बुधवार, भाद्र २३ २०७८
काठमाडौ - नेपालको शैक्षिक इतिहास मध्य राणाकालीन इतिहास महत्त्वपूर्ण मानिन्छ। यसै बिचमा ‘राणाकालीन शिक्षा’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
शिक्षा पत्रकार प्रकृति अधिकारीद्वारा लेखिएको उक्त पुस्तक शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन।
अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो ।
राणाकालको १०४ वर्षको अवधिमा झाङ्गिएको शिक्षाको विकासक्रमका बारेमा खोजमूलक तथा ऐतिहासिक सामग्रीसहितको यस पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएका छन् ।
यस पुस्तकमा हालसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएको र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीले बताए । अधिकारी विगत २५ वर्षदेखि शिक्षा पत्रकारिता गर्दै आएका छन् र उनी इतिहासका पनि रुचिकार हुन् । यसअघि उनको ‘एसएलसीको इतिहास’ नामक पुस्तक २०७४ सालमा प्रकाशन भएको थियो ।
यस पुस्तकलाई पुस्तक इडीयुसञ्जालले प्रकाशन गरेको छ । “विगत ११ वर्षदेखि हामीले विद्युतीय माध्यम तथा कार्यक्रमहरूबाट विद्यार्थीलाई सुसूचित गर्दै आएका छौँ । अब खोजमुलक लेख तथा पुस्तकहरुलाई पनि प्रोत्साहन गर्नुपर्दछ भनेर शिक्षासम्बन्धी पुस्तकहरू प्रकाशन गर्ने योजनाअनुरूप यस पुस्तकबाट प्रकाशन–यात्रा थालनी गरेका छौँ” इडीयुसञ्जालका प्रमुख कार्यकारी अधिकृत टंकेश्वर आचार्यले बताए ।
१५ अध्यायमा विभाजित यो पुस्तक पढ्दा राणाकालीन कालखण्डको शैक्षिक इतिहासलाई प्रत्यक्ष अनुभुती गर्न सकिन्छ । निरङ्कुश शासकले शिक्षालाई कसरी भित्र्याए र उच्च शिक्षासम्म जनताको पहुँचमा किन र कसरी पु¥याए भन्ने बेलीबिस्तार यस पुस्तकमा गरिएको छ ।
दरबार हाइस्कुलका शिक्षक र उनको खान्की, भाषा पाठशाला स्थापना भएका स्थान र नियुक्त शिक्षकहरुको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्यपुस्तकसम्बन्धी गरिएको व्यवस्था, चन्द्रशमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखत आदिका बारेमा उल्लेख गरिएको पाइन्छ ।
यस पुस्तकमा ४४४ पृष्ठ छ । पातलो गाताको मूल्य रू. ५५० र मोटो गाताको मूल्य रू. ८५० रहेको छ । पुस्तक थुप्रै (thuprai.com), किताब यात्रा (kitabyatra.com) जस्ता अनलाइन स्टोरबाट पनि मगाउन सकिनेछ र यसै साताबाट देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध हुनेछ । पुस्तक छिट्टै ई–बुकका रूपमा र विश्वभर अमेजनबाट पनि उपलब्ध हुने प्रकाशकले जानकारी दिएका छन् ।