सोमवार, आषाढ २५ २०८०
असार, २५ काठमाडौ । दरवार हाइस्कुलमा कक्षा ११ को पठनपाठन सञ्चालन गर्न अनुमती पाएको छ। स्थापना कालको १ सय ७० वर्षपछि दरबार हाई स्कुलले चालु शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन गर्ने अनुमति पाएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको सरकारी शिक्षा सुधार गर्ने नीतिअन्तर्गत मेयरकै अध्ययक्षतामा बसेको शिक्षा समितिको निर्णयबाट मुलुकै जेठो विद्यालयलाई कक्षा ११ को पठनपाठनको अनुमति दिएको महानगर शिक्षा विभाग समुदायिक शिक्षा हेर्ने अधिकृत मोती भट्टराईले बताए। ‘दरबार स्कुलले कक्षा ११ पठनपाठन गराउन योग्य सबै मापदन्ड पूरा गरी पठनपाठनको निवेदन दिएको थियो।
यसपटक स्कुलले व्यवस्थापन विषय अध्ययन गराउने तयारी गरेको स्कुलकी प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिइन्। उहाँका अनुसार नेपालको जेठो स्कुलले २०८० साल साउनदेखि कक्षा ११ को पठनपाठन सञ्चालन अनुमति पाएलगत्तै विद्यार्थीमा उत्साह छाएको छ।
अत्याधुनिक भौतिक पूर्वाधार विज्ञानको प्रयोगशाला, कप्युटर ल्याब, रोबोटिक ल्याब, स्मार्टबोटबाट शिक्षण सिकाइ, कक्षा तीनसम्म मन्टेश्वरी विधिबाट शिक्षण सिकाइ, ग्रेड शिक्षण सिकाइ तथा अतिरिक्त क्रियाकलापले यस स्कुलमा शैक्षिक गुणस्तर कायमा हुँदै गएको छ। यसो हुदा स्कुलले अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको प्रअ पौडेलले गर्वसाथ बताइन्।
कक्षा ११को पठनपाठनको अनुमति स्कुलले पाउँदा शिक्षक, विद्यार्थी र अभिभावक निकै उत्साहित हुनुभएको छ,’ पौडेलले भनिन्, ‘हामीसँग कक्षा १० सम्म चलेको छ। कुल शिक्षक दरबन्दी २४ मध्ये ८ मावि तहका हुनुहुन्छ। कक्षा ११ मा व्यवस्थापन पढाउने जमर्को गरेका छौं। शिक्षक व्यवस्थापन चुनौती छ। तर हामी आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नतर्फ जोड दिएका छौं' प्र.अ. पौडेलले भन्नूभयो।
२०७२ सालको महाभूकम्पबाट पूर्ण क्षति भएको यस स्कुलाई चीन सरकारले अत्याधुनिक सेवासुविधा सम्पन्न भवन बनाइदिएपछि विद्यार्थी संख्या पनि ह्वात्तै बढेको छ। जंगबहादुर राणाका पाला आफ्नै परिवारका छोराछोरी भाइभतिजालाई प्रारम्मिक शिक्षा प्रदान गर्नं १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा स्कुल खोली वैधानिक रूपमा शिक्षाको सुरुवात भएको थियो।
बबरजंगको पालामा दरबार स्कुल प्राविबाट निम्न मावि बन्यो। दरबार हाइ स्कुल भन्ने नामबाटै यसको सम्बन्धन विसं १९३६ मा कलकत्ता विश्वविद्यालयसँग कायम गरिएको थियो। ‘विसं १९२४ सालबाट दरबार स्कुलको नाम परिवर्तन भई भानु मावि राखिएको इतिहास छ,’ प्रअ पौडेलले भनिन्, ‘विसं १९४८मा यस स्कुलले रानीपोखरी अगाडि ७ रोपनी २ आना १ दामा आफनौ जग्गा पायो। विसं १९५७/५८ देखि सर्वसाधारणका लागि शिक्षा उपलब्ध गराउन थालेको हो।’ सो स्कुलबाट पहिलोपटक एसएलसी विसं १९९० बाट दिन सुरु भएको थियो।