Jul 27 2026 | २०८३, श्रावण ११ गते

गुणस्तर सुधार गर्न आमासंग शिक्षा बिमर्श ।

गुणस्तर सुधार गर्न आमासंग शिक्षा बिमर्श ।

  • 928
    SHARES

  • गुणस्तर सुधार गर्न आमासंग शिक्षा बिमर्श ।

    असार, २५ काठमाडौ ।काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयले विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका आमाहरुलाई बोलाएर आजदेखि बालबालिकाको शिक्षाबारे विमर्श सुरु गरेको छ । भनिन्छ बालबालिको पहिलो शिक्षक आमा हो । बालबालिकाले आमाको काखबाट नै पहिलो भाषा सिक्छ । समाज, संस्कार, बानी–व्यवहार र आचरण सिक्छन् । 

    नौ महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारमा अभिभावक, त्यसमा पनि आमाको अहं भूमिका हुने भन्दै बिद्यालयले आमाहरुलाइ बोलाएर बालबालिका शिकाइ तथा प्रभावकारिता बारे बिमर्श शुरु गरेको हो।

    विद्यालय र घरमा बालबालिका कसरी पढिरहेका छन् ? त्यसबारे अभिभावकसँग सामुदायिक विद्यालयमा कमै मात्रामा दोहोरो संवाद हुने अवस्थामा उक्त विद्यालयको निमन्त्रणालाई आमाहरुले सहर्ष स्वीकारेर शिक्षा सुधारको बिमर्शमा सामेल भएका जनाइएको छ।

    ‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने आदर्श वाक्य बोकेको यस ऐतिहासिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतम आमाहरु सक्रिय नभई विद्यार्थीले राम्रोसँग सिक्न नसक्ने पक्षलाई आत्मसात् गरेर चरणबद्धरुपमा आमाहरुको भेला आयोजना गरिएको र यो प्रयोगलाई निरन्तरता दिने बताए । “छोराछोरीले गृहकार्य गरेका छन् कि छैनन् भनेर नियमित हेर्दिनु । सफासुग्घरमा ध्यान दिन लगाउनु । विद्यालयले नबोलाए पनि समय समयमा आएर सोधपुछ गर्दिनु ।” आमाहरुसँगका अपेक्षा सुनाउँदै प्रधानाध्यापक गौतमले भने ।

    बालबालिका हुर्किएर विद्यालय जान थालेपछि उनीहरुको शैक्षिक उन्नयनका लागि अभिभावक विद्यालयप्रति विश्वस्त हुन्छन् । आमा–बाबा घर, व्यवसाय र कार्यालयका काममा व्यस्त हुनुपर्ने बाध्यता पनि छ । जाँगरिलो र पेसाप्रति प्रतिबद्ध शिक्षकले अभिभावककोे त्यो विश्वासलाई आफ्नो कर्तव्यमा रुपान्तरण पनि गरिरहेका हुन्छन् । विद्यालयको एक्लो प्रयासले विद्यार्थीको गुणस्तरीय शिक्षाको लक्ष्य पूरा हुन सक्दैन ।

    त्यसैगरी शिक्षाविद् प्रा डा विनयकुमार कुसियतले आफूले पढाइमा ढिलासुस्ती गर्दा आमाले सम्झाउने गरेको र त्यसबाट प्रेरित भएको हालै एक आलेखमा व्यक्त गरेका छन् । “बाबु तिम्रो पिताजीले शिक्षा आर्जन गर्न नसकेको परिणाम मैले भोगेँ । मेरो त्यो सपना तिमीबाट पूरा होस् भन्ने चाहान्छु ।” आमाका ती भनाइलाई डा कुसियतले सम्झनुमात्र भएको छैन, नयाँ पुस्ताका लागि प्रेरणा मिलोस् भनेर सार्वजनिक गरेका छन् । शैक्षिक गुणस्तर सुधारमा आमाहरुको त्यही भूमिकालाई विद्यालयले अनुभूत गर्ने गरी प्रयोग गराउन पहल हुन थालेको छ ।

    आमा समूहको बैठकमा सहभागी निर्मला खत्रीले यस प्रकारको बैठक विद्यालयमा पहिलो पटक भएको र यसमा बच्चाहरुको पढाइबारे शिक्षक र अभिभावकबीच दोहोरो संवादको अवसर मिलेको प्रतिक्रिया दिए । अभिभावक शिक्षक सङ्घकी सदस्य खत्रीका दुई सन्तान सोही विद्यालयमा अध्ययनरत छन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र (तुल्सीप्रसाद) अवस्थीले पढाइमा सुधार ल्याउन अभिभावलाई बोलाएर विद्यार्थीका समस्या बुझ्ने र समाधान गर्ने कोसिस भइरहेको बताए । पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा १ देखि ३ सम्म मन्टेश्वरी ढाँचामा सिकाइन्छ ।

    विद्यालयले खेल्दै सिक्दैको मान्यतालाई कार्यान्वयन गरेको छ । विद्यालयमा हाल पूर्वप्राथमिकदेखि कक्षा १० सम्म ४९० र कक्षा ११ र १२ मा ५७० विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारीतर्फ कक्षा १० सम्म ४२ र माथिल्लो कक्षामा २८ जना कार्यरत छन् ।

    आठ रोपनी जग्गामा फैलिएको सो विद्यालयले विद्यार्थीको चाप थेग्न कक्षा ६ देखि ९ सम्म भर्ना गर्नुपूर्व प्रवेश परीक्षा लिने गरेको छ । यस वर्ष ती कक्षामा ३५० जनाले प्रवेश परीक्षा दिएकामा १५० नयाँ विद्यार्थीलाई मात्रै भर्ना गरिएको प्रधानाध्यापक गौतमले जानकारी दिए । उनले पुरानो कमला भवन भूकम्पपछि पुनः निर्माण भइनसकेकाले भवन र शिक्षकको अभावका कारण आए जति विद्यार्थी लिन नसकिने बताए । केन्द्रीय सरकारको नमूना विद्यालयको अनुदान पाउने मापदण्डका लागि दुई रोपनी जग्गा नपुग्दा यस विद्यायले त्यस कार्यक्रममा आवेदन दिन पाएको छैन ।

    विसं २००३ मा स्थापित सो विद्यालयलाई काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा विज्ञानतर्फ नमूना बनाउने लक्ष्यसहित अनुदान दिन थालेको छ । उक्त रकम न्यून भएको विज्ञान प्रयोगशालाको पूर्वाधार निर्माणका लागि करिब रु एक करोडको जोहो गर्न विद्यालयले कसरत गरिरहेको छ । काठमाडौँ महानगरपालिकाका–२८ का अध्यक्ष भाइराम खड्गीले सो विद्यालयको पूर्वाधारका लागि सक्दो लगानी गर्न योजना तय गरिएको बताए । विद्यालयको भवनमा विभिन्न १४ वटा सटर भाडाबाट मासिक रु साढे पाँच लाख आम्दानी हुने गरेको छ । उक्त आयबाट पूर्व प्राथमिक तहलाई सवलीकरण र निजी स्रोतका शिक्षकको पारिश्रमिक दिने गरिएको छ । रासस

     

    images
    शनिवार, आषाढ २५ २०७९०७:२५:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार