Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षणमा रेफ्लेक्टिभ लेखनको प्रासंगिकता र आवश्यकता

शिक्षणमा रेफ्लेक्टिभ लेखनको प्रासंगिकता र आवश्यकता

  • 736
    SHARES

  • शिक्षणमा रेफ्लेक्टिभ लेखनको प्रासंगिकता र आवश्यकता

    काठमाडौ, जेठ १४ गते। शिक्षकको रूपमा अंग्रेजी भाषा शिक्षणमा मैले व्यावहारिक प्रयोगहरू गर्दै शिक्षण पद्धतिलाई निरन्तर परिमार्जन गर्ने प्रयास गरेको छु। विद्यार्थीहरूलाई केवल जानकारी दिइने होइन, तर उनीहरूको सोच, अनुभूति र कार्यशैलीमा परिवर्तन ल्याउने उद्देश्यले मैले कक्षापछि गरिने रेफ्लेक्टिभ लेखनलाई शिक्षणको मूल अभ्यासको रूपमा अंगीकार गरेको छु। यस अभ्यासले विद्यार्थीलाई आत्मविश्लेषण, आत्मचिन्तन र अनुभवजन्य सिकाइमार्फत गहिरो सिकाइमा संलग्न गराउँछ। यसै सन्दर्भमा यो लेखले मेरो व्यक्तिगत अभ्याससँगै यस अभ्यासको ऐतिहासिक र सैद्धान्तिक पक्षलाई समालोचनात्मक रूपमा विश्लेषण गर्दछ।

    शुल्मान (2005) को सिग्नेचर पेडागोजीको अवधारणाले कुनै विधाविशेषको पहिचान झल्काउने विशेष शिक्षण पद्धतिलाई संकेत गर्छ, जसले तीन तह—प्रविधि (सतही), बौद्धिकता (गहिरो), र नैतिकता (अन्तर्निहित संरचना)—मा कार्य गर्छ। रेफ्लेक्टिभ लेखन यी तीनै तहसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ। प्रविधिगत रूपमा यसले लेखन सीप विकास गर्छ; बौद्धिक रूपमा विचार, आलोचनात्मक चिन्तन र आत्मविश्लेषणलाई उत्प्रेरित गर्छ; र नैतिक रूपमा शिक्षणप्रतिको प्रतिबद्धता र उत्तरदायित्वबोधलाई सुदृढ पार्छ। यस्तो लेखन अभ्यासले शिक्षकलाई शिक्षणको प्रदायक नभई मात्र सह-शिक्षक, अनुभूतिपरक सहयात्री र परिवर्तनको संवाहक बनाउँछ, जसले शिक्षणलाई रूपान्तरणको दिशामा अग्रसर गराउँछ।

    सन् २००९ मा दार्चुला जिल्लाबाट औपचारिक रूपमा शिक्षण आरम्भ गर्दा मैले शिक्षणलाई मुख्यतः विषयवस्तु हस्तान्तरणको प्रक्रियाका रूपमा बुझेको थिएँ। म प्रेम र श्रमशील पृष्ठभूमिबाट आएका कारण विद्यार्थीसँग आत्मीयता राख्थें, तर शिक्षणप्रतिको दृष्टिकोण अझै परम्परागत ढाँचामै सीमित थियो। प्रारम्भिक वर्षहरू चुनौतीपूर्ण भए पनि विद्यार्थीहरूसँगको अन्तरक्रिया, जिज्ञासा र सक्रिय सहभागिताले मलाई शिक्षणको अर्थबारे पुनर्विचार गर्न उत्प्रेरित गर्‍यो। क्रमशः मैले महसुस गर्न थालेँ कि शिक्षण केवल जानकारी प्रदान गर्ने कार्य नभई विद्यार्थीको सोच, व्यवहार र मूल्यमा रूपान्तरण ल्याउने सिर्जनात्मक प्रक्रिया हो।

    यही बोधले मलाई शिक्षण पद्धतिमा विविध प्रयोगहरू गर्न प्रेरित गर्‍यो—जसमा व्याख्यान, समूह छलफल, परियोजना कार्य, र प्रविधिको प्रयोगजस्ता अभ्यासहरू समावेश थिए। यद्यपि यी अभ्यासहरू उपयोगी भए पनि मलाई सबैभन्दा प्रभावकारी अभ्यास कक्षापछि गरिने रेफ्लेक्टिभ लेखन लाग्यो। यस अभ्यासले मलाई कक्षा गतिविधिको गहिरो आत्ममूल्यांकन गर्न सक्ने अवसर प्रदान गर्‍यो, जसले सिकाइमा आत्मसात, समायोजन र पुनःसंरचनाको प्रक्रिया सहज बनायो। रेफ्लेक्टिभ लेखनले शिक्षणलाई यान्त्रिक क्रियाकलापबाट रूपान्तरणमुखी यात्रामा रूपान्तरण गर्‍यो, जसले मेरो व्यक्तिगत र व्यावसायिक विकासमा निर्णायक भूमिका खेलेको छ।

    एउटा साहित्यको कक्षामा मैले विद्यार्थीहरूलाई पाठका पात्रहरूसँग आत्मसम्बन्ध खोज्ने अभ्यास गराउँदा, उनीहरूले आफ्ना जीवनअनुभवहरूसँग पाठका सन्दर्भहरू तुलना गर्न थाले। यस अभ्यासले उनीहरूलाई केवल पाठको विषयवस्तु बुझ्न होइन, बरु आत्मविश्लेषण, सहानुभूति र भावनात्मक परिपक्वताको विकास गर्न मद्दत गर्‍यो। पाठका पात्रहरूसँग भावनात्मक र वैचारिक रूपमा आफूलाई जोड्न सकेपछि उनीहरूले साहित्यलाई जीवनसँग गाँसिएको अनुभूत गरे, जसले शिक्षणलाई केवल बौद्धिक अभ्यास होइन, जीवनमूल्यसँग सम्बन्धित सशक्त माध्यमको रूपमा पुनःपरिभाषित गर्‍यो। यसरी, साहित्य शिक्षणले भावनात्मक र नैतिक चेतनाको विकासमा समेत योगदान पुर्‍यायो।

    जब मैले रेफ्लेक्टिभ लेखनलाई नियमित अभ्यासका रूपमा कक्षाको अभिन्न अङ्ग बनाउँदै लगेँ, तब यसको दीर्घकालीन प्रभावहरू प्रस्ट देखिन थाले। विद्यार्थीहरूमा विचारहरूको स्पष्टता, आलोचनात्मक दृष्टिकोण, र आत्मविश्वास उल्लेखनीय रूपले बढ्न थाले। उनीहरूले आफ्नो रचनात्मक लेखनलाई परियोजना कार्य, पोर्टफोलियो, र प्रस्तुतीकरणमार्फत साझा गर्न थाले, जसले सिकाइलाई बहुआयामिक र सहभागी बनायो। यो अभ्यासले उनीहरूको व्यक्तिगत अभिव्यक्ति र बौद्धिक सहभागिता दुवैलाई सुदृढ पार्दै शिक्षण–सिकाइ प्रक्रियालाई गहिरो, समावेशी र सन्दर्भगत बनाएको देखियो।

    ह्युनक्युंग र क्यारोलिन (2021) का अनुसार, रेफ्लेक्टिभ लेखनले विद्यार्थीहरूलाई पाठ्यसामग्रीको गहिरो बुझाइमा पुग्न, अन्तर्दृष्टि हासिल गर्न र ज्ञानलाई विभिन्न सन्दर्भमा सार्न सक्षम बनाउँछ। म्याकार्थी (2011) ले यस अभ्यासलाई व्यवहारिक शिक्षण र सैद्धान्तिक ज्ञानबीचको सेतुका रूपमा व्याख्या गरेका छन्। यो अभ्यासले विद्यार्थीहरूलाई जानकारी प्राप्त गर्न मात्र होइन, सोच्न, प्रश्न गर्न, र आफ्नो सिकाइको प्रक्रियामा सक्रिय रूपमा संलग्न हुन उत्प्रेरित गर्छ। यसले शिक्षण–सिकाइलाई सतही स्तरबाट उठाएर अनुभवजन्य र समालोचनात्मक प्रक्रियामा रूपान्तरण गर्छ, जुन समकालीन शिक्षा दर्शनसँग मेल खान्छ।

    मैले २०२३ मा काठमाडौं विश्वविद्यालयमा एमफिल अध्ययनका क्रममा रेफ्लेक्टिभ लेखनको प्रयोगलाई व्यवस्थित रूपमा आत्मसात् गरेँ। प्रत्येक सत्रपछि लेखिने रेफ्लेक्सनहरूले मलाई न केवल सिकाइ अनुभवलाई पुनरावलोकन गर्न, तर त्यसबाट नयाँ विचारहरू निर्माण गर्न मद्दत पुर्‍याए। चिन्तनशीलता, आलोचनात्मकता र रचनात्मकता जस्ता उच्च स्तरका संज्ञानात्मक सीपहरूको विकासमा यस अभ्यासले महत्वपूर्ण भूमिका खेलेको अनुभूत गरेँ। यो केवल शैक्षिक अभ्यास नभई मेरो बौद्धिक परिपक्वता र पेशागत पहिचान विकासमा कोसेढुङ्गा सावित भयो, जसले शिक्षण पेशालाई गहिरो अर्थ र उद्देश्य दिएको छ।

    ‘Research Methods’ विषयमा रेफ्लेक्टिभ लेखनले मलाई मेरो अध्ययन प्रक्रियालाई पुनरावलोकन गर्न, बुझाइलाई पुनःस्थापित गर्न र भविष्यका पाठ योजनाहरूको रूपरेखा बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍यायो। यस अभ्यासमार्फत मैले आफ्ना अनुसन्धान कदमहरूलाई सचेत रूपमा मूल्याङ्कन गर्ने मौका पाएँ जसले शैक्षिक कार्यमा गहिरो ध्यान केन्द्रित गर्न र तर्कसंगत सुधार गर्न सहज भयो। त्यस्तै, ‘Academic Writing’ मा रेफ्लेक्टिभ लेखनले लेखन प्रक्रियाका विभिन्न चरणहरूलाई स्पष्ट रूपमा बुझ्न र आफ्नो कमजोरी तथा सुधारका उपायहरूलाई पहिचान गर्न मद्दत गर्‍यो। परिणामस्वरूप, मेरो लेखनको गुणस्तरमा उल्लेखनीय सुधार आयो र मैले व्यावहारिक रूपमा लेखनलाई प्रभावकारी र परिणाममुखी बनाउन सकेँ।

    शुरुवाती दिनहरूमा मलाई रेफ्लेक्टिभ लेखन कठिन र जटिल लाग्थ्यो, किनभने के र कसरी लेख्ने भन्ने विषयमा स्पष्टता थिएन। तर नियमित अभ्याससँगै मेरो सोचाइ, बुझाइ र सिकाइ प्रक्रियामा गहिरो परिवर्तन आएको अनुभव भयो। यसले मलाई केवल शिक्षकको भूमिकामा सीमित नरहने, बरु सह-शिक्षार्थीको रूपमा पनि सक्रिय सहभागी बन्न उत्प्रेरित गर्‍यो। यसरी रेफ्लेक्टिभ लेखनले शिक्षण–सिकाइलाई समृद्ध बनाउन मात्र नभई मेरो पेशागत पहिचान र बौद्धिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍यायो। सेमिनार, गोष्ठी वा कार्यशालामा सहकर्मीहरूको बहुआयामिक दृष्टिकोण सुनेर मैले रेफ्लेक्टिभ लेखनलाई अभ्यासमा ल्याएँ। यी लेखनहरूले मलाई विषयको गहिराइ र विविध पक्षहरू बुझ्न मद्दत गर्‍यो र बहसमा सुसंस्कृत तथा तर्कसंगत सहभागिता सुनिश्चित गर्न अपरिहार्य साबित भयो। यसरी रेफ्लेक्टिभ लेखनले केवल ज्ञान प्राप्ति नभई त्यसको आलोचनात्मक पुनर्विचारमा पनि महत्वपूर्ण भूमिका खेल्यो, जसले पेशागत सोच र सिकाइ प्रक्रियामा व्यापक समृद्धि ल्यायो।

    अहिले म रेफ्लेक्टिभ लेखनलाई योजनाबद्ध अभ्यासको रूपमा सञ्चालन गर्दै आएको छु। प्रत्येक पाठको अन्त्यमा तयार गरिएको विशिष्ट सोधपुछले विद्यार्थीहरूलाई आत्म-चिन्तन र गहिरो विश्लेषणतर्फ उन्मुख गराउँछ, जसले सिकाइलाई केवल बाह्य क्रियाकलापमा सीमित नराखी आन्तरिक र रूपान्तरणकारी प्रक्रियामा परिणत गर्दछ। यस अभ्यासले विद्यार्थीहरूलाई ज्ञानको स्थायीत्व र व्यवहारिक प्रयोगमा दिगो विकासमा प्रेरित गरेको अनुभव मैले प्राप्त गरेको छु।

    “आजको कक्षामा तपाईंलाई सबैभन्दा नयाँ कुरा के लाग्यो?”, “त्यो विचार तपाईंको सन्दर्भसँग कसरी मेल खान्छ?”, र “के त्यो विचार व्यवहारिक लाग्छ?” जस्ता प्रश्नहरूले विद्यार्थीलाई आफ्ना अनुभव र सिकाइबारे गहिरो आत्मसमीक्षा र मूल्यांकन गर्न उत्प्रेरित गर्छन्। यस प्रकारका प्रश्नहरूले विद्यार्थीहरूलाई केवल सूचना ग्रहण गर्ने नभई त्यसलाई सन्दर्भित, विश्लेषणात्मक र प्रयोगात्मक रूपमा सोच्न प्रोत्साहित गर्छन्, जसले समृद्ध र आलोचनात्मक सिकाइ वातावरण सिर्जना गर्दछ। यस्तो सक्रिय संलग्नताले विद्यार्थीहरूको चेतना र बुद्धिमत्तामा सकारात्मक प्रभाव पार्दै सिकाइलाई अर्थपूर्ण बनाउँछ।

    मैले दृढ विश्वास गरेको कुरा हो—रेफ्लेक्टिभ लेखन केवल विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सीमित छैन, यो शिक्षकहरूको निरन्तर पेशागत विकासको महत्वपूर्ण आधार पनि हो। यस अभ्यासले शिक्षकलाई शिक्षणप्रति अझ बढी उत्तरदायी, नैतिक र संवेदनशील दृष्टिकोण अपनाउन सघाउँछ। यसले शिक्षकको पेशागत अभ्यासलाई मात्र नभई उनको व्यक्तित्व र मानवीयता पनि समृद्ध बनाउने काम गर्दछ, जसले शिक्षण कार्यलाई गहिरो आत्मिक र मानवीय अनुभूतिको रूपमा परिवर्तित गर्दछ।

    रेफ्लेक्टिभ लेखनले शिक्षकलाई केवल पाठ सम्प्रेषक मात्र होइन, एक शिक्षाशास्त्रीय अन्वेषकका रूपमा विकास गराउँछ। शुल्मानले प्रस्तुत गरेका तीन तह—प्राविधिक, बौद्धिक र नैतिक—यस अभ्यासमा सँगसँगै काम गरी शिक्षण कार्यलाई गम्भीर, जिम्मेवार र प्रभावकारी बनाउने क्षमता प्रदान गर्छन्। यसले शिक्षकलाई आफ्नो शिक्षण पद्धतिमा निरन्तर समीक्षा र सुधार गर्ने अवसर दिन्छ, जसले विद्यार्थीहरूको सिकाइ अनुभवलाई अझ गहिरो र अर्थपूर्ण बनाउँछ।

    यसरी हेर्दा, कक्षापछि गरिने रेफ्लेक्टिभ लेखन केवल एउटा शिक्षण विधि मात्र नभई शिक्षण अभ्यासको मेरुदण्ड सावित हुन्छ। यो सिग्नेचर पेडागोजीको उत्कृष्ट उदाहरण हो, जसले शिक्षक र विद्यार्थी दुवैको बौद्धिक, नैतिक र संवेदनशील विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। यस्तो अभ्यासले शिक्षणलाई केवल ज्ञान प्रदान गर्ने कार्यबाट अर्थ सिर्जना गर्ने सजीव यात्रामा परिणत गर्छ, जसले आधुनिक शिक्षण पद्धतिमा यसको प्रयोग अनिवार्य र अपरिहार्य बनाएको छ।

    लेखक: डम्मर सिंह साउद

    उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस

    images
    बुधवार, जेठ १५ २०८२०९:१७:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार