बुधवार, जेठ ८ २०८२
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुंगोमा पुर्याउन आफू गम्भीर रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरी विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउन गम्भीर रहेको बताएका हुन् ।
विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुंगोमा पुर्याउने गरी छलफल अघि बढाउन मन्त्री पन्तले सुझाव दिए। साथै विधेयकमा रहेका कतिपय विषयमा राजनीतिक तहमा पनि सहमति खोज्नुपर्ने देखिएको पन्तले बताए ।
बैठकमा समिति सभापति अम्बरबहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरी चरणबद्ध रूपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।
यसअघि उपसमितिले विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समितिसमक्ष पेस गरिसकेको छ ।