शुक्रवार, माघ २६ २०८०
माघ, २६ गते काठमाडौँ–त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिने उमेदवारको सर्ट्लिष्ट सार्वजनिक गरेको छ। बिश्वबिद्धालय उपकुलपति छनौट समितिको बिहिबार साँझ बसेको बैठकले १४ जनाको नाम सार्वजनिक गरेको हो।
खुला प्रतिस्पर्धाबाट दर्खास्त दिएका ४३ जनाले बुझाएको सोच पत्र, ४ वर्षीय व्यावसायिक योजना, अनुभव, पुस्तक प्रकाशन, अनुसन्धानको मुल्याङकनको आधारमा छनौट समितिले सर्टलिष्ट निकालेको जनाइएको छ। छनौट समितिले मुल्याङकनमा खटिएका तीन जना विज्ञले दिएको अंकको आधारमा सर्टलिष्ट निकालेको हो ।
शिक्षा मन्त्री अशोक राई संयोजक रहेको छनौट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य छन् । मन्त्री राई शुक्रवार निर्वाचन क्षेत्र जाने भएपछि बिहीबार सटलिष्ट निकालेको बताइएको छ।
त्रिविको उपकुलपतिको प्रतिस्पर्धामा सहभागी ४३ जनाले दिएको आवेदन, सोच पत्र र कार्य योजना ३ जना विज्ञबाट परीक्षण गराएर पाएको औसत अंकमध्ये उत्कृष्ट १५ जनाको सर्ट लिस्ट सार्वजनिक गर्न गरेको जानकारी दिइएको छ । अब सर्ट लिस्टमा परेकाहरूले मात्रै अन्तर्वार्ता र कार्य योजनाको प्रस्तुतीकरण गर्नेछन् । प्रस्तुतिपछि ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्रीलाई सिफारिस हुनेछ ।
यसअघि उपकुलपति छनौट लागि बनाइएको कार्यबिधीमा प्राध्यापक पदमा कार्य अनुभवमा १०, विद्यावारिधि उपाधिमा ५, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेकोमा ४, प्राज्ञिक एवं अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेबापत ५ अंक दिने उल्लेख गरिएको थियो। त्यस्तै सोचपत्र र चारववर्षीय व्यावसायिक कार्ययोजनाबापत ३५, प्रस्तुतीकरणमा २० र अन्तर्वार्तामा १५ अंक छुट्याइएको छ।