बुधवार, कार्तिक १२ २०८३
काठमाडौँ — शिक्षक सेवा आयोगले अनिवार्य अवकाश पाउन लागेका शिक्षकको विशेष बढुवाको प्रक्रिया सहज बनाउँदै जिल्लाबाटै बढुवा गर्न सकिने व्यवस्था गरेको छ। आयोगले २०८३ कात्तिक ११ गते ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ३९ मा कुनै पनि तहको शिक्षक पदमा स्थायी नियुक्ति भई सोही तहको सोही श्रेणीबाट निवृत्तिभरण पाउने गरी अनिवार्य अवकाश हुन लागेका शिक्षकलाई अवकाश हुनुभन्दा एक महिना अगावै सोही तहको माथिल्लो श्रेणीमा बढुवा गर्न आयोगले सिफारिस गर्ने व्यवस्था छ।
यसअघि विशेष बढुवाका लागि सम्बन्धित शिक्षकको फाइल शिक्षा विकास तथा समन्वय एकाइमार्फत आयोगमा पुग्ने र शिक्षक स्वयं पनि पटक–पटक आयोगमा आउनुपर्ने अवस्था रहेको थियो। त्यसले शिक्षकलाई अनावश्यक झन्झट हुने भन्दै आयोगले प्रक्रिया विकेन्द्रीकरण गरेको हो।
आयोगको २०८३ असोज १६ गते बसेको बैठकले कानुनी व्यवस्थाअनुसार सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुखलाई विशेष बढुवा गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।
अब एकाइ प्रमुखले आवश्यक कागजात तथा प्रमाणहरूको जाँचबुझ गरी शिक्षक विशेष बढुवाका लागि उपयुक्त देखिएमा कानुनी व्यवस्थाअनुसार बढुवा गर्न सक्नेछन्। आयोगले यो व्यवस्था साविकमा आयोगको २०७३ माघ ७ गतेको निर्णयअनुसार नै कार्यान्वयन हुने जनाएको छ। आयोगले यससम्बन्धी २०८३ असोज १६ गते पठाएको पत्रसमेत संशोधन गरेको जनाएको छ।
यस व्यवस्थाले अवकाशको चरणमा रहेका शिक्षकलाई विशेष बढुवाका लागि आयोग धाउनुपर्ने बाध्यता हटाउँदै सम्बन्धित जिल्लाबाटै प्रक्रिया पूरा गर्ने बाटो खुलेको छ।