शुक्रवार, चैत्र ४ २०७८
चैत ४, काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स) को परीक्षामा अब देखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ। आयोगले पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको हो ।
आयोगका अनुसार यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको आयोगले जनाएको छ । यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।

शिक्षक सेवा आयोगका उपसचिव एवम् सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय भएको जानकारी दिए । ‘उनले पहिलेको परीक्षा बोझिलो भएकाले सरलीकृत गर्नुपर्छ भन्ने उद्देश्य अनुसार यो निर्णय आयोगले गरेको जानकारी दिए।
शिक्षक सेवा आयोगले २०६१ सालदेखि टिचिङ लाइसेन्सको परीक्षा लिन थालेको हो । विगतमा प्रावि तहको पनि टिचिङ लाइसेन्स परीक्षाको व्यवस्था थियो ।
निमावि र मावि तहको परीक्षाको पाठ्यक्रम परिमार्जन गर्दा आयोगले प्राविबारे भने निर्णय गरेको छैन । त्यसको कारणबारे आयोगका सूचना अधिकारी मरहठ्ठाले भने, ‘निमावि र प्राविको शैक्षिक योग्यता एउटै छ । त्यसैले अहिलेलाई प्राविको लागि भनेर निर्णय भएन ।’