मंगलवार, मंसिर १८ २०८१
मंसिर, १८ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित क्याम्पसबाटै मार्कसिट प्रिन्ट गर्ने व्यवस्था मिलाएको छ। त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलय, बल्खुबाट प्रवाह गर्ने सेवालाई क्रमशः विकेन्द्रीकरण गर्दै लैजाने अवधारणा अनुरूप मार्कसीटहरू सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्न सकिने व्यवस्था मिलाएको हो ।
विश्वविद्यालयका अनुसार हाललाई २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहरूको प्रकाशित नतिजाको मार्कसिट डिजिटल सिग्नेचरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको जानकारी दिइएको छ।
मंसिर १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको मार्कसिट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलको रिजल्ट मेनु छनोट गरी मार्कसिट विकल्पमा गएर प्रिन्ट गर्न गरेर विद्यार्थीलाई उपलब्ध गराउन अनुरोध गरेको छ । साथै सम्बन्धित विद्यार्थीहरूले आफ्नो नतिजा सम्बन्धित क्याम्पसबाट पनि जानकारी लिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले यसअघि क्षेत्रीय कार्यालयहरूबाटै कापी परीक्षणको व्यवस्था मिलाएको थियो । क्षेत्रीय कार्यालयहरूबाट कापी परीक्षण गर्ने र त्यसको नतिजा कार्यालयमा पठाउने व्यवस्था मिलाएसँगै नतिजा प्रकाशन सहज बन्दै गएको छ । त्रिविले हाल परीक्षा सम्पन्न भएको ९० दिनभित्रमा नतिजा प्रकाशन गरिसक्ने नीति ल्याएको छ ।
यस्तो छ सूचना
