Jul 27 2026 | २०८३, श्रावण ११ गते

सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिका सन्तान सामुदायिक स्कुलमै पढ्नुपर्ने

सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिका सन्तान सामुदायिक स्कुलमै पढ्नुपर्ने

  • 458
    SHARES

  • सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिका सन्तान  सामुदायिक स्कुलमै पढ्नुपर्ने

    चैत, २९ गते । अछामको तुर्माखाँद गाउँपालिकाले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिका सन्तान सामुदायिक स्कुलमै पढाउनुपर्ने नीति लिएको छ।

    गाउँपालिकाले सरकारी विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पालिकाका सबै जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति लिएपछि अब गाउँपालिकामा सार्वजनिक पदधारण गरेका सबैले आगामी शैक्षिक सत्रदेखि आफ्ना छोराछोरीलाई बोर्डिङमा भर्ना गर्न पाउने छैनन् ।

    गाउँपालिकामा ५१ सामुदायिक विद्यालय छन्, जसमा अध्ययन गर्ने छात्रछात्राको संख्या नौ हजार रहेको छ। हाल अधिकांस विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षका छोराछोरी अहिले पनि निजी स्कुलमै पढ्छन् । तर पालिकाले बनाएको नितिका कारण सामुदायिक बिद्यालयमा पढाउनुपर्ने भएको छ।

    सामुदायिक विद्यालयप्रति घट्दो जनविश्वास बढाएर तुर्माखाँद गाउँपालिकालाई देशकै नमुना शैक्षिक हब बनाउने लक्ष्यसहित योजना ल्याएपछि सबैका सन्तानले समान शिक्षा पाउने र सामुदायिक विद्यालयको समेत गुणस्तर बढ्ने विश्वास गरिएको छ ।

    पालिकाले गरेको निर्णय अनुरुप गाउपालिका अध्यक्ष डम्बरबहादुर बिसीले बोर्डिङ स्कुल भर्ना गरेका आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने तयारी थालेका छन् । यस संगै अध्यक्ष डम्बरबहादुर बिसीले सरकारी कर्मचारी, शिक्षकदेखि जनप्रतिनिधिसम्मका छोराछोरी अबदेखि अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने, यदि सार्वजनिक पदधारण गरेकाका छोराछोरी निजी स्कुलमा भर्ना गरेको भेटिए त्यस्ता व्यक्तिको तलब, भत्तालगायत सेवासुविधा रोकिने बताए ।

    सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै जाने र निजी विद्यालयमा पढाउन अधिकांश मानिस सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौं बसाइँ सर्ने क्रम बढेपछि गाउँ रित्तिन थालेकाले पनि शैक्षिक सुधारसँगै गाउँको जनसंख्या घट्न नदिन यो नीति लिएको उनको भनाइ छ ।

    त्यसैगरी शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यका साथ तुर्माखाँदका सरोकारवालाले यसअघि तीन दिनसम्म कार्यशाला गरेर शैक्षिक सुधारकै लागि भनेर १८ बुँदे प्रतिबद्धता जारी गरेका थिए । जसमा विद्यालयमा दलगत संगठन खोल्न नपाइने, प्रत्येक विद्यार्थीका नाममा निःशुल्क बैंक खाता खोल्ने र स्थानीय पाठ्यक्रम लागू गर्नेलगायत छन् ।

    गत १२ पुसमा बसेको कार्यपालिका बैठकले नीति नै पास गरेर सार्वजनिक पदधारण गरेकाका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय गरेपछि अहिले सूचना जारी गरेर सबैलाई सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न आह्वान गरिएको छ ।

    images
    बिहिवार, चैत्र २९ २०८००७:४६:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार