मंगलवार, भाद्र ९ २०८३
काठमाडौं, भदौ ९ । टोखा नगर प्याब्सनको आयोजनामा दोस्रो अन्तरविद्यालय फुटसल प्रतियोगिता भदौ १० र ११ गते हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले विद्यार्थीको क्षमता अभिवृद्धि, शारीरिक तथा मानसिक विकास र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।
प्रतियोगितामा टोखा क्षेत्रका २२ वटा विद्यालय सहभागी हुनेछन्। सिनियर ब्वाइजतर्फ १९ टिम, गर्ल्सतर्फ ४ टिम र जुनियर ब्वाइजतर्फ ११ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। सिनियरतर्फ कक्षा ७ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। सहभागी सबै विद्यालयलाई पनि प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र फेयर प्लेको उपाधिका लागि छुट्टाछुट्टै ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन प्रतिटिम ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
प्रतियोगिताको पहिलो खेल हिमालय बोर्डिङ स्कुल र पृथ्वी सेकेन्डरी बोर्डिङ स्कुलबीच ओएसिस फुटसल ग्राउन्डमा हुने बताइएको छ। प्रतियोगिताका खेलहरू अमर स्कुल फुटसल र ओएसिस पब्लिक स्कुल फुटसल ग्राउन्डमा सञ्चालन हुनेछन्।
टोखा नगर प्याब्सनका अध्यक्ष अनुण केसीले विद्यार्थीको क्षमता अभिवृद्धि र खेलकुदप्रतिको रुचि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार विद्यालय शिक्षालाई खेलकुद तथा अतिरिक्त क्रियाकलापसँग जोड्दै विद्यार्थीको प्रतिभा पहिचान र विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुनेछन्।
खेल संयोजक तथा टोखा प्याब्सनका कोषाध्यक्ष दिपेन्द्र थापाले प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी पूरा गरिएको जानकारी दिए।
प्याब्सन जिल्ला सदस्य मुकुन्द पाण्डेले विद्यार्थीको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए। उनले पढाइसँगै खेलकुदमा सहभागी गराउँदा विद्यार्थीको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राखे।
टोखा प्याब्सनका सचिव डिल्लीराम ढुङ्गेलले शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापलाई पनि विद्यालय शिक्षाको अभिन्न अंगका रूपमा अघि बढाउनुपर्ने बताए। प्याब्सनका पूर्व केन्द्रीय सदस्य हरिदास श्रेष्ठले विद्यार्थीको सिकाइ कक्षाकोठाभित्र मात्र सीमित नहुने बताए।
विद्यार्थीलाई कक्षाकोठाबाहिर निकालेर खेलकुद, सिर्जनात्मक गतिविधि तथा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउन सके उनीहरूको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।