सोमवार, माघ १५ २०८०
काठमाण्डौ – नेपालकै जेठो त्रिभुवन विश्वविद्यालयको ७४औं बर्षमा पहिलो पटक अनलाइन सेवा (अनलाइन प्रणालीमार्फत प्रमाणपत्र दिने कार्य) शुरु गरेको छ। एक कार्यक्रमका बिच बिश्वबिद्यालयले आज माघ १५ गते देखि परिक्षा सम्बन्धी सीआ अनलाइनमार्फत दिन शुरु गरेको हो।
अनलाइन सेवाको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान शुरु भएको बताउनुभयो । यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुमा रहेको कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो ।
अनलाइन सेवा शुरु भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउने जस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् । सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट tuexam.edu.np मा लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिनसक्ने छन्।
चौबिसैँ घन्टा चल्ने सो प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको उक्त निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन् । अपलोड भएका प्रमाणपत्र अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाइ सच्याएर वा नपुग विवरण राखेर पुनःआवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ ।
निवेदनमा सबै प्रमाण पुगेको वा मिलेको छ भने निवेदन दिएको एक हप्ताभित्र प्रमाणपत्र तयार हुने परीक्षा नियन्त्र पुष्पराज जोशीले बताउनुभयो । तयार भएको प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी काठमाण्डौ उपत्यकाको हकमा परीक्षा नियन्त्रण कार्यालय बल्खुमै जानुपर्नेछ ।
पहिलो चरणमा उपत्यका बाहिरका विद्यार्थीले भने प्रमाणपत्र लिनका लागि सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय जानुपर्ने हुन्छ । तर दोस्रो चरणमा सम्बन्धित क्याम्पसमै उपलब्ध गराउने तयारी छ । अबको एक महिना अनलाइन र आफैँ बल्खु आएर निवेदन दिनेगरी दुईवटै प्रणाली राख्ने त्रिविले जनाएको छ । अनलाइन सेवामा २०५४ सालपछिका प्रमाणपत्रको काममात्र समेट्ने जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो ।