Oct 25 2026 | २०८३, कार्तिक ९ गते

सत्य र विजयको प्रतीक विजया दशमी आज : टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

सत्य र विजयको प्रतीक विजया दशमी आज : टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

  • 282
    SHARES

  • सत्य र विजयको प्रतीक विजया दशमी आज : टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

    काठमाडौँ, ४ कार्तिक । हिन्दु धर्मावलम्बीको महान् पर्व बडादसैँअन्तर्गत आज विजया दशमी मनाइँदैछ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमी बडादसैँको सबैभन्दा महत्वपूर्ण दिन हो।

    धार्मिक मान्यताअनुसार सत्ययुगमा देवी दुर्गाले महिषासुर तथा त्रेतायुगमा भगवान् रामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा विजया दशमी मनाउने गरिन्छ। यही विजयको स्मरणमा प्रत्येक वर्ष विजया दशमी पर्व मनाउने परम्परा रहिआएको छ।

    आजका दिन मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी टीका र जमरा लगाउने धार्मिक परम्परा छ।

    टीका शुभ साइतको प्रतीक र जमरा समृद्धिको प्रतीकका रूपमा ग्रहण गर्ने गरिन्छ। दशैँको टीकाले परिवार, आफन्त र इष्टमित्रबीचको आत्मीयता तथा आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास गरिन्छ।

    टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

    यस वर्ष विजया दशमीको टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेहरूका लागि बिहान १०ः२६ बजे उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

    विजया दशमी आफैँमा शुभ दिन भएकाले सामान्य रूपमा टीका लगाउन साइत खोजिरहनु नपर्ने भए पनि विशेष साइत हेरेर टीका लगाउन चाहनेहरूका लागि उक्त समय उत्तम मानिएको हो।

    विजया दशमीका दिन देशभर मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने र आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने क्रम चल्छ। विदेशमा रहेका नेपालीसमेत आफ्नो अनुकूलताअनुसार टीका तथा जमरा ग्रहण गरी दशैँ मनाउने गर्छन्।

    पुरुषलाई दिइने आशीर्वाद

    दशैँको टीका लगाउँदा परम्पराअनुसार महिला र पुरुषलाई फरक–फरक आशीर्वाद दिने चलन छ। पुरुषलाई टीका लगाउँदा आयु, कीर्ति, ऐश्वर्य, गति, मान, शौर्य, बल, सत्य, ज्ञान र कीर्तिको कामना गर्दै यस्तो आशीर्वाद दिने गरिन्छ–

    ‘ॐ आयु द्रोणसुते, श्रियं दशरथे शत्रुक्षयं राघवे।

    ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने।।

    शौर्यं शान्तनवे, बलं हलधरे, सत्यं च कुन्तीसुते।

    विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।’

    यस आशीर्वादमा अश्वत्थामाको जस्तो दीर्घायु, राजा दशरथको जस्तो कीर्ति, भगवान् रामको जस्तो शत्रु नाश गर्ने क्षमता, नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, कर्णको जस्तो दानशीलता, भीमको जस्तो बल, युधिष्ठिरको जस्तो सत्य, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्तिको कामना गरिएको हुन्छ।

    महिलालाई दिइने आशीर्वाद

    त्यस्तै महिलालाई टीका लगाउँदा देवी शक्तिको स्तुति गर्दै सुख, सौभाग्य, शक्ति तथा कल्याणको कामना गरिन्छ।

    ‘ॐ जयन्ती मङ्गलाकाली,

    भद्रकाली कपालिनी।

    दुर्गा क्षमा शिवाधात्री,

    स्वाहा स्वधा नमोऽस्तुते।।’

    यस मन्त्रमा देवी दुर्गाका विभिन्न स्वरूपको स्मरण गर्दै विजय, मंगल, शक्ति, दुःखबाट मुक्ति र कल्याणको कामना गरिएको हुन्छ।

    विजया दशमी केवल टीका र जमरा लगाउने पर्व मात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचान, पारिवारिक एकता, आपसी सद्भाव र आत्मीयताको पर्वसमेत हो। यस दिन ठूलाबडाबाट आशीर्वाद लिने, सानालाई माया तथा शुभकामना दिने र टाढा रहेका आफन्तसँग भेटघाट गर्ने परम्परा छ।

    सत्यको असत्यमाथि र दैवी शक्तिको आसुरी शक्तिमाथिको विजयको सन्देश बोकेको विजया दशमीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताको नयाँ सुरुवात गराओस्।

    images
    बुधवार, कार्तिक ५ २०८३०६:३५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार