शुक्रवार, बैशाख २१ २०८१
बैशाख, २१ गते काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउदै प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा लाग्न उपकुलपतिहरूलाई निर्देशन दिनुभएको छ।
हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूसंग सिंहदरबारमा गर्नुभएको भेटका क्रममा प्रधानमन्त्री 'प्रचण्ड'ले आफूले उपकुलपति यस्तो निर्देशन दिनुभएको हो।
नवनियुक्त उपकुलपतिहरुले नियुक्तिपत्र बुझेसंगै भएको भेटका अवसरमा प्रधानमन्त्रीले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न उपकुलपतिहरुलाइ निर्देशन दिनुभयो । “विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्य गरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “यहाँहरूको नियुक्ति पनि सोहीअनुसार भएको हो, आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ” ।
प्रधानमन्त्री 'प्रचण्ड'ले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई निर्देशन दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा हेमराज पन्त उपकुलपतिमा नियुक्त हुनुभएको छ।