका यी रूपान्तरणहरू केवल शारीरिक परिपक्वता मात्र होइनन्; जीवनमा घट्ने हरेक छोटा-ठूला घटनाक्रमहरू कहिँ न कहिँ पूर्वजन्मका सञ्चित कर्म र गहिरो नियतिसँग जोडिएका हुन्छन्।

    हाम्रो जीवनमा प्रवेश गर्ने हरेक व्यक्ति—चाहे ती प्रिय बनून् वा अप्रिय, असल बनून् वा खराब—हामीलाई कुनै न कुनै आत्मिक ज्ञान र अनुभवको आभास गराउन नै आएका हुन्छन्। यही शाश्वत सत्यलाई भुलेर जब मानिस भौतिक संसारको दौडमा निस्कन्छ, उसले धन र सत्ता (शक्ति) लाई नै अन्तिम सत्य मान्ने भुल गर्छ। तर, राजनीति, मानव इतिहास साक्षी छ—शक्ति र धन कहिल्यै कसैको हातमा स्थायी भएर रहँदैनन्। हिजो जयजयकार भएको महान भएको व्यक्ति क्षणभरमै पुत्लादहन र मुर्दावादमा परिणत हुन्छ। आँखा घुमाउनुहोस त्यो परिदृश्य अगाडि देख्नुहुन्छ।

    धन र शक्ति त ठ्याक्कै बाघ र सर्प जस्तै हुन्: बाघ जस्तो शक्ति: जसरी बाघको ढाडमा चढ्नु सजिलो हुन्छ, तर त्यहाँबाट ओर्लनु अत्यन्तै जोखिमपूर्ण हुन्छ; राजनीति र सत्ताको अहंकार पनि त्यस्तै हो। शक्तिमा छउन्जेल मानिसले आफूलाई सर्वशक्तिमान् ठान्छ, तर सत्ता ढाल्नासाथ त्यही शक्तिले उसैलाई सिध्याइदिन्छ। अर्थात शक्तिले मानिसलाई अहँकारी बनाइदिन्छ र त्यही अहँकार उसको विनासको कारण बनिहाल्छ।

    सर्प जस्तो धन: सर्प जति नै आकर्षक र चिल्लो देखिए पनि उसलाई अँगालो हाल्नु वा काखमा राख्नु सदैव विनाशकारी हुन्छ। अनैतिक रूपमा कमाएको धन र सम्पत्तिले मानिसलाई सुख होइन, जुनसुकै बेला डस्न सक्ने भय र अशान्ति मात्र दिन्छ।

    त्यसैले बुझ्नुपरछ बाघ र सर्प दुवै चलायमान जीव हुन्; ती कहिल्यै पनि एकै ठाउँमा स्थिर भएर बसिरहँदैनन्। जसरी बाघ जङ्गलमा एकै ठाउँ अडिँदैन र सर्प पनि आफ्नो दुलो वा बाटो बदलिरहन्छ, धन र शक्ति पनि त्यस्तै चञ्चल र चलायमान हुन्छन् आज एउटाको काखमा छन् भने भोलि अर्कैकोमा पुगिसक्छन्। मानिसले धन र शक्तिलाई सधैँ मेरो मात्र भइरहोस् भनेर बाँधेर राख्न खोज्छ, तर बाघ र सर्प जस्तै ती आफ्नो स्वभावैले एक ठाउँ टिकेर बस्दैनन्। उनीहरु चाहाराको खोजीमा लागिरहेका हुन्छन्।

    सत्ता र सम्पत्तिको हेरफेर: राजनीति र समाजमा शक्ति र सम्पत्ति निरन्तर एक हातबाट अर्को हातमा सरिरहन्छन्। ठिक त्यसरी नै राजनीतिको दृश्यमञ्चमा आज शक्तिशाली देखिएका पात्रहरू भोलि समयको किनारमा सर्वस्व गुमाएर पछारिएका अनेकौँ उदाहरणहरू छन्। भौतिक साम्राज्य ढल्न सक्छ, तर मानिसले समयको प्रवाहमा कमाएको आत्मज्ञान, कर्मको शुद्धता र विवेक कहिल्यै नष्ट हुँदैन। जति समय ढल्कदै जान्छ उ त्यतिकै महान हुन्छ। हेर्नुहोस न मानिस श्रीपेच वा शक्तिको लागि जे गर्न पनि तयार हुन्छन प्राप्ति पनि गर्लान् तर टिकाउ त्यो हुँदैन।

    हेर्नुहोस न सिद्धार्थ गौतमले सबै त्यागे दरबार परिवार र समाजले पागल भन्यो तर त्यही व्यक्ति भगवानको रुपमा पुजिएको छ। त्यसैले बुझ्नुपर्छ त्यागमा शक्ति छ , भौतिक प्राप्तिमा होइन अध्यात्मसँगको साक्षात्कारमा सबै कुरा छ। आज सिद्धार्थ बुध्द भएका छन । उनले शक्ति र धन दुबै त्यागे तर‌ पनि अरुले प्राप्त नगरेको यस उनैले प्राप्त गरेका छन्।

    त्यसैले, शक्ति र धनको क्षणभङ्गुर उन्मादमा मात्तिनुभन्दा समयको गतिलाई स्वीकार्दै, हरेक मोडमा प्राप्त हुने ज्ञानलाई आत्मसात् गर्नु नै जीवनको सच्चा सार्थकता हो। संसार जित्नुअघि समयको यो नश्वरता र कर्मको गहनतालाई बुझ्नु नै सबैभन्दा ठूलो आध्यात्मिक र राजनीतिक चेतना हो।जुन दिन मानिसमा काम, क्रोध मोह लोभ इर्श्या र अहँकार त्याग्ने सोच बनाउँछ उसको मार्ग मुस्कुरावटको हुनेछ। अर्थात त्यो अनन्तको‌ यात्रा जहाँ शान्ति हुनेछ, खुशी हुनेछ। आजको शिक्षाले विज्ञानलाई मात्र होइन अध्यात्मलाई जीवनसँग जोड्न सिकाउनुपर्छ। जुन विश्वको शिक्षामा चुकेको छ।

    चन्द्रकान्त पण्डित सिद्धि गणेश मावि पकनाजोल काठमाडौं नेपाल।

    images
    सोमवार, श्रावण १८ २०८३१०:०१:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार