बुधवार, आश्विन ७ २०८३
काठमाडौँ । मानव संसार विकासको गतिमा अगाडि बढिरहेको छ। शिक्षा पनि त्यही गतिमा गएको देखिन्छ। धन्नै निरक्षर विहिन स्थानतिर उन्मुख भइरहेको छ। तर आजको आधुनिक युगमा शिक्षालाई प्रायः बाहिरी चमकधमक र भौतिक पूर्वाधारका आधारमा मूल्याङ्कन गर्ने परिपाटी हाबी हुँदै गएको छ।
फराकिला बाटा, अग्ला र भव्य भवन, सुविधा सम्पन्न अस्पताल, विद्यालय र विश्वविद्यालय, आधुनिक प्रविधि तथा उच्चस्तरका सञ्चार माध्यम को पहुँचे हुन थालेको देखिन्छ। तर, यस्ता भौतिक संरचना र आधुनिक उपकरणको उपस्थिति हुनु नै 'असल शिक्षा' हुनुको ग्यारेन्टी भने होइन। शिक्षाको वास्तविक धरातल बाहिरी वैभवमा होइन, मानिसको भित्री सोच, चेतना, मानवीय चरित्र, प्रकृतिसँगको सामञ्जस्यता र राष्ट्रप्रतिको जिम्मेवारी र मानवतामा आधारित हुन्छ।
यदि कुनै शिक्षण संस्थाले उच्च स्तरका प्रविधि र भव्य भवनहरू त उपलब्ध गराउँछ, तर त्यहाँबाट उत्पादन हुने मानिसमा दया, करुणा, नैतिकता, राष्ट्रिय सम्पदाप्रतिको मोह र सामाजिक दायित्व जस्ता गुण हुँदैनन् भने त्यस्तो शिक्षा केवल साक्षरता वा प्राविधिक दक्षतामा सीमित रहन्छ—त्यो कहिल्यै असल शिक्षा बन्न सक्दैन। यदि शिक्षा सही भएको भए राजनैतिक दलको नेतृत्वले १५/१६ वर्षको व्यक्तिको मानसिकतामा मर्न र मार्नको लागि भावना भर्न नसिकाएको भए न व्यक्ति हत्या हुने थियो न समाज अराजक बन्ने थियो । यदि शिक्षाको तेजले मान्छे मान्नुहुँदैन चेतनाको माध्यमबाट मात्र हुने परिवर्तन चिरस्थायी हुन्छ भन्ने होस खुलेको भए बल्ल उनले प्राप्त गरेको शिक्षाको औचित्य रहन्थ्यो। आखिर आमुल राजनैतिक परिवर्तन पछि निर्माण भएका सरकार प्रति पनि उही पुरानो आक्षेप आउँछ किन? लेखिएको छ मौलिक हक र कर्तव्य तर नेपाली नागरिकले उपयोग गर्न पाएका छैनन्। किन? किनकि न सरकारमा त्यो चेतना रह्यो न नागरिकमा नै। <प> शिक्षामा देखिएका केही त्रुटीहरु:
१. नैतिक शिक्षाको अभाव: विध्वंस, आगजनी र धरोहरको विनाश
यदि हाम्रो शिक्षा प्रणालीमा वास्तविक शैक्षिक गुण, संस्कार र मानवीय मूल्य-मान्यता निहित भएको भए नेपालले विभिन्न कालखण्डमा भोगेका अमानवीय विध्वंस, हत्या, आगजनी र ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरूको विनास कहिल्यै हुने थिएन। तिनलाई नष्ट गर्न हुँदैन। विरोध सरकारसँग हो भवनसँग होइन। आफ्नै धरोहरमाथि प्रहार: जुनसुकै राजनीतिक, सामाजिक वा वैचारिक आन्दोलनका नाममा भएका हिंसा, सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी र देशका प्राचीन सम्पदा एवं धरोहरहरूको विनाश हुनु पछाडि चेतनाहीन र संस्कारविहीन शिक्षाको प्रत्यक्ष हात छ। असल शिक्षाले आफ्ना सांस्कृतिक र ऐतिहासिक धरोहरहरूलाई राष्ट्रको पहिचान र आत्माका रूपमा जोगाउन सिकाउँछ, तिनलाई जलाउन वा नष्ट गर्न दिँदैन।
हिंसा र विध्वंसको सट्टा विवेक: जब शिक्षाले केवल परीक्षा पास गर्ने प्रमाणपत्र मात्र बाँड्छ तर विवेक र अहिंसाको पाठ सिकाउँदैन, तब मानिसहरू आवेश, स्वार्थ र अराजकताको बाटो रोज्छन्। गुणस्तरीय र मूल्यमा आधारित शिक्षा पाएको नागरिकले कहिल्यै पनि आफ्नै देशका नागरिकको हत्या गर्ने वा राष्ट्रिय सम्पत्तिमा आगो लगाउने जस्ता जघन्य अपराध गर्न सक्दैन।
सद्गुणविहीन ज्ञानको खतरा: ज्ञान जब सद्गुण र नैतिकताबाट विच्छेद हुन्छ, तब त्यो विनाशको साधन बन्छ। विध्वंस र तोडफोडमा संलग्न हुनेहरू अशिक्षित मात्र हुँदैनन्, धेरैजसो प्राविधिक रूपमा शिक्षित तर नैतिक रूपमा शून्य युवाहरूकै प्रयोग भइरहेको हुन्छ। यसले के स्पष्ट पार्छ भने—शिक्षामा गुण र संस्कार नभएसम्म देशमा शान्ति, सुव्यवस्था र समृद्धिको कल्पना गर्न सकिँदैन।
२. प्रकृति र जीवनबाट सिक्नुपर्ने पाठ: रसुवा बाढीको सन्दर्भ
शिक्षा केवल पुस्तक वा कक्षाकोठाभित्र मात्र सीमित हुँदैन; यसले प्रकृति र जीवनका वास्तविक भोगाइहरूबाट पनि सिक्न सिकाउँछ। भर्खरै रसुवाको हिमाली क्षेत्र तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, हिमपहिरो र भौगोलिक विखण्डनले हामीलाई एउटा ठूलो पाठ सिकाएको छ: मानिसको विनास क्षेणभरमा हुँदोरहेछ यदि प्रकृति रिसाएछ भने। विज्ञान र प्रविधिमा बढेको समाजमा विज्ञानले गर्न सक्थ्यो भन्यो त्यो बाढी किन आयो। आउनुभन्दा अगाडि विश्व विज्ञानले किन देखेन। ग्लोबल वार्मिङको कुरा त धेरै पहिल्यै नै उठाएको थियो त।
भौतिक पूर्वाधारको सीमा: कंक्रीट र सिमेन्टका ठूला संरचना प्रकृतिको अगाडि कति कमजोर छन् भन्ने कुरा रसुवाको बाढीले स्पष्ट पारिदियो। प्रकृतिको नियम र भूगोलको संवेदनशीलतालाई नबुझी गरिएका निर्माणहरू क्षणभरमै ध्वस्त हुन्छन्।
सन्तुलनको आवश्यकता: मानव निर्मित विध्वंस होस् या प्रकृतिप्रतिको लापरवाही—दुवैको मूल कारण अज्ञानता र चेतनाको कमी हो। असल शिक्षाले मानिसलाई प्रकृतिको विनाश नगरी प्रकृतिसँग मिलेर बाँच्ने र वातावरण संरक्षण गर्ने चेतना दिन सक्नुपर्छ।
३. असल शिक्षाका मुख्य आधार स्तम्भहरू
नेपाललाई विध्वंस, अराजकता र विनाशको बाटोबाट जोगाएर निर्माण र समृद्धिको बाटोमा लैजान निम्न आयामहरूहितको असल शिक्षा आवश्यक छ: मानवीय सद्गुण र नागरिक कर्तव्य: शिक्षाको प्रथम दायित्व मानिसमा विवेक, सत्य, निष्ठा, अनुशासन, दया, र भ्रातृत्व जस्ता गुणहरू जगाउनु हो। आफ्ना अधिकारका कुरा गर्दा अरूको अधिकार र राष्ट्रिय सम्पत्तिको रक्षा गर्ने नागरिक कर्तव्य सिकाउनु नै वास्तविक शिक्षा हो।
विज्ञान र प्रविधिको सिर्जनात्मक प्रयोग: आधुनिक प्रविधिलाई विनाश, अफवाह वा अराजकता फैलाउन होइन, बरु मानव जातिको उत्थान, वातावरण संरक्षण र देश निर्माणका लागि प्रयोग गर्ने चेतना शिक्षाले दिनुपर्छ।
सञ्चार र वैचारिक परिपक्वता: असल शिक्षाले व्यक्तिलाई भ्रम र सत्यबीचको फरक छुट्याउन सक्षम बनाउँछ, जसले गर्दा मानिसहरू उत्तेजना वा कसैको उक्साहटमा लागेर तोडफोड र हिंसामा उत्रँदैनन्। यदि सामाजिक सन्जालको सही उपयोग गरेको भए २०८२ भाद्र २३ र २४ गतेको विद्रोह र विनास हुनेथएन। आखिर हिजोको सरकार र आजको सरकारको बिचमा के भिन्नता छ र? त्यस्तो परिवर्तनहरु केही देखिएको छैन। संविधान प्रदत्त हक उपयोग गर्न पाएको छैन नेपाली नागरिकले। शिक्षा र स्वास्थ्यमा भएको चरम लापरवाही भएको र बैंकिङ आतङ्क पनि हुने थिएन। सरकार कर उठाउनको लागि उद्यत देखिन्छ तर नागरिकका हकको सुरक्षा र कार्यान्वयनमा देखिदैन।
आत्मनिर्भरता र व्यावहारिक ज्ञान: केवल रटन्त र सैद्धान्तिक ज्ञान होइन, व्यावहारिक, सीपमूलक र जीवनोपयोगी शिक्षाले मानिसलाई रोजगारी र स्वावलम्बनतर्फ डोर्याउँछ, जसले गर्दा युवाहरू फुर्सद र बेरोजगारीका कारण असमाजिक क्रियाकलापमा लाग्न पाउँदैनन्।
निष्कर्ष :
फराकिला बाटो, भव्य भवन र प्रविधि शिक्षाका लागि सहयोगी माध्यम मात्र हुन्, स्वयम् लक्ष्य होइनन्। यदि हाम्रा शिक्षण संस्थाहरूले नैतिक बल, चरित्र र राष्ट्रिय भाव भएका भाषा धर्म संस्कार र संस्कृतिको ज्ञान भएका नागरिक तयार पार्न सकेका भए नेपालले कहिल्यै विध्वंस, हत्या, आगजनी र धरोहरको विनाश भोग्नुपर्ने थिएन।
रसुवाको प्राकृतिक विपद् होस् वा मानव निर्मित राजनीतिक तोडफोड—दुवैले हामीलाई चेतना र गुणस्तरीय शिक्षाको महत्त्व बुझाएका छन्। भौतिक संरचनाको चमकभन्दा माथि उठेर जब हाम्रो शिक्षाले मानिसलाई नैतिक रूपमा बलियो, प्रकृतिप्रति संवेदनशील, वैज्ञानिक रूपमा सचेत र आत्मनिर्भर बनाउन थाल्छ, झुट र अफवाह फैलाउने कार्य मानव विकासका मुल कारण हुन भन्ने चेतना भर्न सके मात्र वास्तविक अर्थमा 'असल शिक्षा' को निर्माण हुनेछ र देश सुरक्षित रहनेछ।
विश्व शिक्षाले बुझाउनु पर्छ निर्माणको लागि सताब्दी कुर्नुपर्छ तर विनास केही मिनेटमा नै हुन्छ यदि प्रकृति रिसाउँछ भने। त्यसैले प्रकृतिको विनासको मार्ग होइन सही तरिकाले उपयोग गर्न सिकाउन सक्नुपर्छ शिक्षाले । अनि मात्र मानव समाज सभ्य र शिष्ट हुनेछ।
चन्द्रकान्त पण्डित सिद्धि गणेश मावि पकनाजोल काठमाडौं नेपाल।