सोमवार, चैत्र ७ २०७८
चैत ७, काठमाडौ - मोरङको लेटाङ ५ मा एउटा सामुदायिक विद्यालयमा कक्षा ७ मा पढ्ने विद्यार्थी आफ्नै शिक्षकबाट बलात्कृत भएकी छिन् ।
जिल्लाको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. का सामाजिक विषय पढाउने मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रालाई जबरजस्ती करणी गरेको घटना बाहिर आएको हो।
उक्त घटना बाहिरिएसँगै चैत ६ गते आइतबार विद्यालय परिसर तनावग्रस्त बन्यो। अभिभावक तथा छिमेकी विद्यालयबाट गएका विद्यार्थीहरूसमेतले पीडितको पक्षमा र पीडक शिक्षकको विरुद्धमा नाराबाजी गरेका थिए । 
दोषी भनिएका शिक्षकलाई प्रहरीले सुरक्षा दिएर राखेको भन्दै आक्रोशित भीडले निजको मोटरसाइकल तथा विद्यालयमा समेत आगजनी गरेका छन् । उक्त घटनामा झडप हुँदा थुप्रै सर्वसाधारण र प्रहरी घाइते भएका छन् भने एकजना महिला सुरक्षाकर्मीको ज्यान समेत गएको छ। दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार राति अबेरसम्म पनि स्थानीयले नाराबाजी गरेका थिए। झडपका क्रममा मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसी सहितका प्रहरी घाइते भएका छन्।
लेटाङ ५ का वडाध्यक्ष भीम सूर्य मगरले दिएको जानकारी अनुसार स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र गाउँले बिहानैदेखि प्रदर्शनमा ओर्लिएका थिए।
दिउँसो एक बजेतिर ती शिक्षकलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरी टोलीले शिक्षकलाई नियन्त्रणमा लियो । तर, प्रहरीले आरोपित शिक्षकलाई बचाउन लगेको भन्दै गाउँलेले अवरोध गरे ।
त्यसैगरी स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर समेत गरेको थियो। स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ। तर, यसबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन।