बुधवार, श्रावण ६ २०८३
काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले सरकारले स्थायी पदपूर्ति रोक्ने निर्णयको विरोध गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले "पहुँच भए खाउ युवा, स्वकीय सचिव खाउ, लोकसेवा भिड्ने भए, भर्ना छैन जाउ।" लगायतका नारासहित सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका थिए।

उनीहरूले २०८३ साल साउन ४ गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकको निर्णयको बुँदा नम्बर ११ तत्काल खारेज गर्न माग गरेका छन्। उक्त निर्णयका कारण सरकारी कार्यालयहरूमा स्थायी पदपूर्ति प्रक्रिया प्रभावित हुने र लोकसेवा आयोगमार्फत नियमित रूपमा खुल्नुपर्ने विज्ञापन रोकिँदा हजारौं तयारीरत युवाको भविष्य अन्योलमा पर्ने उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले योग्य युवालाई खुला प्रतिस्पर्धाबाट सरकारी सेवामा प्रवेश गर्ने अवसर सुनिश्चित गर्न सरकारसँग नियमित पदपूर्ति प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। उनीहरूले निर्णय फिर्ता नभए आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।