शनिवार, बैशाख १३ २०८२
पनौती नगरपालिकाले केही समय यता शिक्षक-शिक्षिकाहरु विद्यालयमा नियमित उपस्थित नभएको भन्दै त्यस्ता शिक्षकको खाईपाई आएको सेवा सुबिधा कटौती गर्ने चेतावनी दिएको छ।
पनौती नगरपालिका वाडा नम्बर १ ले एक सुचना जारी गर्दै शैक्षिक सत्र २०८२ मा विद्यार्थीहरुको नयाँ भर्ना गरी पढाइ सञ्चालन भइरहेको तर शिक्षक-शिक्षिकाहरु विद्यालयमा नियमित नभएको भन्दै यस्तो सूचना जारी गरेको हो।
शिक्षक-शिक्षिकाहरुबाट आफ्नो जिमोवारी बोध गर्दै दैनिक कार्य तालिका (रूटिन) अनुसार पूरा पिरियड कक्षामा बसी आफ्नो विषयवस्तुको नियमित अध्यापन गर्नु गराउन निर्देशन दिएको छ। अभिभावक वर्गको गुनासो र स्थानीय तहको विद्यालय सञ्चालन गर्नु, गराउनु पर्ने जिम्मेवारी अनुसार शिक्षक नियुक्ति पत्रको आचरणमा रहन समेत अनुरोध छ।
पालिकाले भनेको छ, 'यदि कुनै पनि शिक्षकले अन्यत्र गई विद्यार्थीहरुको पठन पाठनमा लापरवाही गरेको पाइएमा, विदा स्वीकृत नगरी विद्यालय अनुपस्थित भएमा गयल भएको मानी खाईपाई आएको सेवा सुविधा कटौती हुने तथा नियमानुसार कार्यवाही समेत हुने जानकारी गराइन्छ ।'
बिगतमा गरिएका सम्झौता सहित शिक्षा ऐन जारी गर्न भन्दै शिक्षकहरु काठमाडौँ केन्द्रित शैक्षिक हडताल गरिरहेका छन।
