Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिम विश्वविद्यालय : सम्भावना र चुनौतीहरू

सुदूरपश्चिम विश्वविद्यालय : सम्भावना र चुनौतीहरू

  • 993
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालय : सम्भावना र चुनौतीहरू

    सुदूरपश्चिम विश्वविद्यालय सन् २०१० मा संसदको ऐनमार्फत स्थापना गरिएको एक संघिय विश्वविद्यालय हो, जुन सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिकामा अवस्थित छ। विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, अनुसन्धानमा आधारित शिक्षा, सामुदायिक संलग्नता र रणनीतिक साझेदारीहरूलाई प्रवर्द्धन गर्दै नेपालमा एक अग्रणी शैक्षिक केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ। “शिक्षा सबैको अधिकार हो र सबैका लागि सहज पहुँच हुनुपर्छ” भन्ने मूल मान्यताका आधारमा, विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा आङिक क्याम्पसहरू सञ्चालनमा ल्याएको छ। हाल यस विश्वविद्यालयअन्तर्गत १५ वटा आङिक क्याम्पस र ३२ वटा सम्बन्धन प्राप्त क्याम्पसहरू देशभरी सञ्चालनमा रहेका छन्, जसका कारण सुदूरपश्चिम विश्वविद्यालय देशको दोस्रो ठूलो विश्वविद्यालयको रूपमा स्थापित भएको छ। मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि, कानुन, प्राकृतिक स्रोत व्यवस्थापन र स्वास्थ्य विज्ञान गरी नौवटा संकायअन्तर्गत स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तहका कार्यक्रमहरू सञ्चालन गर्दै आएको यो विश्वविद्यालयले पाठ्यक्रम नवप्रवर्तन, शिक्षण पद्धतिमा सुधार, शैक्षिक विस्तार, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यमा समेत विशेष प्राथमिकता दिएको देखिन्छ।

    यद्यपि विश्वविद्यालयले अनुसन्धान तथा शैक्षिक उत्कृष्टताको केन्द्र बन्ने उद्देश्यका साथ आफूलाई अघि बढाइरहेको छ, संस्थाभित्र व्याप्त व्यवस्थापकीय कमजोरी, गैरजिम्मेवारी प्रशासनिक कार्यशैली, राजनीतिक हस्तक्षेप, पारदर्शिताको अभाव, कर्मचारी र प्राध्यापकहरुको करार नियुक्ति जस्ता व्यथिति तथा विकृतिहरू अझै पनि यथावत छन्। विश्वविद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक सुधार र प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको हकहित सुनिश्चितताको सवाल अहिले गम्भीर बहसको केन्द्रमा छ। यदि सुदूरपश्चिम विश्वविद्यालयले देशको अग्रणी शैक्षिक केन्द्र बन्ने सपना साकार पार्न चाहन्छ भने संस्थागत सुधार, उत्तरदायित्व, जवाफदेहिता, निष्पक्षता र समावेशीताको आधारमा सम्पूर्ण पक्षलाई समेटेर शुद्धिकरण प्रक्रिया अघि बढाउन अपरिहार्य देखिन्छ। गुणस्तरीय, समावेशी र उत्तरदायी शैक्षिक वातावरणको निर्माण गर्दै दीर्घकालीन दिगो विकासमा विश्वविद्यालयले सशक्त भूमिका खेल्न सक्ने सम्भावना उच्च छ।

    शैक्षिक सुधारका आयामहरू

    गुणस्तर शिक्षाको आधारभूत अवयवका रूपमा अनुसन्धान, शैक्षिक छलफल, पाठ प्रस्तुतीकरण, पुस्तक समीक्षा, सेमिनार तथा प्रस्तुतीकरण कार्यक्रमहरूको नियमित अभ्यास अपरिहार्य छ। यी क्रियाकलापले विद्यार्थी तथा शिक्षक दुवैमा आलोचनात्मक सोच, अभिव्यक्ति कौशल र अनुसन्धान क्षमताको विकास गर्दछ। शिक्षण सिकाइ प्रक्रियालाई सशक्त बनाउनका लागि प्रस्ताव लेखन तथा अनुसन्धान लेखनसम्बन्धी तालिमहरू सञ्चालन गर्नु आवश्यक छ, जसले विद्यार्थीहरूलाई अनुसन्धानको प्रविधि र प्रवृत्तिमा दक्ष बनाउँछ। साथै, सिकाइ प्रक्रियामा विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु अत्यन्त जरुरी छ, जसले उनीहरूको सिर्जनशीलता, आत्मविश्वास र उत्तरदायित्वको भावना अभिवृद्धि गर्छ।

    शैक्षिक उत्कृष्टताका लागि शैक्षिक अवलोकन प्रणाली पनि अत्यन्तै महत्वपूर्ण छ, जसमा हेल्प डेस्क, परामर्श केन्द्र र शैक्षिक भ्रमणजस्ता कार्यक्रमहरूको विशेष भूमिका रहन्छ। यस्ता सहायक संयन्त्रहरूले विद्यार्थीहरूलाई समयमै आवश्यक मार्गदर्शन, मानसिक सहयोग र व्यावहारिक ज्ञान प्राप्त गर्न सहयोग पुर्‍याउँछन्। साथै, शैक्षिक स्रोतहरूको सहज पहुँच सुनिश्चित गर्न पुस्तकालय, ई-लाइब्रेरी र डिजिटल सामग्रीहरूको उपयुक्त व्यवस्थापन अनिवार्य छ। यसको अतिरिक्त, स्थानीय सन्दर्भमा आधारित, रोजगारीमुखी र स्वदेशमुखी पाठ्यक्रम विकासका प्रयासहरू शिक्षालाई अझ सान्दर्भिक, व्यावहारिक र दीगो बनाउने दिशामा टेवा पुर्‍याउँछन्। यस्ता समावेशी तथा नवीनतम शैक्षिक अभ्यासहरूले मात्रै गुणस्तर शिक्षाको सुनिश्चितता सम्भव हुन्छ।

    प्रशासनिक सुधारका पक्षहरू

    सुदूरपश्चिम विश्वविद्यालयलाई एक उत्कृष्ट शैक्षिक तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न योग्यता, पारदर्शिता र जवाफदेहिताको सिद्धान्तमा आधारित प्रशासनिक सुधार अनिवार्य छ। विश्वविद्यालयभित्र पदपूर्ति प्रक्रियामा खुला प्रतिस्पर्धाको व्यवस्था गर्दै योग्यता आधारित नियुक्ति प्रणाली लागू गर्नुपर्छ। यसले संस्थागत राजनीतिक हस्तक्षेपलाई नियन्त्रण गर्दै दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउँछ। पारदर्शी र राजनीतिमुक्त प्रशासनको स्थापना बिना विश्वविद्यालयको दूरगामी प्रगति सम्भव छैन। अनुगमन, मूल्यांकन र बजेटको प्रभावकारी तथा पारदर्शी प्रयोगमार्फत उत्तरदायी प्रशासनको खाका निर्माण गर्न सकिन्छ, जसले संस्थाको विश्वसनीयता अभिवृद्धि गर्न मद्दत गर्दछ।

    संस्थागत पारदर्शिता प्रवर्द्धन गर्न डिजिटल सूचना प्रणालीको विकास र सहजिकरण कक्षको स्थापना अत्यावश्यक छ। यसले सूचना प्रवाहलाई सहज बनाउँछ र विद्यार्थी तथा सरोकारवाला सबैका लागि पहुँचयुक्त वातावरण सिर्जना गर्दछ। विश्वविद्यालय प्रशासन र विद्यार्थी समुदायबीच समन्वय संयन्त्र विकास गरी संवादमैत्री संरचना निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो। साथै, विश्वविद्यालयका हरेक प्रशासनिक निर्णय प्रक्रियामा सबै सरोकारवालाको सहभागीता सुनिश्चित गर्नु लोकतान्त्रिक अभ्यासको आधार हो, जसले विश्वविद्यालयलाई अझ उत्तरदायी, समावेशी र दिगो बनाउँछ।

    विद्यार्थी सशक्तीकरण र हकहित

    विद्यार्थीको नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि विश्वविद्यालयमा Leadership Grooming Forum को स्थापना तथा Sport, Literature, Reading, Writing, Debate लगायतका क्लबहरूको सुदृढीकरण अत्यावश्यक छ। यस्ता गतिविधिले विद्यार्थीहरूलाई आत्मविश्वासी, उत्तरदायी र सामाजिक रूपमा सक्रिय बनाउन मद्दत पुर्‍याउँछन्। त्यस्तै, शैक्षिक पाठ्यक्रमसँगै व्यवहारिक सीपको विकासका लागि Internship, Learn and Earn कार्यक्रम, शेयर बजार सम्बन्धी तालिमजस्ता अभ्यासमुखी व्यवस्थाको आवश्यकता देखिन्छ। यस्ता कार्यक्रमले विद्यार्थीलाई श्रमप्रतिको सम्मान, आर्थिक आत्मनिर्भरता र वास्तविक जीवनसँगको सम्बन्ध सिकाउने कार्य गर्छन्।

    विद्यार्थीको शारीरिक, मानसिक र भावनात्मक सशक्तिकरणका लागि नियमित स्वास्थ्य परीक्षण, प्रेरणादायी कक्षा, उद्धार टोलीको गठन तथा योग र ध्यान कार्यक्रम सञ्चालन गर्नुपर्छ। यी पहलहरूले विद्यार्थीमा आत्मअनुशासन, मानसिक सन्तुलन र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याउँछन्। साथै, छात्रवृत्तिमा वृद्धि, शुल्क नीतिमा पारदर्शिता, पोषणयुक्त भोजन र स्वच्छताको प्रवर्द्धनले विद्यार्थीको समग्र विकासमा योगदान पुर्‍याउँछ। जातीय तथा लैंगिक विभेदविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै समावेशी र मैत्रीपूर्ण शैक्षिक वातावरण निर्माण गर्नु पनि समयानुकूल आवश्यकता हो, जसले सबै विद्यार्थीमा समान अवसर र आत्मसम्मानको अनुभूति गराउँछ।

    प्रविधि, संरचना र पूर्वाधार विकास

    डिजिटाइजेसनले शैक्षिक वातावरणलाई आधुनिक र समावेशी बनाउने सम्भावना बोकेको छ। विद्यार्थीहरूका लागि डिजिटल मञ्च, पोडकास्ट, ब्लग, अनलाइन बहस जस्ता प्रविधिमैत्री गतिविधिहरू सिर्जनशीलता, आलोचनात्मक चिन्तन, विचार आदानप्रदान तथा नेतृत्व सीपको विकासमा सहयोगी बन्न सक्छन्। यस्ता अभ्यासहरूले विद्यार्थीलाई सामाजिक, शैक्षिक र वैचारिक रूपमा सशक्त बनाउने सम्भावना बोकेको भए पनि यसको सफल कार्यान्वयनका लागि प्राविधिक दक्षता, सुदृढ पूर्वाधार, समुचित तालिम र निरन्तर निगरानी अपरिहार्य देखिन्छ। केवल प्रविधिको प्रयोगले मात्र शिक्षाको गुणस्तर वृद्धि हुँदैन, त्यो शिक्षणको दर्शन, समावेशी नीति र प्रयोगशिल अभ्याससँग जोडिनुपर्छ।

    भौतिक पूर्वाधारको सुधारले शैक्षिक वातावरणलाई सुरक्षित, सहज र सबैका लागि पहुँचयोग्य बनाउँछ। अपांगमैत्री संरचना, सोलार जडान, पर्याप्त फर्निचर र कक्षाको मर्मत–सम्भारजस्ता कार्यहरू विश्वविद्यालयको भौतिक गुणस्तर उकास्ने मूल आधार हुन्। कम्प्युटर ल्याबको स्थापना र आधारभूत कम्प्युटर तालिमले विद्यार्थीमा प्रविधिसम्बन्धी सीप विकास गर्छ, जसले डिजिटल शिक्षाको पहुँचलाई व्यापक बनाउँछ। यस्तै, रक्तदान अभियान र सामाजिक सचेतनामूलक कार्यक्रमहरू (जस्तै: महिला हिंसा, बालविवाह, छाउपडी प्रथा, लागुऔषध दुरुपयोगविरुद्धका अभियान) विश्वविद्यालयको सामाजिक उत्तरदायित्व र जागरूक नागरिक निर्माणतर्फको संलग्नता दर्शाउँछन्। यस्ता गतिविधिहरूले विश्वविद्यालयलाई मात्र होइन, सम्पूर्ण समाजलाई नै सकारात्मक दिशातर्फ अघि बढाउने योगदान पुर्‍याउँछन्।

    विश्वविद्यालय स्तरमा आवश्यक व्यापक सुधार :

    नियुक्ति प्रक्रिया र प्रशासकीय सुधार

    सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाकालदेखि नै विभिन्न आङिक क्याम्पसहरूको समायोजन गर्ने प्रयास गर्दै आएको भए पनि यो प्रक्रिया अझैसम्म पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। समायोजन प्रक्रिया अधुरो रहँदा विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा अनुसन्धानसँग सम्बन्धित गतिविधिहरू अन्योलग्रस्त बन्दै गएका छन्। लामो समयदेखि कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू अझै आवश्यक सेवा सुविधाबाट वञ्चित छन्। यद्यपि विश्वविद्यालयमा सेवा आयोगको व्यवस्था छ, तर आन्तरिक रूपमा करार तथा अस्थायी प्राध्यापक र कर्मचारी नियुक्त गर्ने परिपाटी निरन्तर चलिरहेको छ। यसले स्थायी, करार र अस्थायी तहका कर्मचारीहरूबीच विभेद र असन्तोषको वातावरण सिर्जना गरिरहेको छ, जसले संस्थागत एकता, कार्यदक्षता र प्रेरणामा प्रतिकूल प्रभाव पारेको छ।

    यस पृष्ठभूमिमा, विश्वविद्यालयभित्र विद्यमान यस्ता विकृति अन्त्य गर्न सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगलाई पूर्ण रूपमा सक्षम, स्वायत्त र उत्तरदायी बनाउनु अत्यावश्यक देखिन्छ। सबै नियुक्ति प्रक्रिया सेवा आयोगमार्फत निष्पक्ष र पारदर्शी ढङ्गले सञ्चालन गरिनुपर्छ, जसले योग्य उम्मेदवारबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्नुका साथै विश्वविद्यालयको व्यावसायिक छविलाई सुदृढ बनाउनेछ। त्यसका लागि सबैभन्दा पहिला विभिन्न क्याम्पसहरूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको समायोजन प्रक्रिया शीघ्र टुंग्याइनु आवश्यक छ। समायोजनपछि मात्र शिक्षक तथा कर्मचारीदेखि पदाधिकारीसम्मको नियुक्ति खुला प्रतिस्पर्धाको आधारमा गर्न सकिनेछ। विश्वविद्यालयको रूपान्तरणका लागि राजनीतिक भागबण्डाको अन्त्य, योग्यता र दक्षताको आधारमा सेवा सुविधा तथा अवसरहरूको उपलब्धता सुनिश्चित गर्नुपर्छ। दलनिकटका शिक्षक तथा कर्मचारीहरूले दलको सदस्यता त्याग्नु र राजनीतिक दलनिकटका संघसंगठनहरू खारेज गर्नु समयसापेक्ष आवश्यकता हो। ऐन, नियम र संस्थागत प्रक्रिया अनुसार नियमित स्टाफ बैठक तथा पारदर्शी निर्णय प्रणालीले मात्र विश्वविद्यालयभित्र दीगो सुधार, उत्तरदायित्व र संस्थागत विश्वासको आधार निर्माण गर्न सक्छ।

    शिक्षण गुणस्तर सुधार

    गुणस्तरीय र सान्दर्भिक पाठ्यपुस्तकहरूको समयमै व्यवस्था गर्नु, तथा नियमित रूपमा अन्तरक्रिया, गोष्ठी र तालिम सञ्चालन गर्नु शैक्षिक संस्थाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अपरिहार्य उपाय हुन्। यस्ता गतिविधिहरूले शिक्षण प्रक्रियामा नवीनता ल्याउनुका साथै शिक्षक तथा विद्यार्थी दुवैको क्षमतामा उल्लेखनीय सुधार ल्याउँछन्। यस्तै, आन्तरिक मूल्याङ्कनलाई केवल औपचारिकतामा सीमित नराखी व्यावहारिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा विद्यार्थीको वास्तविक प्रगति मूल्याङ्कन गर्न सकिन्छ, जसले उनीहरूको सिकाइ प्रक्रियामा सुधार ल्याउँछ।

    सेमेस्टर प्रणालीअनुसार एक कक्षामा अधिकतम ४० जना विद्यार्थी मात्र राख्ने व्यवस्था प्रभावकारी शिक्षणका लागि आवश्यक मानिन्छ। यस्तो सीमित संख्याले शिक्षकलाई प्रत्येक विद्यार्थीप्रति ध्यान दिन सजिलो बनाउँछ, जसले सिकाइको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्छ। त्यस्तै, अनुसन्धान जर्नल र क्याम्पस बुलेटिनको नियमित प्रकाशनले शिक्षण कार्यलाई अनुसन्धानमूलक बनाउने मात्र होइन, शिक्षक र विद्यार्थी दुबैले अनुसन्धानमा सक्रिय सहभागिता जनाउने वातावरण पनि तयार गर्छ। यस प्रकारका शैक्षिक अभ्यासहरूले विश्वविद्यालयको समग्र शैक्षिक वातावरणलाई गुणस्तरीय, सृजनात्मक र उत्तरदायी बनाउँछन्।

    विद्यार्थी सेवा र निष्पक्षता

    छात्रवृत्ति वितरण, परीक्षा सञ्चालन र स्ववियु निर्वाचन जस्ता प्रक्रियाहरूमा निष्पक्षता अपरिहार्य छ। यदि यी प्रक्रियाहरूमा कुनै प्रकारको पक्षपाती व्यवहार देखापर्छ भने, त्यसले शैक्षिक संस्थाको शान्ति र साँचो उद्देश्यमाथि प्रतिकूल असर पुर्याउँछ। यसैले, प्राध्यापक र कर्मचारीहरूले कुनै पनि बाह्य दबाब वा व्यक्तिगत स्वार्थको आधारमा निर्णय लिन नपर्ने नियम कडाइका साथ लागू गर्नु आवश्यक छ। त्यसका लागि संस्थाले नियमित निगरानी र पारदर्शिता सुनिश्चित गर्नुपर्छ, ताकि विद्यार्थीहरूलाई समान अवसर र न्याय सुनिश्चित गर्न सकियोस्।

    यस्तै, प्रयोगात्मक शिक्षामा प्रयोग हुने सामग्री र उपकरणहरूको नियमित मर्मतसम्भार शिक्षण प्रक्रियामा अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ। कम्प्युटर ल्याब, स्मार्ट बोर्ड र प्रिन्टर जस्ता उपकरणहरूको समय-समयमा मर्मत नगरी तिनीहरूको प्रभावकारी प्रयोग सुनिश्चित गर्न सकिँदैन। यसैले, शिक्षण सामग्री र उपकरणहरूको गुणस्तर र अवस्था निरन्तर अनुगमन गर्नु आवश्यक छ, जसले विद्यार्थीहरूको शिक्षा अनुभवलाई अझ सुदृढ बनाउँछ। यसको परिणामस्वरूप, विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्राप्त गर्न मद्दत पुर्याउँछ र शैक्षिक संस्थाको समग्र विकासमा योगदान पुर्याउँछ।

    आर्थिक पारदर्शिता र सुशासन

    विश्वविद्यालय बजेटको मनोमानी प्रयोग रोक्नका लागि सरोकारवालासँग छलफलमा आधारित प्राथमिकता निर्धारण आवश्यक छ। जब बजेटको सही उपयोग र वितरण सुनिश्चित गरिन्छ, तब मात्रै विश्वविद्यालयका आवश्यकताहरूलाई ध्यानमा राखेर सही कदम चाल्न सकिन्छ। यसरी, बजेटको प्रत्येक खर्चको उद्देश्य र आवश्यकता स्पष्ट हुनु जरूरी छ। विश्वविद्यालयले सबै सरोकारवालासँग पारदर्शी र समान संवाद राख्दै, विश्वविद्यालयको समग्र विकासका लागि बजेटको प्रभावकारी प्रयोग गर्नुपर्नेछ। यसले केवल प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको आवश्यकता मात्र पूरा गर्ने काम गर्दैन, तर लोकतान्त्रिक प्रक्रिया र सरकारी जिम्मेवारीलाई पनि मजबुत बनाउदै सबैको अपन्वत हुनेगरी गुणस्तरीय शिक्षामा समेत योगदान पुर्याउछ। विश्वविद्यालय सम्पत्ति निर्माण र खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धाको आधारमा सेवा तथा वस्तुको खरिद गर्नु अनिवार्य छ।

    विश्वविद्यालयले विश्वविद्यालयको बजेटलाई न्यायसंगत रूपमा खर्च गर्दै, भ्रष्टाचार र अनियमितता रोक्न सक्छ। निर्माण र खरिद प्रक्रियामा बिभिन्न व्यक्तिहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउँदा गुणस्तरीय सामान र सेवाहरू सुनिश्चित गर्न सकिन्छ, जसले सार्वजनिक सेवा र प्रशासनमा सुधार ल्याउँछ। साथै, सूचना प्राप्तिको हकलाई सुनिश्चित गर्दै, प्रशासनिक, आर्थिक र शैक्षिक गतिविधिहरूमा पारदर्शिता कायम गर्नु पनि अत्यन्त महत्वपूर्ण छ। यसले सरोकारवालाहरुलाई विश्वास दिलाउँछ र विश्वविद्यालयको शुशासन र विकास कार्यहरूको वास्तविकता प्रकट गर्न मद्दत पुर्याउँछ।

    अनुसन्धान तथा शैक्षिक विकास

    शिक्षण संस्थाहरूको प्रगति र विकासका लागि प्राध्यापक, कर्मचारी, र विद्यार्थीहरूको समग्र सक्रिय सहभागिता अनिवार्य छ। अध्ययन, अनुसन्धान, र सम्मेलनहरूमा सक्रियतासाथ सहभागी गराउने नीति प्रभावकारी हुन्छ। यसबाट शिक्षण विधि, अनुसन्धानका तरिका र नयाँ विचारहरूको विकास गर्न सकिन्छ। त्यसैले, विश्वविद्यालय बजेटको १०% अनुसन्धानमा छुट्याउने प्रावधान कार्यान्वयन गर्नु अत्यन्त आवश्यक छ। यसले न केवल अनुसन्धानमा संलग्नता बढाउँछ, बरु संस्थाका शैक्षिक स्तरलाई पनि सुधार्न मद्दत पुर्याउँछ। साथै, यस प्रकारको व्यवस्थाले संस्थाको प्राज्ञिक प्रतिष्ठा पनि उच्च बनाउँछ।

    विश्वविद्यालयले सामाजिक संस्था र समुदायसँग सहकार्य गरी प्रयोगात्मक परियोजनाहरू सञ्चालन गर्नु शिक्षण र अनुसन्धानको महत्वपूर्ण पक्ष हो। यसले न केवल शैक्षिक वातावरणलाई अझ व्यावहारिक र सान्दर्भिक बनाउँछ, बरु विद्यार्थीहरूलाई वास्तविक जीवनका समस्याहरूमा समाधान खोज्ने अभ्यास पनि दिन्छ। सामाजिक संस्था र समुदायको अनुभव र ज्ञानले प्रोजेक्टको कार्यान्वयनमा थप गहिरो दृष्टिकोण ल्याउँछ र यसलाई सामाजिक रुपमा प्रभावकारी बनाउँछ। यस्तो सहकार्यले सस्तो र दिगो समाधानहरूको खोजीमा मद्दत पुर्याउँछ, जसले अध्ययन र अनुसन्धानलाई दुवैलाई परिणाममुखी बनाउँछ।

    कार्यसम्पादन मूल्याङ्कन र समयपालन

    इमानदार र मेहनती प्राध्यापक तथा कर्मचारीहरूको मूल्याङ्कन नगरीकन संस्थागत प्रगति सम्भव छैन। विश्वविद्यालयले मूल्याङ्कन प्रणालीलाई प्रोत्साहनात्मक र पारदर्शी बनाउँदै, ती व्यक्तिहरूको योगदानलाई सम्मान गर्नुपर्छ जसले विश्वविद्यालयको विकास र शैक्षिक गुणस्तरमा साकारात्मक प्रभाव पारिरहेका छन्। यसरी, प्राध्यापक तथा कर्मचारीहरूको मनोबल वृद्धि गर्दा उनीहरूको कार्यसम्पादन पनि सुधारिनेछ, जसले समग्र विश्वविद्यालयको वातावरणलाई सकारात्मक दिशा दिनेछ। यस्ता कार्यहरूलाई प्रोत्साहन गर्दा, संस्थागत वातावरणमा उत्कृष्टता र समर्पणको प्रवृत्ति प्रबर्धन हुनेछ।

    त्यसैगरी, विश्वविद्यालयमा कार्यसमयामा अनिवार्य उपस्थितिको नियम कार्यान्वयन गर्दा प्राध्यापक र कर्मचारीहरूको समय प्रबन्धनमा सुधार ल्याउन सकिन्छ। नियमित हाजिरी प्रणालीलाई प्रभावकारी बनाउँदा, क्याम्पसमा समय समयमा नबस्ने प्रवृत्तिको अन्त्य गर्न सम्भव हुनेछ। यसले क्याम्पसको व्यवस्थापन र पाठ्यक्रमको संचालनलाई अझै व्यवस्थित र समृद्ध बनाउनेछ। इ-हाजिरी प्रणालीमार्फत कर्मचारीहरूको उपस्थितिको निगरानी गर्नाले समयको उपयोगलाई प्राथमिकता दिइनेछ र समग्र कामको प्रभावकारिता बढ्नेछ।

    संस्थागत एकता र समावेशिता

    गुटबन्दीले शैक्षिक संस्था र कार्यक्षेत्रमा धेरै प्रकारका नकरात्मक प्रभावहरू पार्दछ। यसले एकता र सहकार्यको भावना कमजोर पार्दै संस्थाको प्रगति र समृद्धिमा अवरोध पुर्याउँछ। यस्ता समस्याहरूको समाधान गर्न, गुटबन्दी अन्त्य गर्दै सबैलाई समान अवसर दिने वातावरण निर्माण गर्न आवश्यक छ। यसका लागि विभागीय समन्वय, समावेशिता, अपनत्व र संवादमैत्री संरचनाहरूको स्थापना गर्न महत्त्वपूर्ण छ। जब सबैलाई समान अवसर प्रदान गरिन्छ, तब कर्मचारी र शिक्षकहरूको आत्मविश्वास र कार्यक्षमतामा वृद्धि हुन्छ, जसले समग्र संस्थाको कार्यक्षमता सुधार गर्न मद्दत पुर्याउँछ।

    निर्णय प्रक्रियामा सम्पूर्ण सरोकारवालाको सहभागिता सुनिश्चित गर्नु विशेष रूपमा महत्त्वपूर्ण छ। यसको माध्यमबाट संस्थामा पारदर्शिता र उत्तरदायित्वको भावना फैलिन सक्छ। यदि निर्णयमा सबैका विचार र आवाज समावेश गरिन्छ भने, यसले न केवल निर्णयको गुणस्तरलाई बढाउँछ, तर संस्थाको आन्तरिक समन्वय र सहयोगी वातावरण पनि सुनिश्चित गर्छ। यस प्रकारको समावेशी निर्णय प्रक्रिया संस्थालाई दिगो र प्रगतिको मार्गमा अघि बढाउँछ।

    निष्कर्ष

    सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, अनुसन्धानमा आधारित शिक्षा, सामुदायिक संलग्नता र रणनीतिक साझेदारीहरूलाई प्रवर्द्धन गर्दै आफूलाई नेपालमा एक अग्रणी शैक्षिक केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। यसको मूल मान्यता "शिक्षा सबैको अधिकार हो र सबैका लागि सहज पहुँच हुनुपर्छ" भन्ने हो। यद्यपि विश्वविद्यालयले अनुसन्धान र शैक्षिक उत्कृष्टताको केन्द्र बन्ने उद्देश्यका साथ अघि बढाइरहेको छ, संस्थाभित्रका व्यथिति र विकृतिहरूले अझै असर पुर्याइरहेका छन्। व्यवस्थापकीय कमजोरी, गैरजिम्मेवारी प्रशासनिक कार्यशैली, राजनीतिक हस्तक्षेप, पारदर्शिताको अभाव, र कर्मचारी र प्राध्यापकको करार नियुक्ति जस्ता समस्याहरू संस्थाको प्रगति रोक्दैछन्। यी समस्याहरूको समाधान नहुँदासम्म विश्वविद्यालयले आफ्नो दीर्घकालीन लक्ष्य प्राप्त गर्न गाह्रो हुनेछ। यसैले, सुदूरपश्चिम विश्वविद्यालयले संस्थागत सुधार, उत्तरदायित्व, जवाफदेहिता, निष्पक्षता र समावेशीतामा आधारित शुद्धिकरण प्रक्रिया अघि बढाउनु अत्यन्त आवश्यक छ।

    विश्वविद्यालयको सुधारका लागि कार्यान्वयन गर्नुपर्ने योजनाहरू समग्र सुधारको लागि अत्यावश्यक कदमका रूपमा प्रस्तुत गर्न सकिन्छ। यी सुधार योजनाहरूको सही तरिकामा कार्यान्वयन भएमा मात्र विश्वविद्यालय गुणस्तरीय, समावेशी, पारदर्शी र उत्तरदायी शैक्षिक वातावरणको निर्माण गर्न सक्षम हुनेछ। शिक्षण–सिकाई प्रक्रियाको रूपान्तरण, प्राध्यापक र कर्मचारीको उत्तरदायित्व, विद्यार्थीको सशक्तीकरण, र प्रविधि–पूर्वाधार सुधारका कार्यहरू समन्वय गरेर सुदूरपश्चिम विश्वविद्यालय नेपालको उत्कृष्ट शिक्षण संस्था बन्ने दिशामा अघि बढ्न सक्छ। यसले विश्वविद्यालयको दीर्घकालीन दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने सम्भावना व्यक्त गर्दछ।

    लेखक: डम्मर सिंह साउद उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस

    images
    सोमवार, बैशाख २२ २०८२०७:३९:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार