मंगलवार, भाद्र २९ २०७८
काठमाडौ - कलेजको सेयर दिने प्रलोभन देखाइ बुद्धनगरस्थित डब्ल्युएलसी (WBLC) कलेज नेपालका अध्यक्ष सन्जय झा र पक्राउ पर्ने झा र ललितपुरस्थित 'केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टका' लेखा अधिकृत मुकेश महर्जन पक्राउ परेका छन ।
झा र महर्जनले चार वर्ष अघि धनुषा दुहबी–३१ का ४२ वर्षीय प्रवीणकुमार झालाई केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टको सेयर दिने प्रलोभनमा २ करोड ४४ लाख ३४ रुपियाँ लिएको खुल्नमा आएको छ।
पटक–पटक प्रयासपछि पनि सेयर नदिएपछि पीडित प्रवीणकुमारले प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि प्रहरीले सञ्जय र मुकेशलाई गत ११ भदौमा पक्राउ गरेको हो । अनुसन्धान मा संलग्न परिसर प्रमुख एसएसपी अशोक सिंहले ठगी अभियोगमा सञ्जय र मुकेश पक्राउ परेको जानकारी दिए ।
प्रहरीका अनुसार ठगी गर्ने झा र महर्जन विरुद्धको अनुसन्धान करिब÷करिब सकिएको छ । अहिले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएर अहिले थुनछेकको प्रक्रिया चलिरहेको छ । उनीहरूले कलेजको सेयर दिने भन्दै प्रवीणकुमार झासँग दुई करोड रुपैयाँभन्दा धेरै रकम लिएको देखिन्छ । तर, कबुल गरेअनुसारको सेयर भने दिएको देखिँदैन ।
प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनअनुसार प्रवीणकुमारले केन्ट ग्रुपको खर्चका लागि माइन्ड्स फ्रेम नामक कम्पनीबाट ४१ लाख ५० हजार रुपैयाँ, सिस्टम एनलाइसिस एन्ड सफ्टवेयर सोलुुसनको नामबाट ७९ लाख ४३ हजार पाँच सय रुपैयाँ दिएको देखिन्छ । बाँकी ७९ लाख ४४ हजार ६ सय ३४ रुपैयाँ भने प्रवीणकुमारले आफ्नै नामबाट दिएका थिए ।
‘घरजग्गा बैंकमा धितो राखेर सेयरबापतको रकम दिएको हो,’ प्रवीणकुमारले भने, ‘मलाई कलेजको सेयर दिन्छु भन्यो । मैले दुई करोड रुपैयाँभन्दा धेरै रकम केन्ट ग्रुपको नाममा दिएँ । चार वर्ष बित्यो उसले न मलाई सेयर दियो, न मेरो रकम नै फिर्ता ग¥यो । घरजग्गा बैंकमा धितो छ । हातमुख जोर्न समस्या आइलागेको छ । पटक–पटक प्रयास गरेँ । तर, रकम पाउन सकिनँ ।’
प्रवीणकुमारका अनुसार सञ्जय झाले केन्ट ग्रुपमार्फत आफूसँग लिएको रकम डब्ल्युएलसी कलेज नेपाल र विराट कलेज चितवनमा समेत अवैध ढंगले लिएर गएको बताए । ‘केन्ट ग्रुपको नाममा सञ्जयले लगानी संकलन गर्यो ।
ग्रुपले चलाउने भनेको त केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट मात्रै थियो । तर, उसले थाहै नदिई लगानी एकाएक डब्ल्युएलसी कलेज, विराट कलेजमा लिएर गएछ । उनको यस्तो कार्यको विरोध गरेपछि अहिले यस्तो हालत भयो,’ उनले भने ।प्रतिवेदनअनुसार उनले उक्त रकम १ साउन ०७४ देखि ११ फागुन ०७४ सम्मको विभिन्न मितिमा पटक–पटक गरी चेक तथा बैैंक ट्रान्सफरमार्फत केन्ट ग्रुपको प्रयोजनका लागि देखिएको देखिन्छ ।
नयाँ पत्रीकाबाट