बिहिवार, मंसिर २३ २०७८
जाजरकोट - बालविकासमा कार्यरत शिक्षक(इसिडि शिक्षक) र कर्मचारीले वृद्धी तलब नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिकामा तालाबन्दी गरेका छन्। बालविकास कक्षामा कार्यरत शिक्षक र कर्मचारीले १५ हजार रुपैयाँ तलब पाउनु पर्ने माग गर्दै बुधबार तालबन्दी गरेका हुन्।
यसअघि आर्थिक बर्ष २०७८/७९ को बजेटमा सरकारले प्रस्तुत गरेको विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्युनतम पारिश्रमिक १५ हजार पुर्याउने उल्लेख गरिएको थियो।
बालविकास शिक्षिका र विद्यालय कर्मचारीले संघीय सरकारले बजेट वक्तव्यमा घोषणा गरे अनुसार तलब नलगाड नगरपालिकाले कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने बताए।
आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीले बुधबार नगरपालिका र शिक्षा युवा तथा खेलकुद शाखामा तालाबन्दी गरी नगरपालिकामा एक घन्टा धर्ना गरे, पालिकाका कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न रोक लगाए।
त्यस्तै बिहीबार नगरपालिका घेराउ, शुक्रबार हातमा कालो पट्टी बाँधी नगरपालिकामा धर्ना, आइतबार पालिकाका सबै विद्यालय बन्द गर्ने, सोमबार पालिकाका सबै वडा कार्यालयमा ज्ञापनपत्र बुझाइ कामकाज ठप्प पार्ने र मंगलबार २८ गतेदेखि पालिका भित्रका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गर्ने नलगाड नगरपालिकाले गर्ने कुनै पनि कार्यक्रममा विद्यालयको सहभागिता नगर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको विद्यालय कर्मचारी डम्बर शाहीले बताए।
बजेट अभावले संघीय सरकारले पठाएको भन्दा छुट्टै तलब नगरपालिकाले थप्न नसकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए।
बालविकास शिक्षकले प्रतिमहिना ६ हजारका दरले तलब निकासा हुने गरेकोमा चालु आर्थिक वर्षमा बढेको दुई हजारसहित आठ हजार साउनदेखि बुझ्दै आएका छन्। तर उनीहरुले १५ हजार पाउनु पर्ने माग गरेका छन्। जिल्लाका भेरी नगरपालिका लगायत अन्य पालिकाले भने १५ हजारका दरले नै तलब भत्ता निकासा दिएका छन्।