Oct 02 2026 | २०८३, आश्विन १६ गते

राष्ट्रिय शोकमा बालमैत्री सिकाइ: डर होइन, सहानुभूति र सहयोग सिकाऔँ  

राष्ट्रिय शोकमा बालमैत्री सिकाइ: डर होइन, सहानुभूति र सहयोग सिकाऔँ  

  • 1.0K
    SHARES

  • राष्ट्रिय शोकमा बालमैत्री सिकाइ: डर होइन, सहानुभूति र सहयोग सिकाऔँ  

    सम्झना बस्नेत - काठमाडौ । नेपाल सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा २०८३ भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सरकारले उक्त दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ।

    यस्तो राष्ट्रिय पीडाको समयमा विद्यालय र बालबालिकाले पनि दिवंगतप्रति सम्मान, पीडित परिवारप्रति सहानुभूति र समुदायप्रति जिम्मेवारी व्यक्त गर्नु स्वाभाविक र सकारात्मक कुरा हो। तर प्रश्न यो हो—३ देखि ६ वर्षका साना बालबालिकाले राष्ट्रिय शोकलाई कसरी बुझ्छन्? Preschool ले शोक सभा कसरी मनाउने? के उनीहरूलाई मैनबत्ती बाल्न लगाउनु उपयुक्त हुन्छ?

    मेरो विचारमा, यस उमेर समूहका बालबालिकाका लागि शोक सभा केवल “दुःख मनाउने कार्यक्रम” हुनु हुँदैन। यसलाई “Remember, Pray and Care” — सम्झने, प्रार्थना गर्ने र सहयोग गर्ने बालमैत्री अनुभवका रूपमा विकास गर्नुपर्छ।

    ३–६ वर्षका बालबालिकाले कति बुझ्छन्?

    ३–६ वर्षका बालबालिकाले मृत्यु, विपद्, क्षति र राष्ट्रिय शोकको गहिरो सामाजिक अर्थ वयस्कहरूले जस्तो बुझ्दैनन्। उनीहरूले “कसैलाई ठूलो दुःख परेको छ” भन्ने भावना बुझ्न सक्छन्, तर मृत्युको स्थायित्व, ठूलो प्राकृतिक विपद्को कारण र त्यसको सामाजिक प्रभाव पूर्ण रूपमा बुझ्न कठिन हुन्छ। त्यसैले उनीहरूलाई लामो भाषण, मृत्युका तथ्यांक, विनाशका दृश्य वा अत्यन्त भावनात्मक समाचार सुनाएर “शोक” बुझाउन खोज्नु उचित हुँदैन।

    बरु उनीहरूले यी चार कुरा सिक्न सक्छन्:

    माया — अरूको दुःख बुझ्ने।

    सहानुभूति — दुःखमा रहेका मानिसलाई सम्झने।

    सहयोग — आफूले सक्ने सानो सहयोग गर्ने।

    जिम्मेवारी — समुदायको सदस्यका रूपमा राम्रो काम गर्ने।

    नेपालमा विपद्बाट प्रभावित बालबालिकासँग काम गर्दा UNICEF ले पनि साना बालबालिकाले देखेका र सुनेका घटनालाई गहिरो रूपमा आत्मसात् गर्न सक्ने र विपद्ले उनीहरूमा डर, चिन्ता, निद्रासम्बन्धी समस्या तथा असुरक्षाको भावना ल्याउन सक्ने उल्लेख गरेको छ। त्यसैले बालबालिकालाई के देखाउनेभन्दा पनि के सिकाउने भन्ने कुरा महत्वपूर्ण छ।

    मैनबत्ती बाल्ने कि नबाल्ने?

    मैनबत्ती श्रद्धाञ्जलीको प्रतीक हुन सक्छ। तर ३–६ वर्षका बालबालिकाको समूहमा खुला आगो भएको वास्तविक मैनबत्ती प्रयोग गर्नु आवश्यक छैन। यदि विद्यालयले candle-lighting गर्न चाहन्छ भने: बालबालिकाको उमेर, सहजता र सुरक्षालाई ध्यानमा राख्दै, श्रद्धाञ्जलीको प्रतीकका रूपमा शिक्षकको निगरानीमा सुरक्षित रूपमा मैनबत्ती वा दियो बालेर श्रद्धाञ्जली अर्पण गर्नु उपयुक्त हुन सक्छ। यसले बालबालिकालाई शान्त र सुरक्षित वातावरणमा श्रद्धाञ्जलीको भाव बुझ्न सहयोग पुर्‍याउँछ। मुख्य कुरा मैनबत्ती वा दियो होइन; त्यसको अर्थ हो।

    शिक्षकले भन्न सक्नुहुन्छ:

    यो उज्यालोमार्फत हामी सबैलाई सम्झन्छौँ र सबै सुरक्षित रहून् भनेर प्रार्थना गर्छौँ। त्यसपछि ३० सेकेन्डदेखि एक मिनेटसम्म शान्त बस्न सकिन्छ। शोक सभा ३०–४५ मिनेट लामो हुनु आवश्यक छैन। Preschool का लागि १०–१५ मिनेटको सरल कार्यक्रम पर्याप्त हुन्छ। Preschool मा शोक सभा कसरी सञ्चालन गर्ने?

    १. छोटो र सरल परिचय

    बालबालिकालाई शान्त र सुरक्षित वातावरणमा बसाल्नुहोस्। कार्यक्रमलाई औपचारिक शोकसभाभन्दा बालमैत्री, छोटो र सकारात्मक बनाउनुहोस्। शिक्षकले बालबालिकालाई सरल र बालमैत्री तरिकाले यसरी जानकारी दिन सक्नुहुन्छ:

    हाम्रो देशका केही ठाउँमा ठूलो बाढी आएको छ र त्यसका कारण केही परिवारहरूलाई अहिले सहयोगको आवश्यकता परेको छ। आज हामी उहाँहरूलाई सम्झँदै उहाँहरूको सुख, शान्ति र सुरक्षाका लागि प्रार्थना गर्नेछौँ। साथै, हामीले पनि आफ्नो तर्फबाट सानो सहयोग कसरी गर्न सक्छौँ भन्ने कुरा सिक्नेछौँ। आउनुहोस्, हामी सबैले माया, दया, बाँड्ने र सहयोग गर्ने भावना राखौँ।

    २. श्रद्धाञ्जली र मौनधारण

    “ज्यान गुमाउनुभएका सबैप्रति हामी सम्मान व्यक्त गर्छौँ। उहाँहरूका परिवारलाई शक्ति र धैर्य मिलोस् भनेर हामी केही समय शान्त बसौँ। बालबालिकाको सहजता र स्वेच्छालाई सम्मान गर्दै, उनीहरूलाई आफूलाई सहज लागेमा मात्र आँखा बन्द गरी प्रार्थना गर्न प्रोत्साहित गर्नुहोस्। आँखा खुला राखेर पनि शान्त रूपमा प्रार्थनामा सहभागी हुन सक्ने वातावरण बनाउनुहोस्।

    ३. छोटो प्रार्थना तथा विश्वशान्ति मन्त्र

    बालबालिकाको उमेर र सहजतालाई ध्यानमा राख्दै, शिक्षकले तलको प्रार्थना एक–एक वाक्य सरल रूपमा उच्चारण गर्न सक्नुहुनेछ र बालबालिकालाई सहज रूपमा दोहोर्याउन प्रोत्साहित गर्न सकिनेछ। त्यसपछि सबैले मिलेर विश्वशान्ति तथा सबैको सुख–शान्तिको कामना गर्दै “सर्वे भवन्तु सुखिनः” मन्त्र उच्चारण गर्न सकिनेछ।

    हे भगवान्, बाढीका कारण दुःखमा पर्नुभएका सबैलाई सहयोग गर्नुहोस्। सबै परिवारलाई सुरक्षित राख्नुहोस्। सबै बालबालिकालाई माया र सुरक्षा दिनुहोस्। दुःखमा रहेका बालबालिका र परिवारलाई शक्ति दिनुहोस्। ज्यान गुमाउनुभएका सबैप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। हामी सबैलाई माया गर्ने, र सहयोग गर्ने राम्रो मन दिनुहोस्। सबैको भलो होस्। सबै सुरक्षित रहून्।

    बालबालिकाले शिक्षकसँगै बिस्तारै दोहोर्याउँदै भन्न सक्ने गरी तलको विश्वशान्ति मन्त्र उच्चारण गर्न सक्नुहुन्छ।

    सर्वे भवन्तु सुखिनः।

    सर्वे सन्तु निरामयाः।

    सर्वे भद्राणि पश्यन्तु।

    मा कश्चिद् दुःखभाग् भवेत्।

    ॐ शान्तिः शान्तिः शान्तिः।

    यसलाई बालबालिकामाथि कुनै दबाब नदिई, उनीहरूको उमेर, रुचि र सहजतालाई ध्यानमा राख्दै शान्त र सकारात्मक वातावरणमा सञ्चालन गर्नुहोस्। आवश्यकताअनुसार शिक्षकले यसलाई छोटो र सरल रूपमा पनि सञ्चालन गर्न सक्नुहुन्छ।

    कार्यक्रमलाई “Viral Activity” नबनाऔँ आजको सामाजिक सञ्जालको समयमा एउटा महत्वपूर्ण प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ: के हामी बालबालिकालाई सिकाउन कार्यक्रम गर्दैछौँ, कि सामाजिक सञ्जालमा राम्रो देखिने सामग्री बनाउन? ३–६ वर्षका बालबालिकालाई अत्यधिक भावनात्मक दृश्य बनाएर, हातमा मैनबत्ती दिएर वा उनीहरूले नबुझेको विषयमा अभिनय गराएर सामाजिक सञ्जालमा राख्नु बालकेन्द्रित शिक्षा होइन। बालबालिकाले किन मैनबत्ती समातेका छन्? किन मौन बसेका छन्? कसलाई श्रद्धाञ्जली दिइरहेका छन्? भन्ने बुझ्न सक्दैनन् भने केवल फोटो वा भिडियो राम्रो देखिनु शैक्षिक उपलब्धि होइन।

    हाम्रो उद्देश्य बालबालिकाको उमेर, बुझाइ र भावनात्मक अवस्थाअनुकूल गतिविधि सञ्चालन गरी, प्रदर्शनका लागि नभई उनीहरूको वास्तविक सिकाइ, संवेदनशीलता र सामाजिक मूल्य विकासमा केन्द्रित हुनुपर्छ।”

    अभिभावकको भूमिका अझ महत्वपूर्ण छ विद्यालयले १० मिनेटको संवेदनशील कार्यक्रम गरे पनि बच्चाले घरमा दिनभरि मोबाइलमा बाढीका भिडियो, दुर्घटनाका दृश्य र रोइरहेका मानिसहरू देखिरहेको छ भने विद्यालयको सकारात्मक सन्देश कमजोर हुन सक्छ।

    त्यसैले अभिभावकलाई विशेष अनुरोध गर्नुपर्छ: कृपया बालबालिकाको अगाडि अत्यन्त संवेदनशील बाढीसम्बन्धी भिडियो, फोटो वा समाचार नहेर्नुहोस्।

    बालबालिकाले बारम्बार यस्ता दृश्य देख्दा:

    • डर र असुरक्षा बढ्न सक्छ।

    • “हाम्रो घर पनि बग्छ?” भन्ने चिन्ता हुन सक्छ।

    • राति सुत्न डराउन सक्छन्।

    • दुःस्वप्न आउन सक्छ।

    • आमाबुबाबाट छुट्टिने डर बढ्न सक्छ।

    • अत्यधिक प्रश्न वा बेचैनी हुन सक्छ।

    • खेल्ने, खाने वा पढ्ने व्यवहारमा परिवर्तन आउन सक्छ।

    • उनीहरूले देखेका दृश्य खेलमा दोहोर्याउन सक्छन्।

    UNICEF Nepal ले विपद्पछि बालबालिकामा डर, चिन्ता, निद्राको समस्या, restlessness र appetite मा परिवर्तनजस्ता प्रतिक्रिया देखिन सक्ने उल्लेख गरेको छ। NAEYC ले पनि साना बालबालिका सामुदायिक विपद् र traumatic events का प्रभावप्रति विशेष रूपमा संवेदनशील हुने बताउँछ।

    त्यसैले अभिभावकले “समाचार लुकाउने” होइन, “उमेरअनुकूल जानकारी दिने” नीति अपनाउनु राम्रो हुन्छ।

    उदाहरण:

    “केही ठाउँमा धेरै पानी परेर परिवारहरूलाई समस्या परेको छ। धेरै मानिसले उनीहरूलाई सहयोग गरिरहेका छन्। हामी पनि राम्रो काम गरेर सहयोग गर्न सक्छौँ।” Slide बाट सिकाऔँ, डर लाग्ने भिडियोबाट होइन विद्यालयले बालबालिकाको उमेर, बुझाइ र सहजतालाई ध्यानमा राख्दै २–३ वटा सरल तथा दृश्यात्मक स्लाइड प्रयोग गरी बाढीसम्बन्धी आधारभूत जानकारी दिन सकिन्छ। बाढी भनेको के हो र यसले कस्तो अवस्था निम्त्याउन सक्छ भन्ने कुरा सरल चित्र वा illustration मार्फत बुझाउन सकिन्छ। बाढीका कारण कठिन अवस्थामा परेका परिवार, बालबालिका तथा अन्य व्यक्तिहरूलाई सहयोगको आवश्यकता पर्न सक्छ भन्ने कुरा सहज रूपमा प्रस्तुत गर्न सकिन्छ। हामीले आफ्नो तर्फबाट माया, सहयोग, बचत तथा सुरक्षित व्यवहारमार्फत कसरी सकारात्मक योगदान गर्न सक्छौँ भन्ने विषय समेट्न सकिन्छ। यसरी सरल र बालमैत्री प्रस्तुतिमार्फत बालबालिकालाई समस्या बुझ्ने, सहानुभूति राख्ने र आफूले गर्न सक्ने सानो सहयोगका उपायहरू पहिचान गर्ने अवसर प्रदान गर्न सकिन्छ।

    “हामी कसरी सहयोग गर्न सक्छौँ?” भन्ने प्रश्न गरौँ शोक सभापछि सबैभन्दा राम्रो classroom question हुन सक्छ:

    “यदि हाम्रो कुनै साथीलाई गाह्रो परेको छ भने हामी के गर्न सक्छौँ?”

    बच्चाहरूले विभिन्न उत्तर दिन सक्छन्:

    “खाना दिन्छु।” “कपडा दिन्छु।” “खेलौना दिन्छु।” “पैसा बचाउँछु।” “माया गर्छु।” “सहयोग गर्छु।” यसरी उनीहरूलाई victim होइन, helper बन्न सिकाउन सकिन्छ।

    NAEYC ले पनि विपद्पछि बालबालिकालाई “helper” को भूमिकामा सहभागी गराउँदा उनीहरूमा सुरक्षा, क्षमता र सकारात्मक coping भावना विकास गर्न सहयोग पुग्ने बताउँछ।

    एउटा सानो कथा सुनाऔँ

    उदाहरणका लागि, “सानो आर्यनको ठूलो मन” एक दिन आर्यनले विद्यालयमा केही परिवारलाई बाढीका कारण समस्या परेको कुरा सुन्यो। उसले शिक्षकलाई सोध्यो, “म उनीहरूलाई कसरी help गर्न सक्छु?” शिक्षकले भनिन्, “तिमीले आफ्नो सानो piggy bank हेर्न सक्छौ।” आर्यनले घर गएर आफ्नो piggy bank खोल्यो। उसले धेरै पैसा त थिएन, तर उसले भन्यो: “यो मेरो सानो बचत हो। यसबाट केही म साथीहरूका लागि दिन्छु।” उसकी आमाले भनिन्, “तिम्रो सहयोग सानो होला, तर तिम्रो मन ठूलो छ।” भोलिपल्ट आर्यनले आफ्नो सानो योगदान लिएर विद्यालय आयो।

    शिक्षकले भनिन्: “हामी सबैले ठूलो काम गर्नुपर्दैन। कहिलेकाहीँ सानो हातले पनि ठूलो सहयोग गर्न सक्छ।” यो कथा सकेपछि बच्चाहरूलाई सोध्नुहोस्: “तिमी आर्यन भएको भए के गर्थ्यौ?” यस प्रश्नबाट वास्तविक learning सुरु हुन्छ। Drawing Activity: “म कसरी सहयोग गर्छु?” बालबालिकालाई एउटा कागज दिनुहोस्।

    “म दुःखमा परेको साथीलाई कसरी सहयोग गर्छु?” उनीहरूले चित्र बनाउन सक्छन्:

    • खाना बाँडेको

    • कपडा दिएको

    • पानी दिएको

    • पैसा बचाएको

    • परिवारलाई माया गरेको

    • रूख रोपेको

    • सुरक्षित ठाउँमा गएको

    • सहयोगको हात बढाएको

    यस गतिविधिमा बालबालिकाले बनाउने चित्रलाई सही वा गलतको आधारमा मूल्याङ्कन गरिने छैन। मुख्य उद्देश्य उनीहरूलाई आफ्नो भावना, सोच र सहयोग गर्ने चाहनालाई सिर्जनात्मक रूपमा व्यक्त गर्ने अवसर प्रदान गर्नु हो। चित्र बनाउन रुचि नदेखाउने बालबालिकालाई आफ्नो विचार मौखिक रूपमा व्यक्त गर्ने अवसरसमेत प्रदान गर्न सकिन्छ।

    Piggy Bank बाट सहयोग: सबैभन्दा राम्रो Life Skill विद्यालयमा Donation Box राख्न सकिन्छ। तर यसलाई अनिवार्य donation नबनाऔँ। बालबालिकालाई  “तिमीले आफ्नो piggy bank बाट थोरै बचत गर्न सक्छौ।”

    “पकेट मनीबाट केही रकम छुट्याउन सक्छौ।”

    “जन्मदिनमा धेरै खर्च गर्नुको सट्टा थोरै रकम सहयोगका लागि बचत गर्न सक्छौ।”

    “चाडपर्वमा पाएको पैसाबाट आफ्नो इच्छाअनुसार केही भाग बचत गर्न सक्छौ।”

    यहाँ लक्ष्य धेरै पैसा उठाउनु होइन; बचत र sharing को बानी विकास गर्नु हो।

    प्रधानमन्त्री बालेन्द्र शाहको सुझावलाई बालमैत्री Learning मा बदलौँ

    प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकालाई विपद् पूर्वतयारीका सन्दर्भमा विपद् झोला तयार गर्ने, सानो–सानो बचत गर्ने तथा जलवायु परिवर्तन र विपद्का विषयमा अध्ययन र छलफल गर्ने सुझाव दिनुभएको छ। यी सुझावलाई Preschool ले पनि उमेरअनुकूल रूपमा प्रयोग गर्न सक्छ।

    १. “मेरो सानो विपद् झोला”

    बालबालिकासँग वास्तविक emergency drill गराउनुभन्दा classroom discussion: “विपद् पर्दा हामीलाई के–के चाहिन्छ?”

    चित्रबाट:

    • पानी

    • सुक्खा खाना

    • औषधि • पट्टी

    • torch

    • आवश्यक सम्पर्क नम्बर

    घरमा अभिभावकसँग Family Emergency Bag बनाउन प्रोत्साहन गर्न सकिन्छ।

    २. “एक रुपैयाँ बचत”

    प्रधानमन्त्रीको “सानो–सानो बचत” भन्ने विचारलाई preschool मा:

    “Every day, a little saving.” भनेर सिकाउन सकिन्छ।

    बच्चाले एउटा jar बनाएर चित्र टाँस्न सक्छ।

    ३. “हामी पृथ्वीलाई कसरी जोगाउँछौँ?

    ” जलवायु परिवर्तनलाई ३–६ वर्षका बच्चालाई जटिल विज्ञानका रूपमा पढाउन आवश्यक छैन।

    बरु: पानी बचाऔँ। फोहोर नफालौँ। रूख रोपौँ। प्रकृतिलाई माया गरौँ। विपद् आएमा सुरक्षित ठाउँमा जाऔँ। यहीबाट सुरुवात गर्न सकिन्छ।

    अन्ततः—शोकलाई सिकाइमा बदलौँ राष्ट्रिय शोकको अवसरमा Preschool ले बालबालिकालाई मृत्युको डर, विपद्को त्रास वा सामाजिक सञ्जालका लागि भावनात्मक दृश्य होइन, मानवीय मूल्य दिनुपर्छ।

    हामीले उनीहरूलाई भन्नुपर्छ:

    “तिमी सानो छौ, तर तिमीले राम्रो काम गर्न सक्छौ।”

    “तिमीले सबै समस्या समाधान गर्नुपर्दैन; आफूले सक्ने सानो सहयोग गर्न सक्छौ।”

    “अरू दुःखमा हुँदा हामी उनीहरूलाई सम्झन्छौँ, प्रार्थना गर्छौँ र सहयोग गर्छौँ।”

    यही नै प्रारम्भिक बालशिक्षाको सुन्दर पक्ष हो।

    शोक सभा एउटा दिनको कार्यक्रम मात्र नहोस्। यसलाई सहानुभूति, sharing, caring, saving, preparedness र social responsibility सिकाउने अवसर बनाऔँ।

    किनकि बालबालिकाले आज सिकेको सानो व्यवहार नै भोलिको जिम्मेवार नागरिकताको आधार हो। अन्त्यमा, बालबालिकालाई विपद्को भय होइन, सहानुभूति र सहयोगको भावना सिकाउँदै श्रद्धाञ्जलीलाई अर्थपूर्ण सिकाइमा रूपान्तरण गरौँ।”

    images
    आइतवार, भाद्र २१ २०८३११:३८:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार