शुक्रवार, कार्तिक १४ २०८३
काठमाडौं। नेपाल सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो। मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन संगठनले बारम्बार पालना नगरेको तथा संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको देखिएको छ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरी ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार कार्य गर्न आग्रह गरेको थियो। तर, मन्त्रालयले उक्त निर्देशनबमोजिम कार्य भएको नदेखिएको जनाएको छ।
गृह मन्त्रालयले सूचना जारी भएपछि संगठनका नाममा कुनै पनि समूह वा गुटबाट गरिने गतिविधि गैरकानुनी हुने स्पष्ट पारेको छ। त्यस्ता गतिविधि भए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।
मन्त्रालयले २०८३ कात्तिक १३ गते जारी गरेको उक्त सार्वजनिक सूचना संगठन निलम्बनसम्बन्धी पहिलो सूचना हो। निलम्बन अर्को निर्णय नभएसम्म कायम रहने जनाइएको छ।
