Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिकाइलाई विद्यालयको पर्खालभित्र मात्र केन्द्रित नगरौं : अभिषेक घिमिरे

सिकाइलाई विद्यालयको पर्खालभित्र मात्र केन्द्रित नगरौं : अभिषेक घिमिरे

  • 574
    SHARES

  • सिकाइलाई विद्यालयको पर्खालभित्र मात्र केन्द्रित नगरौं : अभिषेक घिमिरे

    ५ जेठ काठमाडौ। विषयमा प्रवेश गर्नुभन्दा पहिले म केही प्रश्न राख्न चाहान्छु I वास्तवमा आज मसंग कुनै जवाफ छैन-मात्र प्रश्न छन् ! आउनुहोस, संगै मिलेर मस्तिष्क मन्थन गरौँ अनि आफ्ना विचार प्रस्तुत गरौँ I

    समूह_क

    • एलन मस्क, जुकरबर्ग, बिल गेट्स, स्टिभ जब्स लगायतले उच्च शिक्षा नलिए पनि किन सफल बनेका होलान ?

    • कक्षा तीन भन्दा माथि औपचारिक शिक्षा नै नलिएका थोमस एडिसन कसरी विश्वका अब्बल वैज्ञानिक बन्न सफल भए ?

    • कुनै औपचारिक शिक्षा नलिएका कालिगढहरुले कसरी विश्वकै आश्चर्यजनक ताज महल बनाए ?

    • महाज्ञानी गौतम बुद्धले कहाँबाट औपचारिक शिक्षा लिए होला ?

    • हेर्दै लोभ लाग्दा मल्लकालीन कलाकृति बनाउने कालिगढ़ले कहाँबाट औपचारिक शिक्षा लिए होला ? अनि अरनिकोले कुन विश्वविद्यालय पढेर प्यागोडा शैली पुरै चीनमा फैलाए ?

    • यस्ता उदाहरण धेरै छन् I तपाइंले आफैंले देख्नु भएका वा भोग्नुभएका केही दृष्टान्तहरुका बारेमा एकछिन सोच्नुहोस I

    समूह_ख

    • अहिले हाम्रो कक्षाकोठामा को बढी स्मार्ट छन् : शिक्षक कि विद्यार्थी ?

    • यदि विद्यार्थी नै स्मार्ट छन् भने हामीले उनीहरूलाई सिकाउछौँ भनेर कसरी सोच्न सकेको होला ?

    • अनि अर्को कुरा, पचास वर्ष अगाडिको आउट डेटेड सोच, चिन्तन र प्रविधि प्रयोग गरेर अहिलेका अत्याधुनिक समयका बालबालिकालाई अबको ५० वर्ष पछाडिको प्रतिष्पर्धात्मक रोबोटिक्स युगका लागि हामीले कसरी तयार गराउन सक्छौं होला ?

    • अहिलेका बालबालिकाको लागि सूचनाको प्राथमिक स्रोत शिक्षक हो कि होइन ?

    • त्यसो हो भने अहिलेका बालबालिकाले सूचना र जानकारी कहाँबाट प्राप्त गर्दछन होला ?

    • यदि, शिक्षक सूचनाको प्राथमिक स्रोत होइन भने कक्षाकोठामा आफूले एकोहोरो बोलेपछि मात्र विद्यार्थीले सिक्छन भन्ने किन शिक्षकलाई लागेको होला ?

    • अबका शिक्षकको भूमिका के हो त त्यसो भए ?

    समूह_ग

    • विद्यालय तथा विश्वविद्यालय नै नभएको अवस्थामा सिकाइ कसरी हुन्थ्यो ?

    • २०० वर्ष अगाडिको विद्यालय नहुँदाको अवस्था र अहिले विद्यालय नहुँदाको अवस्थालाई तुलनात्मक रुपमा कसरी हेर्नुहुन्छ ?

    • अहिले विश्वमा सबै विद्यालय बन्द गर्नुपर्ने अवस्था आयो भने सिकाइ कसरी हुन्छ होला ?

    • गत वर्ष कोभिडका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको शैक्षिक गतिवधि कसरी अगाडि बढेको थियो ?

    • पुस्तक नै नभएको अवस्थामा सिकाइ कसरी हुन्छ होला ?

    • अबको ५० वर्षपछि विद्यार्थीको हातमा पुस्तक होला कि नहोला ?

    • अबको १०० वर्षपछि विद्यालयको स्वरूप कस्तो हुन्छ होला ?

    समूह_घ

    • विद्यार्थीले कम्प्युटर के हो भनेर किन घोक्नु परेको होला ? कम्प्युटरको Definition महत्वपुर्ण कि कम्प्युटर चलाउन जान्नु महत्वपूर्ण ?

    • What is Vector? भनेर पढ्ने विद्यार्थीलाई यसको प्रयोग कहाँ र किन हुन्छ भनेर प्रयोगात्मक रुपमा किन नसिकाइएको होला ?

    • Mensuration पढ्ने विद्यार्थीले आफ्नो कक्षाकोठामा कार्पेट बिछ्याउनु पर्यो भने कति मिटर चाहिन्छ भनेर किन नजानेको होला ?

    • वातावरण स्वच्छ राखौं भन्ने नारा लगाएर वातावरण दिवस मनाउन गएका विद्यार्थीले आफूले खाएका कुर्मुरे, चाउचाउ, पानीको बोतल किन बाटोमै फालेका होलान ?

    समूह_ङ

    • १८ -२० वर्ष आफ्नो जीवनको महत्वपुर्ण समय विद्यालय तथा विश्वविद्यालयमा खर्चिएर पनि स्नातकोत्तर गरेको युवा किन सीपविहीन अवस्थामा बेरोजगार बस्नु परेको होला ?

    • एमएस्सी गरेको एक युवाले आफ्नो घरको बिजुलीको फयुज बनाउन किन नजानेको होला ?

    • काठमाडौँको एक प्रतिष्ठित डाक्टरले दाइजो नल्याएका कारण आफ्नी श्रीमतीलाई पिटर मारेको समाचार किन आएको होला ?

    • केही दिन अगाडि पश्चिम नेपालमा कक्षा १२ का विद्यार्थी उतीर्ण गराउन भन्दै विद्यालयका प्रअ तथा शिक्षकले विध्यार्थीसंग किन पैसा उठाएका होलान ?

    • अनि चितवनमा परीक्षा हलमा चिट चोर्न नदिएको कारण एक विद्यार्थीले घरमा गएर आत्महत्या गरेको समाचार किन आएको होला ? कक्षा आठको परीक्षा फेल भएको कारण गत महिना झापाको एक विद्यार्थीले किन आत्महत्या गरेको होला ? परीक्षा फेल भएको कारण ७ वर्ष अगाडि पश्चिम महाकाली नदीमा ४ जना छात्राले किन सामुहिक आत्महत्या गर्नु परेको होला ?

    • फुटबल खेल्न पोख्त, नाच्न माहिर, गीत गाउन अब्बल विद्यार्थीले पृथ्वी नारायण शाहको जन्म मिति नआउँदा किन फेल हुनु परेको होला ?

    • यी माथिका सबै प्रसंगले हामी हाम्रो वास्तविक जीवन जिउनका लागि, त्यसको तयारीका लागि नभई परीक्षाका लागि मात्र पढ्ने रहेछौं भनेर बुझ्दा हुन्छ कि हुँदैन होला ?

    माथिका केही प्रश्नमा घोत्लिए पछि तपाइंको मनमा पक्कै पनि केही दृष्टिकोण वा विचार जन्मिएको हुनुपर्दछ I सबै प्रश्नको ठ्याक्कै यही नै जवाफ दिनुहोला भन्ने पनि लागेको छैन र तपाईंहरु सबैको धारणा समान नहुन सक्दछ I यद्यपी, तपाईं हामीले परम्परागत धरातलमा टेकेर सोच्दै गर्दा शिक्षामा केही परिवर्तन आवश्यक छ भन्ने पक्कै सोच्नु भएको हुनुपर्दछ I शिक्षकको भूमिका परिवर्तन हुनुपर्दछ भन्ने तपाइंलाई पनि लागेको हुनुपर्दछ I विद्यालयको भूमिका समय अनुसार बदलिँदो छ भन्ने पनि तपाईंलाई लागेको हुनु पर्दछ I पाठ्यक्रम, पाठ्यपुस्तक र विद्यालयको पर्खालभन्दा पनि सिकाइका लागि असीमित अवसर र स्रोत हुन सक्ने रहेछन भन्ने यहाँहरुलाई पनि लागेको हुनु पर्दछ I

    अब निस्कर्ष निकालौं ।

    माथिका पाँच समुहमा उल्लेख भएका सबै प्रश्नमा तपाइंले मन्थन गरेर निकालेका विचारका आधारमा तपाइंलाई के लाग्छ ?- सिकाइ विद्यालयको चार पर्खालभित्र मात्र सिमीत हुन्छ त ?

    लेखक शैक्षिक रुपान्तरणका लागी बृहत राष्ट्रिय शिक्षा अभियान नेपाल अभियानकर्ता हुन्।

    images
    शुक्रवार, जेठ ५ २०८००८:०३:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार