Oct 02 2026 | २०८३, आश्विन १६ गते

हिमाली विपत्तिदेखि जलवायु न्यायसम्म : अब विश्वसामु नेपालको आवाज बुलन्द गर्ने जिम्मेवारी Gen Z को

हिमाली विपत्तिदेखि जलवायु न्यायसम्म : अब विश्वसामु नेपालको आवाज बुलन्द गर्ने जिम्मेवारी Gen Z को

  • 1.2K
    SHARES

  • हिमाली विपत्तिदेखि जलवायु न्यायसम्म : अब विश्वसामु नेपालको आवाज बुलन्द गर्ने जिम्मेवारी Gen Z को

    सम्जना बस्नेत । एउटा क्षण रोकिएर सोचौँ—हाम्रो हातमा रहेको मोबाइल केवल विवेकशून्य भिडियो स्क्रोल गर्नका लागि हो कि एउटा घाइते राष्ट्रको आवाज संसारसम्म पुर्‍याउनका लागि?

    हिजोको विनाशकारी बाढीका तस्बिर र भिडियोहरू हेरेर हामीमध्ये धेरैले दुःख व्यक्त गर्‍यौँ। कसैले प्रार्थना गर्‍यौँ, कसैले सामाजिक सञ्जालमा पोस्ट गर्‍यौँ र कसैले केही क्षण स्तब्ध भएर हेर्‍यौँ। तर अब प्रश्न उठ्छ—त्यसपछि के?

    के हामी यो घटनालाई पनि केवल एउटा दुःखद समाचारमा सीमित गरेर केही दिनपछि बिर्सिनेछौँ? कुनै विस्मयकारी घटना हुनासाथ तीव्र प्रतिक्रिया दिने तर समयसँगसँगै विस्मरणमा गएर अकर्मण्यताको कुम्भकर्णीय निद्रामा हराउने बानीलाई पुनरावृत्ति दिनेछौँ? कि अर्को ठूलो विपत्तिपछि फेरि पनि सामाजिक सञ्जालमा दुःख व्यक्त गर्नका लागि पर्खिरहनेछौँ?

    के हाम्रो हिमाल असुरक्षित बन्दै गर्दा हामी केवल दर्शकदीर्घामा बसेर विलाप अलापिरहनेछौँ?

    र सबैभन्दा महत्त्वपूर्ण प्रश्न—नेपालले सिर्जना नगरेको विश्वव्यापी संकटको मूल्य नेपालीले कति पटकसम्म चुकाइरहनुपर्ने हो?

    नेपाल–चीन सीमाक्षेत्रको हिमाली भूभागबाट आएको विनाशकारी बाढीले केही क्षणमै जनजीवन, बस्ती, सडक, पुल, पूर्वाधार र मानिसका सपनामा अकल्पनीय विध्वंस पुर्‍यायो। प्रारम्भिक वैज्ञानिक अध्ययनले हिमाली क्षेत्रमा भएको ठूलो हिमचट्टान वा हिमनदीको भाग खस्दा नदी अस्थायी रूपमा थुनिएको र पछि भूकम्पको धक्काले प्राकृतिक अवरोध फुट्दा बाढी आएको हुनसक्ने देखाएको छ। अनुसन्धान अझै जारी छ। त्यसैले वैज्ञानिक अनुसन्धान पूरा नहुँदै यस एउटै घटनालाई शतप्रतिशत जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भन्ने निष्कर्षमा पुग्ने हतारो गर्नु हुँदैन। तर हिमालय तीव्र रूपमा बदलिँदै, हिमनदीहरू अस्थिर हुँदै र बढ्दो तापक्रमले हिमाली जोखिम जटिल बन्दै गएको गम्भीर सन्दर्भलाई तथा जलवायु परिवर्तनको असरको सम्भाव्यतालाई नजरअन्दाज गर्न पनि सकिँदैन।

    आज प्रश्न केवल “बाढी कहाँबाट आयो?” भन्ने होइन। मूल प्रश्न यो पनि हो—“हाम्रा हिमालहरू किन यसरी दिनानुदिन असुरक्षित बन्दैछन्?” “हामीले सिर्जना नगरेको संकटको मूल्य किन हामीले चुकाइरहेका छौँ?” र “अब हामी निरीह बनेर मौनता साँध्ने कि हामीमाथिको अन्यायपूर्ण पीडा विश्वलाई सुनाउने?”

    प्रिय Gen Z, अब यो मौन बस्ने समय होइन ।

    तपाईंहरू यस्तो पुस्ता हुनुहुन्छ, जसको हातमा संसारसँग जोडिने शक्ति छ। तपाईंहरूको हातमा मोबाइल छ, तर त्यो केवल मनोरञ्जनको उपकरण होइन। तपाईंहरूको एउटा पोस्ट, एउटा भिडियो, एउटा तथ्यमा आधारित सन्देश, एउटा सार्थक डिजिटल अभियान र एउटा संगठित, सारगर्भित आवाजले आज काठमाडौंको कुनै कोठाबाट संयुक्त राष्ट्रसंघको बहसमा अर्थपूर्ण एजेन्डा बन्ने क्षमता राख्दछ।

    हाम्रो अघिल्लो पुस्ताले हस्तलिखित चिठीमार्फत संसारसँग संवाद गर्थ्यो। प्रविधिमा आएको क्रान्तिसँगै आज हामीसँग केही सेकेन्डमै संसारलाई तरंगित तुल्याउन सक्ने सामाजिक सञ्जाल छ। पहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पुग्न ठूलाठूला संस्थाको ढोका ढकढक्याउनुपर्थ्यो। आज एउटा सत्य, एउटा प्रमाण, एउटा उपयुक्त ह्यासट्याग (#) र हजारौँ सचेत युवाको सामूहिक आवाजले विश्वलाई घोत्लिन बाध्य बनाउन सक्छ।

    त्यसैले, यसलाई केवल एउटा सामान्य प्राकृतिक बाढीको समाचार बनाएर स्क्रोल गर्नुहुँदैन।

    यो केवल दुःख व्यक्त गरेर सामाजिक सञ्जालमा एउटा “sad emoji” राखेर ओझेल हुने विषय होइन।

    यो हाम्रो हिमालको प्रश्न हो। यो हाम्रो दीगो मानवीय विकासको सवाल हो। यो हाम्रो अर्थतन्त्रको मुद्दा हो। यो हाम्रो सुरक्षित भविष्यसँग जोडिएको गम्भीर विषय हो। र अझ सबैभन्दा महत्त्वपूर्ण त यो जलवायु न्यायको प्रश्न हो।

    नेपालले विश्वका विशाल र विकसित औद्योगिक राष्ट्रहरूले जस्तो इतिहासभर ठूलो मात्रामा कार्बन उत्सर्जन गरेर विकास गरेको होइन। तर आज विश्वव्यापी जलवायु संकटका असरहरू नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने तर अत्यन्त संवेदनशील राष्ट्रहरूले असमान रूपमा अधिकतम भोगिरहेका छन्।

    जलवायु परिवर्तनमा हरितगृह ग्यासको महत्त्वपूर्ण भूमिका छ, जुन IPCC को अध्ययनअनुसार १९७० देखि २०२० सम्ममा आइपुग्दा ७० प्रतिशतले बढेको छ। अमेरिका, चीन, भारत, रुस तथा अन्य औद्योगिक राष्ट्रहरूले ऐतिहासिक रूपमा गर्दै आएको तथा वर्तमानमा भइरहेको ठूलो मात्राको हरितगृह ग्यास उत्सर्जनले विश्वव्यापी जलवायु संकटमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

    तर विडम्बना हेरौँ—जसको योगदान जलवायु संकटमा अत्यन्त कम छ, त्यही देशका हिमाल असुरक्षित भइरहेका छन्। नदीहरू अप्रत्याशित प्रतिक्रिया देखाइरहेका छन्। अनपेक्षित रूपमा आउने बाढी र पहिरोले वर्षौँको विकासलाई केही घण्टामा ध्वस्त पारिरहेका मात्रै छैनन्, हामीलाई विकासको यात्रामा दशकौँ पछाडि धकेलिरहेका छन्।

    एउटा बाढीले केवल बस्ती होइन, देशको भविष्य पनि बगाउँछ। एउटा पुल बग्दा केवल फलाम र सिमेन्ट बग्दैन; गाउँको बजारसँगको सम्बन्ध टुट्छ। एउटा सडक भत्किँदा केवल कालोपत्रे नष्ट हुँदैन; बिरामीको अस्पताल पुग्ने बाटो, विद्यार्थीको विद्यालय जाने बाटो र किसानको बजारसँगको साइनो तहसनहस हुन्छ। एउटा बस्ती बग्दा केवल घरहरू विलाउँदैनन्; परिवारको जीवनभरको बचत, स्मृति, पहिचान र भविष्यका सपनासमेत सँगसँगै बग्छन्। एउटा जलविद्युत् आयोजना क्षतिग्रस्त हुँदा केवल एउटा संरचनाको विनाश हुँदैन। सिंगो राष्ट्रिय अर्थतन्त्र, लगानी, ऊर्जा उत्पादन र भविष्यको योजनामाथि दीर्घकालीन प्रहार हुन्छ।

    हाम्रो जस्तो विकासशील देशका लागि यस्तो विपत्ति केवल प्राकृतिक घटना होइन। यसले वर्षौँको विकासलाई केही घण्टामा पछाडि धकेल्न सक्छ। हामी विकासको मार्गमा अगाडि बढ्न खोजिरहेका हुन्छौँ, तर एउटा विपत्तिले हामीलाई फेरि शून्यतर्फ फर्काउन खोज्छ। त्यसैले जलवायु परिवर्तनको प्रश्न केवल वातावरणको प्रश्न होइन। यो विकासको बहस हो। यो अर्थतन्त्रको बहस हो। यो मानव जीवनको बहस हो। यो नेपालको उज्ज्वल भविष्यको बहस हो।

    तपाईंहरुको आवाज अब अन्तर्राष्ट्रिय आवाज बन्नुपर्छ ।

    प्रिय Gen Z,

    तपाईंहरुसंग एउटा अद्भुत शक्ति छ—डिजिटल शक्ति। तर यो शक्ति केवल भाइरल भिडियो, ट्रेन्ड र मनोरञ्जनमा मात्र सीमित हुनुहुँदैन। यस उत्पादनमूलक शक्तिलाई सस्तो अल्गोरिदमको भेलबाढीमा बगाएर निरर्थक बनाउनु आत्मघाती साबित हुनेछ।

    त्यसैले, अब तपाईंहरुको आवाज आवश्यक छ। तथ्य र प्रमाणसहित विश्वलाई सुनाऊ—जलवायु परिवर्तनबाट सिर्जित संकटको असमान र अन्यायपूर्ण पीडा नेपालले भोगिरहेको छ, जबकि यो विश्वव्यापी संकट सिर्जना गर्न नेपालको योगदान अत्यन्त न्यून छ। त्यसैले अधिक ऐतिहासिक जिम्मेवारी र अधिक क्षमता भएका राष्ट्रहरूले जलवायु वित्त, अनुकूलन र हानि तथा क्षति सम्बोधनमा ठूलो जिम्मेवारी लिनुपर्छ।

    यही आवाज अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पुग्नुपर्छ। यही आवाज विश्वका विश्वविद्यालयसम्म पुग्नुपर्छ। यही आवाज जलवायु सम्मेलन र नीति निर्मातासम्म पुग्नुपर्छ। र यही आवाज संयुक्त राष्ट्रसंघको जलवायु प्रक्रियासम्म जोडदार रूपमा पुर्‍याउन सक्नुपर्छ।

    तर हाम्रो आवाज भावनामा मात्र आधारित हुनु हुँदैन। हाम्रो आवाज तथ्य, विज्ञान र न्यायसम्मत तर्कमा आधारित हुनुपर्छ। हामीले कसैलाई दोषारोपण गरेर विश्वको सहयोग पाउने छैनौँ। हामीले कुनै एक देशलाई “तिमी दोषी, तिमीले पैसा देऊ” भनेर मात्र समस्या समाधान गर्न सक्दैनौँ।

    Gen Z, तपाईंहरूको भूमिका के हो?

    यो प्रश्न म तपाईंहरुकै लागि छोड्न चाहन्छु।, तपाईंले आज एउटा जिम्मेवार पोस्ट गर्न सक्नुहुन्छ भने किन मौन बस्ने?

    तपाईंले प्रमाणित समाचार अन्तर्राष्ट्रिय साथीहरूसम्म पुर्‍याउन सक्नुहुन्छ भने किन गलत सूचना फैलिन दिने?

    तपाईंले नेपालको वास्तविक कथा अंग्रेजी वा अन्य भाषामा सुनाएर संसारलाई घच्घच्याउन सक्नुहुन्छ भने किन केवल आफ्नै साँघुरो घेरामा खुम्चिने?

    तपाईंले आफ्नो सांसद र सरकारसँग वैज्ञानिक तयारी, प्रारम्भिक चेतावनी प्रणाली र जलवायु वित्तबारे प्रश्न गर्न सक्नुहुन्छ भने किन प्रश्न नगर्ने?

    तपाईंहरुले राहत, उद्धार वा तथ्य सङ्कलनमा आफ्नो क्षमता अनुसार योगदान गर्न सक्नुहुन्छभने किन पर्खिरहने?

    तपाईंहरू सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ। त्यसैले प्रमाणित र आधिकारिक समाचार मात्र साझा गर्नुस् । अफवाह नफैलाऊ। पीडितका तस्बिर र भिडियो “views” र “likes” का लागि प्रयोग नगर्नुस्। वैज्ञानिक पुष्टि नभएको विषयलाई अन्तिम सत्य भनेर प्रचार नगर्नुस्। विपत्तिको दुःखलाई राजनीतिक स्वार्थसिद्धिको मसला नबनाऊ।

    तर जहाँ तपाईंले सत्य देख्नुहुन्छ, त्यहाँ आवाज उठाऊ। जहाँ नेपालका पीडितलाई सहयोग चाहिन्छ, त्यहाँ आफ्नो क्षमता अनुसार योगदान देऊ। जहाँ गलत सूचना फैलिएको छ, त्यहाँ आफूलाई सत्यको पक्षमा उभ्याऊ।

    जहाँ नेपालको जलवायु न्यायको मुद्दा उठाउन सकिन्छ, त्यहाँ नेपालको आवाज बन।

    अब सामाजिक सञ्जाललाई राष्ट्रिय शक्ति बनाऔँ।

    कल्पना गरौँ—नेपालका लाखौँ युवाले एकै समयमा एउटै तथ्यमा आधारित सन्देश संसारलाई पठाए भने? कल्पना गरौँ—TikTok, Instagram, Facebook, X, YouTube र अन्य प्लेटफर्ममा नेपाली युवाले एउटै उद्देश्यका साथ नेपालको हिमाली जोखिम, बाढीबाट भएको क्षति र जलवायु न्यायको माग विश्वभर फैलाए भने?बत्यो केवल एउटा “trend” हुनेछैन। त्यो डिजिटल जनआन्दोलन बन्न सक्छ। तर हामीले यसलाई घृणा, आरोप र भ्रमको आन्दोलन बनाउनु हुँदैन। यसलाई मानवता, विज्ञान र न्यायको अभियान बनाउनुपर्छ।

    हामी भन्न सक्छौँ:

    #ClimateJusticeForNepal

    #StandWithNepal

    #SaveTheHimalayas

    #LossAndDamageForNepal

    #NepalNeedsClimateJustice

    तर ह्यासट्याग (#) मात्र पर्याप्त छैन। त्यससँगै तथ्य, स्थानीय पीडितको वास्तविक कथा, वैज्ञानिक जानकारी, क्षतिको विवरण र समाधानको स्पष्ट खाका पनि हुनुपर्छ।

    हामीले अन्तर्राष्ट्रिय समुदायलाई केवल “Help Nepal” मात्र नभनी यसो पनि भन्नुपर्छ—“Help Nepal rebuild, strengthen early warning systems, protect vulnerable Himalayan communities, reduce future disaster risk and access climate finance.”

    किनकि हामीलाई केवल आजको उद्धार होइन, भोलिको भरोसायोग्य सुरक्षा पनि चाहिएको छ।

    यो तपाईंहरूको भविष्यकै समस्या हो ।

    प्रिय Gen Z,

    तपाईंहरूलाई सायद यो समस्या आफ्नो भविष्यसँग सम्बन्धित छ कि छैन भन्ने लाग्न सक्छ। तर म स्पष्ट भन्छु—यो तिमीहरूको भविष्यकै समस्या हो। आज बाढीले बगाएर लैजान सक्छ।, भोलि हिमताल फुट्न सक्छ।, पर्सि पहिरोले अर्को बस्ती पुरिन सक्छ।

    जलवायु परिवर्तन कुनै टाढाको भविष्यको डर होइन। यो हाम्रो वर्तमानको ढोकामा आइपुगेको भयावह संकट हो। त्यसैले तपाईंहरूको विवेकपूर्ण आवाज आवश्यक छ।

    तपाईंहरुले आफ्ना सांसदलाई प्रश्न गर्नुपर्छ। सरकारलाई उत्तरदायी बनाउनुपर्छ।, अन्तर्राष्ट्रिय संस्थालाई नेपालको यथार्थ अवस्था बुझाउनुपर्छ।, विदेशी मित्रहरूलाई नेपालको वास्तविक कथा सुनाउनुपर्छ।, विश्वका युवासँग एकाकार भएर न्यायको स्वरलाई बुलन्द गर्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण—नेपालको पीडालाई विश्वको साझा जिम्मेवारीको बहसमा बदल्नुपर्छ।

    हामी भौगोलिक हिसाबले सानो देश हुन सक्छौँ। हाम्रो अर्थतन्त्र ठूला राष्ट्रहरूको तुलनामा नगण्य हुन सक्छ।, हाम्रो जनसंख्या विशाल नहुन सक्छ। तर हाम्रो सार्वभौमसत्ता र अधिकार सबैसँग समान छ। हाम्रो आवाज मधुरो हुनुपर्छ भन्ने कुनै बाध्यता छैन। हिमालजस्तै अग्लो हाम्रो भूगोल छ; अब हाम्रो एकताको आवाज पनि त्यत्तिकै अग्लो भएर विश्वसामु गुञ्जिनुपर्छ।

    विश्व समुदायलाई हाम्रो अन्तिम आग्रह

    नेपाल आज तपाईंसँग केवल सहयोग माग्न आएको छैन। नेपाल तपाईंसँग आफ्नो कथा सुनाउन आएको छ।

    यो त्यो देशको कथा हो, जसका हिमाल संसारको गौरव हुन् तर आज असुरक्षित बन्दैछन्।

    यो त्यो देशको कथा हो, जसले विश्वव्यापी जलवायु संकटमा अत्यन्त कम योगदान गरेको छ तर यसको असर असमान रूपमा भोगिरहेको छ।

    यो ती परिवारहरूको हृदयविदारक कथा हो, जसले पलभरमा आफ्नो घर मात्रै होइन, सिंगो संसार गुमाए, सपनाहरू तुषारापात भए।

    यो त्यो बालकको कथा हो, जसको विद्यालय जाने बाटो बाढीले निल्यो।

    यो त्यो किसानको कथा हो, जसको जीवनभरको पसिना नदीले क्षतविक्षत बनायो।

    यो त्यो राष्ट्रको कथा हो, जो विकासको यात्रामा अघि बढ्दै गर्दा विपत्तिले पटकपटक ब्रेक लगाएको छ। हामी संसारसँग घृणा गर्दैनौँ।

    हामी दोषारोपणमा मात्र समय खर्च गर्न चाहँदैनौँ। हामी साझेदारी चाहन्छौँ।

    हामी विज्ञान र प्रविधिमार्फत सहकार्य चाहन्छौँ। हामी जलवायु वित्त चाहन्छौँ।

    हामी हानि तथा क्षतिको न्यायपूर्ण सम्बोधन चाहन्छौँ। हामी सुरक्षित भविष्य चाहन्छौँ।

    अब उठौँ—नेपाललाई फेरि उठाऔँ

    आज नेपाल घाइते छ तर नेपाल समाप्त भएको छैन। हाम्रा सडक बगेका हुन सक्छन्, तर हाम्रो यात्रा रोकिएको छैन।, हाम्रा पुल भत्किएका हुन सक्छन्, तर हाम्रो विश्वासको सम्बन्ध टुटेको छैन।, हाम्रा घरहरू ढलेका हुन सक्छन्, तर हाम्रो आत्मबल ढलेको छैन।, हाम्रो विकासलाई चोट लागेको छ, तर हाम्रो भविष्यप्रतिको अठोटमा पूर्णविराम लागेको छैन। आज हरेक नेपालीले आफ्नो ठाउँबाट योगदान गर्ने समय आएको छ—कोही उद्धारमा, कोही राहतमा, कोही तथ्य सङ्कलनमा, कोही अनुसन्धानमा र कोही नेपालको आवाज संसारसम्म पुर्‍याउनमा।

    प्रिय Gen Z,

    तपाईंहरु केवल भोलिको भविष्य होइनौ—तपाईंहरु आजको अभूतपूर्व शक्ति हो। नेपालको आवाज अब विश्वले सुन्नैपर्छ।

    आज एउटा पोस्ट गर्नुस्—तर सोचेर गर्नुस्।, आज एउटा भिडियो बनाउनुस्—तर तथ्यसहित बनाउनुस्।, आज एउटा अभियान चलाउनुस्—तर मानवता र समाधानका लागि चलाउनुस्।, आज विश्वलाई ट्याग गर्नुस्, तर नेपालको वास्तविक पीडा र वास्तविक मागसहित गर्मुस्।, जलवायु न्याय नेपालका लागि कुनै नारा मात्र होइन। यो हाम्रो अधिकार हो, हाम्रो भविष्य हो, र हाम्रो अस्तित्वको प्रश्न हो।

    सम्जना बस्नेत

    MPhil Scholar in Early Childhood Development (ECD)

    Secretary General, APEN (Association of Preschool Educators Nepal)

    Founder Principal, Kovida Kids Preschool

    images
    बुधवार, भाद्र १७ २०८३०८:४०:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार