शुक्रवार, मंसिर १० २०७८
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छापामार शैलीमा विद्यालय अनुगमन गरेका छन् । बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा अनुगमन गरेका हुन ।
अनुगमनका क्रमममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए । कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा ३ हजार ७ सय विद्यार्थी रहेका छन् ।
कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या के–के छन् भन्दै विद्यार्थीलाई सोधेका थिए । "त्यसैक्रममा विद्यार्थी भन्दै थिए पढी सकेपछि आफ्नै देशमा रोजगार पाइयोस" ।
अनुगमनका क्रममा मन्त्री पौडेलले भने ‘बुवाआमाको काखपछिको पाठशाला भनेको विद्यालय हो,‘देशमा निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलवाड नहोस् ।’
उनले शिक्षक, तथा विद्यार्थीले थप परिश्रम गरि नमूना विद्यालयको रुपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्रीमा नियुक्त भएलगत्तै सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्षय रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिका नमुना हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी मन्त्री पौडेलले एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका यस विद्यालयका विद्यार्थी आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाइ समेत दिएका थिए । सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ,' मन्त्री पौडेलले भने, ।
शिक्षाको निम्ति आवश्यक पर्ने कुराहरुमा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ।’ कक्षा १२ सम्म पढाइ हुने विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाको पढाइ हुन्छ । साथै कक्षा ९ मा इलेक्ट्रिक इन्जिनेरिङ अध्यापन गराइने विद्यालयका प्रअ हेरम्बराज कँडेलले जानकारी दिए । देशभरका सार्वजनिक विद्यालयमध्येको विश्व निकेतन माध्यमिक विद्यालय राम्रो मध्येको एक मानिन्छ।