आइतवार, माघ १४ २०८०
माघ, १४ गते काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदका लागि दर्खास्त आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो।
दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएको हुनुपर्ने छ।
साथै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिले दर्खास्त दिन सकिने सूचनामा उल्लेख छ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा दर्खास्त दिन सकिने मन्त्रालयले जानकारी दिएको छ।
यसअघि एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरूषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि नवराज अधिकारीलाई कार्यवाहक तोकिएको छ।
