बुधवार, जेठ १५ २०८२
काठमाडौँ- जेठ, १४ गते। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरिएको छ ।
शैक्षिक क्यालेन्डर विपरीत परीक्षाको समयमा विद्यार्थी भर्ना गर्न दबाब दिँदै विभिन्न क्याम्पसबाट स्ववियु अध्यक्ष तथा अन्य पदाधिकारीहरूमा निर्वाचित भएका विद्यार्थीहरूले त्रिवि उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
यसअघि विद्यार्थी नेताहरूले स्नातक भर्ना खोल्न दबाब दिएका दिदै आएका थिए । उनीहरूले रेक्टर कार्यालय र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी पनि गरेका छन् । तोडफोडपछि उपकुलपति कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसमा नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्ष तथा अन्य सदस्यहरूले तोडफोड र तालाबन्दी गरेका हुन् । उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेका हुन् ।
यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न दबाब दिएका थिए । स्ववियु निर्वाचनका बेला विद्यार्थी भर्ना रोकिएकाले अहिले भर्ना खोल्नुपर्ने दाबी उनीहरूको छ । स्ववियु निर्वाचनका लागि त्रिविले २०८१ माघ ११ गतेदेखि नै स्नातक तह प्रथम वर्षको भर्ना रोकेको थियो । निर्वाचनपछि भर्ना हुन पाउने विद्यार्थीहरूको अधिकार रही आएकोमा त्रिविले आनाकानी गरेको उनीहरूको भनाइ छ ।
उनीहरूले तुरुन्त स्नातक तह प्रथम वर्षको भर्ना खोल्न माग गरेका छन् । पब्लिक युथ क्याम्पसका सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, कैलाशकुट क्याम्पसका मुरारी गौतम, पद्मकन्या क्याम्पसकी भूपी ऐर, पाटन क्याम्पसका रोहित कपाली लगायतका १९ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी गरेका हुन् ।