आइतवार, मंसिर १८ २०७९
मासिक एक सय रुपैयाँमा अङ्ग्रेजी माध्यममा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार हरिवंश आचार्य, समता शिक्षाका अभियन्ता उत्तम सन्जेल, समता ग्लोबल सिनेटका संयोजक डा. उत्तम गौली लगायत कयौँ कलाकार अभियन्ताहरूले समता स्कुलको सहयोगार्थ अमेरिकाका कयौँ सहरहरूमा कार्यक्रम गरे।
समता शिक्षा निकेतन कोभिड पश्चात् केही आर्थिक समस्याहरू बाट जुझेपछि संरक्षक तथा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले अमेरिकामा हुँदा मोर्गन स्टेटका प्रा. डा. उत्तम गौलीलाई भेटेर यो संस्था अन्तर्गत सञ्चालनमा रहेका ८१ स्कुलहरूको भविष्यको बारेमा चिन्ता प्रकट गर्दा डा. गौलीले समता ग्लोबल सिनेट गठनको अवधारणा अघि सारेका थिए। यही समता ग्लोबल सिनेटले समता स्कुलको सहयोगार्थ आयोजना मध्य नोभेम्बरमा बोस्टनमा 'बृहत् सुशोभन समारोह एवम् सांस्कृतिक कार्यक्रम' आयोजना गरेको थियो ।
प्रारम्भमा केही स्थानीय कलाकारहरूले प्रदर्शन गरेपछि सबैलाई मह जोडीको प्रस्तुतिको प्रतीक्षा थियो। यसै बिच उद्घोषकले मदन दाइ स्वास्थ्य अवस्थाका कारण प्रत्यक्ष उपस्थित हुन नसके पनि भिडियो सन्देश पठाएको भनेर स्क्रिनमा भिडियो सन्देश प्रसारण गरियो। मदन दाइले छोटकरीमा आफ्नो स्वास्थ्यले साथ नदिँदा नदिँदै पनि समता स्कुलको सहयोगार्थ अमेरिकाका केही सहरमा निरन्तर कार्यक्रम गर्दै आएको तर आज भौतिक रुपमा उपस्थित हुन नसकेकोमा क्षमा याचना मागे। तर हरिवंश आएको हुनाले हरि भाइ आफ्नो तर्फबाट पनि प्रस्तुति दिने भन्नुभयो। एक अर्का प्रतिको यही मायामा त मह को मिठास छ !
अनि " ईहिहिही उपस्थित सबैलाई म हरिबहादुरको नमस्कार छ है" भन्दै आफ्नो चरित्र हरिबहादुरको चरित्रझैँ मुख बङ्ग्याएर मञ्चमा आए हरिवंश आचार्य आउँदा सबै दर्शकले ताली बजाएर स्वागत गरे। ठट्यौली पाराले उनले उत्तम चाहिँ अनेक बच्चा पाउँदै छोड्दै (समता स्कुल खोल्दै) हिँडेकोले तीँ बच्चा हेर्ने जिम्मेवारी हामी सबैमा आएको भने। समता ग्लोबल सिनेटरहरूको सराहना गर्दै उनले आज अमेरिकामा पनि चुनाव लडेर नेपाली मूलका केही सिनेटर बनेका (ह्यारी भण्डारी) छन् तर समता सिनेटर बन्न चुनाव पनि लड्नु नपर्ने हुनाले अघि बढ्न अनुरोध गरे। सिनेटरको प्रसङ्गमा, बेलायतमा भारतीय मूलको हृशी प्रधानमन्त्री बनेको थप्दै, अमेरिकामा पनि सिनेटर हुँदै कुनै दिन नेपाली मूलको कोही फ्याट्ट राष्ट्रपति पो बनी हाल्छ कि ? त्यसले सबैलाई झ्याप्प बच्चा पाई हाल्न भने। दर्शक हाँस्दै थिए। उनले आफ्नै नाति पनि अमेरिकामा जन्मेको हुनाले एक दिन राष्ट्रपति बनी हाल्यो भने म नेपाली दर्शक माझ मात्रै नभई विश्व भरी चर्चित हुने भने। अनि हलिवुड हरिवुडमा रूपान्तरित हुने भने !
मञ्चमा हरि दाइले नेपाली नेताको कुर्सी छोड्नै नचाहने प्रवृत्तिलाई व्यङ्ग गर्दै आफ्नो गाईजात्रे "कुर्सी छोड्नै मन छैन अब के गरौँ" गीत प्रस्तुत गरे। त्यसपछि उनका सदाबहार "साझा बसमा" र "हाम्री आमा' जस्ता गीत गाउँदा कति दर्शक त स्टेज मुनी आएर नृत्य नै गर्न थाले। गीति कार्यक्रम पछि समता निकेतनका संस्थापक उत्तम सन्जेल र ग्लोबल सिनेटका संयोजक डा. उत्तम गौलीको छोटो वक्तव्य सहित औपचारिक कार्यक्रम समापन भयो।
अर्को दिन समता ग्लोबल सिनेटको सिनेटरको नाताले समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार हरिवंश आचार्य दाइ सँग एउटा नेपाली रेस्टुरेंट्मा भेटेर सँगै म:म: खाने अवसर प्राप्त भएको थियो। सबैले हरिवंश दाइ सँग सेल्फि र सामूहिक तस्बिर खिचेपछि म:म: खान एउटै टेबलमा बस्यौँ। मैले म ज्योतिषीको नाति हुँ र मलाई हस्तरेखा पढ्न आउँछ भनेपछि "चिना हराएको मान्छे"ले आफ्नो हात अघि सारे। 
हात हेर्दै गफ्फिदै गर्दा समता शिक्षाका अभियन्ता उत्तम सन्जेल र समता ग्लोबल सिनेटका संयोजक डा. उत्तम गौली पनि त्यही टेबलको अर्को पट्टी बसेर हेर्दै हुनुहुन्थ्यो। उत्तम सन्जेलले ठट्यौली पाराले, "हरि दाइको बारेमा त सबैलाई थाहा छ, हाम्रो बारेमा मिलाएर देखाउनु होस्" भनेर आफ्नो हात अघि सार्नुभयो। हरि दाइले उहाँको पनि हात सँगै सारी ठट्यौली पाराले सोधे, "सबै मेरो पछि लाग्छन्, म चाहिँ समता स्कुलको लागी यिनको पछि लागेर हिँडी रहेको छु, म पछि नलागे उत्तमले गाली गर्ला कि नगर्ला" । मैले दुवैको हात दाँजेर हेर्दा समाजसेवा, नेतृत्व क्षमता र उदार हृदय जनाउने रेखाहरू समान थिए। त्यो देखेपछि मैले भने, "तपाईँहरूको यो हृदयको तालमेल हो र समाज सुधारको लागी गठबन्धन, यो कहिल्यै टुट्ने छैन।"
सन्जेलको समता, मदनको ममता, हरिको हार्दिकतामा अब गौलिको ग्लोबल सिनेट पनि जोडिएको छ। गुणस्तरीय शिक्षालाई सर्व सुलभ बनाउन स्कुल निर्माणमा जुटेका समता शिक्षा निकेतनका प्रयास दिगो र सफल रहुन्, शुभकामना ।
(अमेरिकामा कार्यरत युवा वैज्ञानिक डा. जोशी समता ग्लोबल सिनेटका सिनेटर हुन्)