बिहिवार, मंसिर १५ २०७९
मंसिर, १५ काठमाडौ ।विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरूको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकासका लागि प्रस्ताव आह्वान गरेको छ।
आयोगले शिक्षकको सिप, दक्षता, क्षमता अभिवृद्धिका लागि पुनर्ताजगीकरण, अनुसन्धान विधि तालिम, विद्वत्वृत्ति, अनुसन्धान सहायता, सामुदायिक क्याम्पसहरूलाई सञ्चालन तथा भौतिक विकास अनुदानलगायतका कार्यक्रमहरूका लागि आवेदन माग गरेको हो ।
आयोगले विभिन्न कार्यक्रमका लागि आयोगको कार्यक्रम कार्यविधि–२०७९ मा तोकेबमोजिमको ढाँचामा रही छुट्टाछुट्टै आवेदन र प्रस्ताव समयसिमा भित्र पेश गर्न सुचित गरेको छ ।
संस्थागत विकास अनुदान सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूका लागि नियमित अनुदान प्रदान गर्न पुर्व Online Data अनिवार्य रुपमा भरेको हुनुपर्ने छ। नियमित अनुदान प्राप्त गर्नका लागि न्यूनतम विद्यार्थी संख्या हिमाली जिल्लामा ५०, पहाडी जिल्लामा ७५, तराईका जिल्लामा १०० र काठमाडौं उपत्यकाभित्र १२५ जना हुनुपर्ने सूचनामा उल्लेख छ ।
त्यसैगरी भवन निर्माण अनुदानका लागि न्यूनतम विद्यार्थी संख्या हिमाली जिल्लामा ६०, पहाड़ी र तराई र भित्री मधेशका जिल्लामा १०० र काठमाडौं उपत्यका भित्र १४० जना हुनुपर्नेछ ।
अतिरिक्त क्रियाकलापका लागि संरचना विकास अनुदानअन्तर्गत यस अघि यस शीर्षकमा अनुदान प्राप्त नगरेका क्याम्पसहरूले प्रस्ताव पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।
विशेष अनुदान लिनका लागि औपचारिक रूपमा पठनपाठन सुरु भई दुई वर्ष पूरा गरेका र नियमित अनुदान प्राप्त नगरेका सामुदायिक क्याम्पसहरूले आवेदन दिन सक्नेछन् । भने त्यसको लागि न्यूनतम विद्यार्थी संख्या हिमाली जिल्लामा ५०, पहाडी जिल्लामा ७५, तराईका जिल्लामा १०० र काठमाडौं उपत्यकाभित्र १२५ जना हुनुपर्ने प्रावधान तय गरेको छ ।
