बुधवार, श्रावण ३० २०८१
साउन, ३० गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायले स्नातक तह अन्तर्गत चार वर्षे बि.एड प्रथम वर्षमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले शैक्षिक वर्ष २०८१/०८२) का लागि वार्षिक प्रणालीमा आधारित चार वर्षे बि.एड. प्रथम वर्षका लागि आवेदन माग गरेको हो ।
शिक्षाशास्त्र संकायका विभिन्न विषय कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरुले श्रावण २८ गतेदेखि भाद्र मसान्तसम्म आवेदन फाराम बुझाउन सक्नेछन्। साथै असोजदेखि कक्षा सञ्चालन हुने, २०८२ बैशाखमा अन्तिम परीक्षा फाराम भराउने, २०८२ जेठमा कक्षा समाप्त हुने,२०८२ असारमा अन्तिम परीक्षा सञ्चालन हुने र २०८२ असोजमा नतिजा प्रकाशन गरिने कार्यतालिका सहित विश्वविद्यालयले सार्वजनिक गरेको छ ।
आवेदनका लागि विद्यार्थीले चाहेको प्रत्येक विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्ने, आवेदनसाथ हालसालै खिचेको पासपोर्ट साइजको फोटो, सम्बन्धित विद्यार्थीको अघिल्लो परीक्षाको ट्रान्स्क्रीप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्ने विश्वविद्यालयले जनाएको छ ।
