मंगलवार, भाद्र १५ २०७८
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी एकीकृत कार्ययोजना निर्माण गरि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा बुझाएको छ ।
मन्त्रालयले बनाएको एकीकृत कार्ययोजना चालु शैक्षिकसत्रको लागि बनाएको हो ।
मन्त्रालयले बनाएको ६ बुँदे कार्ययोजनामा निषेधाज्ञाको प्रकृति हेरेर विद्यालय सञ्चालन गर्न सकिने उल्लेख छ ।
हार्ड लकडाउन (रेड जोन), मिक्स्ड लकडाउन (गाढा पहेँलो जोन), सफ्ट लकडाउन (पहेँलो जोन ) र मिनिमल लकडाउन (ग्रीन जोन) मा वर्गीकरण गरिएको छ । वर्गीकरण गरिएका चारखाले लकडाउनका आधारमा कुन ठाउँमा कसरी विद्यालय सञ्चालन गर्ने र परीक्षा कसरी लिने भन्ने उल्लेख गरिएको छ ।
१. विद्यालयको पठनपाठन सञ्चालन र व्यवस्थापन हार्ड लकडाउन (रेड) क्षेत्रमा वैकल्पिक सिकाइका माध्यमको प्रयोगका लागि प्रविधिमा विद्यार्थीको पहुँचको आधारमा समूहगत गर्ने :
-सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी ।
-रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी ।
- टेलिभिजनको पहुँचमा भएका विद्यार्थी ।
-कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी ।
-इन्टरनेट तथा सूचना सञ्चारको पहुँचमा भएका विद्यार्थी ।
प्रधानाध्यापकको नेतृत्वमा कम्तीमा एक तिहाइ शिक्षक आलोपालो विद्यालयमा उपस्थित भई स्वास्थ्य मापदण्ड तथा भौतिक दूरी कायम गरी विद्यार्थी समूह अनुसारको सिकाइ सहजीकरण योजना तयार गरेर स्थानीय तहसँगको समन्वयमा विद्यार्थीलाई सहजीकरण गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।
विद्यालयले विद्यार्थीलाई सीयूजीमा आवद्ध गरी नियमित टेलिफोन सम्पर्क र परिवेश अनुसार अनलाइन लर्निङ श्रव्य दृश्य वा श्रव्य सामग्री प्रसारणको माध्यमद्वारा विद्यार्थी सिकाइसम्बन्धी सहजीकरण निर्देशिका कार्यान्वयन गर्ने । उक्त जानकारी स्थानीय तहको शिक्षा हेर्ने निकायलाई दिने कार्ययोजनामा छ ।
वैकल्पिक सिकाइका विभिन्न माध्यमको प्रयोगका लागि प्रविधिमा विद्यार्थीको पहुँचको आधारमा विद्यालयले विद्यार्थीको समूहगत गर्ने :
-सबै किसिमको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी ।
-रेडियो र एफएमको पहुँचमा भएका विद्यार्थी ।
-टेलिभिजनको पहुँचमा भएका विद्यार्थी ।
-कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी ।
-इन्टरनेट तथा सूचना प्रविधिको साधन पहुँच नभएका विद्यार्थी ।
प्रधानाध्यापकको नेतृत्वमा ५० प्रतिशत शिक्षक आलोपालो विद्यालयमा उपस्थित भई स्वास्थ्यको मापदण्ड पालना गरी विद्यार्थी समूह अनुसारको सिकाइ सहजीकरण गरिने कार्ययोजनामा भनिएकाे छ ।
विद्यालयले विद्यार्थीलाई सीयूजीमा आवद्ध गरी नियमित टेलिफोन सम्पर्क र परिवेश अनुसार अनलाइन लर्निङ श्रव्य दृश्य वा श्रव्य सामग्री प्रसारणको उपयुक्त विधिबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र सोको जानकारी स्थानीय तहको शिक्षा हेर्ने निकायलाई दिने याेजनामा उल्लेख गरिएको छ ।
विद्यालय, समुदाय सिकाइ केन्द्र वा उपयुक्त स्थानमा विद्यार्थीलाई सानो समूहमा राखेर सिकाइ सामग्री, गृहकार्य वितरण, विद्यार्थीले गरेका गृहकार्य संकलन गर्ने, विद्यार्थीको समस्या समाधान गर्ने र आवश्यक पृष्ठपोषण दिई निरन्तर शिक्षण सिकाइको वस्तुगत मूल्याङ्कन प्रणालीकाे अवलम्बन गरिने छ ।
शिक्षकले विद्यालयमा उपस्थित भई थप सिकाइ सामग्री तथा प्रत्येक हप्ताका लागि विद्यार्थी क्रियाकलाप र गृहकार्य तयार गर्ने, विद्यार्थीहरूलाई छुट्टाछुट्टै समयमा विद्यालयमा वा सिकाइ केन्द्रमा भौतिक दूरी कायम हुने साना-साना समूहमा बोलाएर सिकाइ सामग्री, गृहकार्य वितरण गर्ने, विद्यार्थीले गरेको गृहकार्य संकलन गर्ने र आवश्यक पृष्ठपोषण दिई निरन्तर मूल्याङ्कन गर्ने कार्ययोजनामा भनिएकाे छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पूरा गरी कूल कक्षा संख्या वा विद्यार्थीको संख्याको एक तिहाइ आलोपालो वा सिफ्टमा उपस्थित गराई पठनपाठन गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।
मन्त्रालयको कार्ययोजनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारका मापदण्ड र प्रक्रिया पूरा गरेर पठनपाठन सञ्चालन गर्ने भनिएकाे छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा-२०७७’ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिइएको छ ।
विद्यालय बन्द वा पुनः सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तहले उपलब्ध भएसम्म जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक महासंघ, विद्यालय सञ्चालकहरूको छाता संगठनका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, स्वास्थ्यकर्मी, बाल युवा क्लबका प्रतिनिधिसँग छलफल गर्नुपर्ने कार्यढाँचामा उल्लेख गरिएको छ । संक्रमणको जोखिम नरहेको वा न्यून रहेको ठाउँमा आलोपालो सिफ्ट वा अन्य उपयुक्त मोडालिटीको प्रयोग गर्न सकिने छ ।
२. उच्च शिक्षाको सञ्चालन र व्यवस्थापन
हार्ड लकडाउन र मिक्स्ड लकडाउन भएको क्षेत्रमा शिक्षण संस्थाहरूले भर्चुअल माध्यमबाट पठनपाठन गराउने र सम्बन्धित विश्वविद्यालयलाई विद्युतीय माध्यमबाट जानकारी गराउने ।
सफ्ट लकडाउन भएको क्षेत्रमा शिक्षण संस्थाहरूले विद्यार्थीहरूलाई छुट्टाछुट्टै समयमा कार्यक्रमगत सानो समूहमा विभाजन गरेर कूल कक्षा संख्या वा विद्यार्थीको संख्याको एक तिहाइ आलोपालो वा सिफ्टमा उपस्थित गराई पठनपाठन गराउने ।
सम्बन्धित विश्वविद्यालयलाई जानकारी गराउने, मिनिमल लकडाउन भएको क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड तथा भौतिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्ने कार्ययोजनामा छ ।
३. परीक्षा सञ्चालन तथा व्यवस्थापन
हार्ड लकडाउन भएको क्षेत्रमा शिक्षण संस्थाहरूले अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने, मिक्स्ड लकडाउन भएको क्षेत्रमा शिक्षण संस्थाहरूले अनलाइन परीक्षा र परियोजना कार्यहरू मात्र सञ्चालन गर्नुपर्ने भएको छ ।
सफ्ट लकडाउन भएको क्षेत्रमा विद्यालय, कलेज, विश्वविद्यालय बोर्ड तथा परिषद्हरूले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी एक बेञ्चमा एक वा जेड आकारमा विद्यार्थी राखेर होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने ।
मिनिमल लकडाउन भएको क्षेत्रमा विद्यालय, कलेज, विश्वविद्यालय, बोर्ड तथा परिषद्हरूले स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्नुपर्ने कार्ययोजनामा छ ।
४.पाठ्यपुस्तक छपाई ढुवानी तथा बिक्री वितरण
हार्ड लकडाउन, मिक्स्ड लकडाउन र सफ्ट लकडाउन भएको क्षेत्रमा पाठ्यपुस्तक उत्पादन, छपाई, ढुवानी र बिक्री वितरणलाई अत्यावश्यक वस्तुको सूचीमा राखेर आवश्यक कार्य गर्ने योजना मन्त्रालयले बनाएको छ ।
‘स्थानीय तहसँग समन्वय गरी बिक्रेता र विद्यालयले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने, स्थानीय तहको प्रशासकीय प्रमुखहरूको सहयोग लिने । सामुदायिक विद्यालयहरूले आलोपालो गरी विद्यार्थी बोलाएर निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने, ’ कार्ययोजनामा भनिएकाे छ ।
मिनिमल लकडाउन भएको क्षेत्रमा स्वास्थ्यको मापदण्ड पालना गरेर पाठ्यपुस्तक उत्पादन, छपाई, ढुवानी र बिक्री वितरण गर्ने । सामुदायिक विद्यालयहरूले आलोपालो गरी विद्यार्थी बोलाएर निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने मन्त्रालयको योजनामा छ ।
५.शिक्षक तालिम र छोटो अवधिका व्यवसायिक तथा सीपमुलक तालिम सञ्चालन
हार्ड लकडाउन र मिक्स्ड लकडाउन भएको क्षेत्रमा भर्चुअल माध्यमबाट गर्ने, सफ्ट लकडाउन र मिनिमल लकडाउन भएको ठाउँमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी सञ्चालन गर्न भनिएको छ ।
६.विद्यालय भवन तथा अन्य पूर्वाधार निर्माण कार्य
हार्ड लकडाउन र मिक्सड लकडाउन भएको ठाउँमा स्वास्थ्य मापदण्ड तथा भौतिक दूरी कायम गरी सीमित जनशक्तिमा भवन निर्माण गर्ने, सफ्ट लकडाउन भएको क्षेत्रमा मापदण्ड पालना गरेर आवश्यक जनशक्तिको उपस्थितिमा निर्माण गर्ने, मिनिमल लकडाउन भएको ठाउँमा आवश्यकता अनुसारको जनशक्तिको उपस्थितिमा निर्माण गर्ने याेजनामा उल्लेख गरिएको छ ।
सीसीएमसीले कार्ययोजना कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई अनुमति दिएको छ । ‘शिक्षा मन्त्रालयले कार्ययोजना बनाएर पेस गरेको थियो । उक्त कार्ययोजना स्मार्ट लकडाउनको अवधारण अनुसार कार्यान्वयन गर्न भनिएको छ,’ सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने, ‘अब मन्त्रालयले कार्यान्वयन गर्दा हुन्छ ।’
शिक्षा मन्त्रालयले कार्ययोजना छिट्टै कार्यान्वयन गरिने बताएको छ । ‘सीसीएमसीमा मस्यौदा पठाएका छौँ । करिब टुंगो लागेको छ । सीसीएमसीले अगाडि बढ्नु भनेपछि हुन्छ,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने । कुन भूगोलको अवस्था कस्तो छ त्यो निर्धारण भएपछि कार्ययोजना कार्यान्वयन गरिने उनले बताए ।
‘सीसीएमसीले स्मार्ट लकडाउनको खाका दिएको छ । कुन ठाउँमा कस्तो अवस्था छ, सीसीएमसी र डीसीएमसीले गर्ने हो । भूगोलको अवस्था निर्धारण भएपछि कार्ययोजना कार्यान्वयन हुन्छ,’ उनले भने ।एक साताभित्र कार्ययोजना सर्वजनिक गर्ने मन्त्रालयको तयारी छ ।
संक्रमणदर ५ प्रतिशतभन्दा कम भएमा मात्र विद्यालय खोल्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निष्कर्ष छ । ‘पालिकाले विद्यालय खोल्ने निर्णय गर्दा संक्रमणको स्थिति कस्तो छ अध्ययन गर्नुपर्छ । ५ प्रतिशतभन्दा कम संक्रमण छ भने ठीकै हो । तर, यो विषयमा डीसीसीएमसीसँग छलफल गर्छौं,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने ।