शुक्रवार, भाद्र २५ २०७८
बैतडी - कोभिड- १९ जोखिमका कारण लामो समय बन्द रहेका बैतडी जिल्लाला पाँच स्थानीय तहका विद्यालय भौतिक उपस्तिथिमा पठनपाठन गर्न सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो ।
विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा भएको अन्योल र विद्यार्थीको समेत भविष्य बिग्रिने भन्दै दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा यही भदौ २१ देखि २७ गतेसम्म पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । भने नगरपालिकाको उक्त निर्देशनपछि केही विद्यालयमा पढाइ सुरु भएको र अन्यमा भदौ २७ गतेदेखि पठनपाठन थालिने नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए ।
जिल्लाकै सिगास गाउँपालिकाका विद्यालयमा मङ्गलबारदेखि पढाइ सुरु भएको छ। त्यसैगरी पाटन नगरपालिकामा भदौ २० गते, पञ्चेश्वरमा २१ गतेदेखि तथा शिवनाथ गाउँपालिकामा गत महिनादेखि नै पठनपाठन सुरु भइसकेको छ बताइएको छ। कोरोना सङ्क्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन भइरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
त्यसैगरी बैतडी जिल्लाकै बाँकी पाँच स्थानीय तहका पनि पठनपाठन सुरु गर्ने तयारी भएको छ । मेलौली र पुर्चौंडी नगरपालिका तथा डिलाशैनी र सुर्नया गाउँपालिकामा यही भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आउने बताइएको छ । दोगडाकेदार गाउँपालिकामा पनि विद्यालय सञ्चालनको मिति तय गरिने भएको छ ।
बैतडी जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ । हाल जिल्लामा २० सक्रिय सङ्क्रमित रहेका छन् । शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा सक्रिय सङ्क्रमित शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।