बिहिवार, फाल्गुण २४ २०८०
फागुन, २४ गते मकवानपुर । बागमती प्रदेश सरकारले “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले चालू आव. २०८०-८१ को बर्गिकृत स्वीकृत कार्यक्रम अनुरुप सामुदायिक बिद्यालयमा काम गर्ने गरि करारमा अएवामा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।
निर्देशनालयका अनुसार विद्यालय नर्स पाँचौँ तहको पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेदवारले एक स्थानीय तहमा मात्र आवेदन दिनु पर्नेछ निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको वेबसाइटमा रहेको दर्खास्त फारम भरी निर्देशनालय सहित प्रदेशका १३ जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा आगामी चैत १४ गतेसम्म कार्यालय समय भित्र बुझाउन भनिएको छ ।
