Jul 27 2026 | २०८३, श्रावण ११ गते

पठन संस्कृतिको सुधारका लागि बहुआयामिक उपायहरू

पठन संस्कृतिको सुधारका लागि बहुआयामिक उपायहरू

  • 1.2K
    SHARES

  • पठन संस्कृतिको सुधारका लागि बहुआयामिक उपायहरू

    काठमाडौँ। नेपालको पठन संस्कृतिमा आएको गिरावट केवल व्यक्तिगत अभ्यासको कमजोरी मात्र नभई शिक्षा प्रणालीको संरचनागत समस्यासँग पनि जोडिएको छ। पाठ्यक्रमको सिर्जना र कार्यान्वयनमा गहिरो अनुसन्धानको अभाव, अध्ययनलाई केवल परीक्षा पास गर्नेसम्म सीमित गर्ने दृष्टिकोण, र विद्यालय तथा विश्वविद्यालयमा अनुसन्धानमूलक शिक्षण परम्पराको न्यूनताले सिकाइलाई गम्भीर रूपमा प्रभावित गरेको छ। विद्यार्थीहरूमा आलोचनात्मक सोच, आत्ममूल्याङ्कन, र सिर्जनशीलताको विकास नगरी केवल पाठ याद गराउने अभ्यासले दीर्घकालीन रूपमा शैक्षिक क्षमताको क्षय गराइरहेको छ।

    समस्या समाधानका लागि बहुआयामिक दृष्टिकोण आवश्यक छ। शैक्षिक सुधार नीतिहरूमा पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने स्पष्ट योजना हुनुपर्छ, जसमा शिक्षक तालिम, अभिभावकको सचेत भूमिका, र विद्यार्थीका लागि प्रेरणादायी तथा अनुसन्धानमूलक वातावरणको निर्माण अनिवार्य छन्। शिक्षा केवल पाठ्यपुस्तक र परीक्षा पास गर्ने औजार नभई व्यक्तित्व विकास, सामाजिक चेतना, र राष्ट्रिय समृद्धिको आधार हो भन्ने बुझाइ सबै तहमा स्थापित गर्न सकिएमा मात्र पठन संस्कृतिको पुनरुत्थान सम्भव छ।

    यस समस्याको समाधानका लागि शिक्षालय, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक छ। विद्यालयले पठन संस्कृतिको प्रवर्धन गर्न पुस्तकालयको प्रयोग, अध्ययनसम्बन्धी कार्यशाला, तथा नियमित अध्ययन मूल्याङ्कन जस्ता क्रियाकलापहरू सञ्चालन गर्नुपर्छ। विद्यार्थीहरूले ध्यान अभ्यास, पठन लक्ष्य निर्धारण, र अध्ययनका लागि उपयुक्त स्थानको छनोटजस्ता उपायहरू प्रयोग गर्नुपर्छ। अभिभावकले डिजिटल माध्यमको प्रयोगमा सन्तुलन ल्याई अध्ययनलाई प्राथमिकता दिन प्रेरित गर्नुपर्छ। केवल परीक्षा पास गर्ने होइन, गहिरो अध्ययन र ज्ञान निर्माणमा ध्यान दिइने हो भने मात्र पठन संस्कृतिको पुनरुत्थान सम्भव छ।

    नेपालको पठन संस्कृतिमा आएको गिरावटको अर्को महत्वपूर्ण कारण अध्ययनमा लक्ष्यविहीनता हो। आजका विद्यार्थीहरू बिना योजना किताबका पानाहरू पल्टाउने तर केही नबुझ्ने प्रवृत्तिमा फसिरहेका छन्। जब लक्ष्यहरू बनाइन्छन् तब पढाइमा स्पष्टता, केन्द्रितता र आत्मविश्वास विकसित हुन्छ। पाठ्यसामग्रीलाई साना खण्डहरूमा विभाजन गरी आफ्नै भाषामा टिपोट गर्ने बानीले गहिरो बोध र दीर्घकालीन सम्झना सुनिश्चित गर्छ। यस्तो अभ्यासले केवल परीक्षा पास गर्न होइन, ज्ञानलाई जीवनोपयोगी बनाउन सहयोग पुर्‍याउँछ।

    अर्को महत्वपूर्ण उपाय हो Pomodoro Technique को प्रयोग, जुन समय व्यवस्थापनमा प्रभावकारी मानिन्छ। विद्यार्थीहरूले २५ मिनेट गहिरो ध्यानसाथ पढेर त्यसपछि ५ मिनेटको सानो विश्राम लिँदा मानसिक थकाइ कम हुन्छ र ध्यानको स्थायित्व बढ्छ। यस्तो चार चक्रपछि लिइने लामो विश्रामले अध्ययनमा ताजगी ल्याउँछ। साथै, कतिपय विद्यार्थीहरूलाई चित्र कोर्दै पढ्ने 'Doodle Method' ले पनि बुझाइमा सहुलियत पुर्‍याउँछ। यी अभ्यासहरूलाई पढाइमा अपनाउने हो भने लक्ष्य निर्धारणसँगै अध्ययनको गुणस्तर र नियमितता उल्लेखनीय रूपमा सुधार गर्न सकिन्छ।

    अध्ययन प्रक्रियामा हातले लेख्दै पढ्ने अभ्यास अत्यन्त प्रभावकारी सिद्ध भएको छ। डिजिटल युगमा विद्यार्थीहरू प्रायः मोबाइल वा कम्प्युटर स्क्रिनबाट मात्र पढ्न खोज्छन्, जसले ध्यान कम हुने र सम्झनामा कठिनाइ आउने समस्या निम्त्याउँछ। तर, लेख्दै पढ्दा मानसिक संलग्नता बढ्छ, र जानकारी मस्तिष्कमा दीर्घकालसम्म रहन्छ। संक्षेप्त नोट बनाउने बानीले अध्ययनको सामग्रीलाई पुनरावलोकन गर्न सहज बनाउँछ, जसले परीक्षामा तयारी मात्र होइन, ज्ञानको गहिरो समझ पनि दिन्छ। यो अभ्यासले सक्रिय अध्ययनको प्रवृत्ति विकास गर्न सहयोग पुर्‍याउँछ। त्यस्तै, ध्यान (Meditation) अभ्यासले अध्ययनमा मानसिक स्थिरता र एकाग्रता बढाउने प्रमाणित उपायका रूपमा काम गर्छ। जब विद्यार्थीहरू दिनको केही मिनेट श्वासप्रश्वासमा केन्द्रित भएर ध्यान गर्छन्, उनीहरूको मनोवैज्ञानिक तनाव घट्छ र पढाइप्रतिको लगाव बढ्छ। वर्तमानमा बढ्दो मानसिक चाप, मोबाइलको अत्यधिक प्रयोग र जीवनशैलीको असन्तुलनले ध्यान भंग गरिरहेको सन्दर्भमा ध्यानले सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले, ध्यानलाई पठन संस्कृतिको पुनर्जागरणका लागि आवश्यक मानसिक साधनका रूपमा लिन सकिन्छ।

    अध्ययनमा नियमित दिनचर्या सिर्जना गर्नु भनेको केवल तालिका अनुसरण गर्नु मात्र होइन, मस्तिष्कलाई स्वचालित रूपमा ‘अध्ययन समय’ भन्न सिकाउने प्रक्रिया हो। जब बिहान ५–७ वा बेलुकी ५–८ जस्ता निश्चित समय दैनिक रूपमा पाठनका अनुसरण गरिन्छ, तब बायोलोजिकल क्लकले पढाइको लागि तयार हुन थाल्छ र समय व्यवस्थापनमा दक्षता बढ्छ। विपरीत अवस्थामा, छुट्टै समय नहुँदा विद्यार्थीहरू अलपत्र महसुस गर्छन्, कामकाज र पढाइबीच सन्तुलन बिग्रिन्छ र दबाब बढ्छ। यसैले, सुसंगठित दिनचर्याले अध्ययनको स्थिरता र उपलब्धिमा प्रत्यक्ष प्रभाव पार्छ र अनियमिततालाई तोड्न मद्दत गर्छ।

    पठनलाई प्रेरणादायी बनाउने अर्को महत्वपूर्ण साधन हो सकारात्मक स्वीकारोक्ति (Positive Affirmation) र मनन (Visualization)। “म ध्यानपूर्वक पढ्न सक्छु”, “म सजिलै सम्झन सक्छु” जस्ता आत्म–कथनहरूले अवचेतन मनलाई सशक्त बनाउँछन् र सिकाइप्रतिको विश्वास जगाउँछन्। जब विद्यार्थीले आफूलाई सफलताको परिदृश्यमा कल्पना गर्छ, तब चुनौतीपूर्ण सामग्रीसमेत सघन अभ्यासका साथ आत्मसात् गर्न सहज हुन्छ। यी विधिहरूलाई निरन्तर अभ्यास र प्राप्त उपलब्धिको आत्म–मूल्यांकनसँग जोड्दा मात्र वास्तविक प्रभाव देखा पर्छ।

    पठन संस्कृतिको अवनतिमा योगदान पुर्‍याउने कारणमध्ये अस्वस्थ जीवनशैली एक प्रमुख कारक हो। राति अबेरसम्म मोबाइल चलाउने, अनियमित खानपान गर्ने र व्यायाम नगर्ने जस्ता व्यवहारले शारीरिक थकान र मानसिक आलस्य उत्पन्न गर्छ, जसले अध्ययनप्रतिको उत्साह र एकाग्रता घटाउँछ। त्यसैले, समयमै सुत्ने–उठ्ने, सन्तुलित आहार लिने र दैनिक केही समय हल्का व्यायाम गर्ने लगाउने बानीले शरीरलाई ऊर्जावान बनाउँछ र मस्तिष्कलाई सजग राख्छ। यस्तो जीवनशैलीले पठनमा दीर्घकालीन ध्यान र प्रतिबद्धता विकास गर्न सहयोग गर्छ, जुन पठन संस्कृतिको पुनरुत्थानका लागि अत्यन्त आवश्यक छ।

    त्यस्तै, डिजिटल सामग्रीहरूको विवेकपूर्ण प्रयोग पठनलाई रोचक र प्रभावकारी बनाउन सक्ने भए पनि यसमा सन्तुलन कायम गर्नु अत्यावश्यक छ। युट्युब, अडियोबुक, फ्ल्यासकार्डजस्ता माध्यमहरूले दृश्य–श्रव्य प्रभावमार्फत गम्भीर विषयवस्तु पनि सहज र रमाइलो बनाउन सक्छन्। तर, अत्यधिक मोबाइल प्रयोग र सामाजिक सञ्जालमा समय खर्च गर्नाले ध्यान बिचलन हुन्छ र पढाइको नियमिततामा बाधा पुग्छ। त्यसैले विद्यार्थीहरूले डिजिटल उपकरणलाई अध्यन र अनुसन्धानको साधनका रूपमा प्रयोग गर्दै, समयको सीमाबद्ध प्रयोग गर्नुपर्छ ताकि पढाइमा प्रविधिको सहयोगी भूमिका रहोस्।

    आत्म–चिन्तन (Self-Reflection) अध्ययनलाई प्रभावकारी, उद्देश्यपूर्ण र आत्म–प्रेरित बनाउन अत्यन्त उपयोगी अभ्यास हो। दिनभरि के पढियो, कति समय गम्भीरतापूर्वक पढियो, र सुधारका सम्भावित क्षेत्रहरू के-के हुन् भन्ने विषयमा दिनको अन्त्यमा सोच-विचार गर्नुले विद्यार्थीलाई आफ्नो अध्ययन व्यवहारप्रति सजग बनाउँछ। यस्तो स्व–मूल्याङ्कनले केवल कमजोरी चिनाउन मात्र होइन, सुधारको स्पष्ट दिशा पनि दिन्छ। यसले आत्मविश्वास, अनुशासन र जिम्मेवारीको भावना विकास गराउँछ, जुन पठन संस्कृतिको पुनर्जागरणमा केन्द्रीय भूमिका खेल्न सक्छ।

    नेपालको वर्तमान शिक्षा प्रणालीमा यस्ता व्यवहारिक, मनोवैज्ञानिक र आत्मकेन्द्रित अध्ययन विधिहरूलाई प्राथमिकता दिनु जरुरी छ। पठन संस्कृतिको ह्रास केवल व्यक्तिगत समस्यामात्र होइन, नीतिगत कमजोरी पनि हो। त्यसैले शिक्षकहरूले कक्षाकोठामा प्रेरणादायी वातावरण सिर्जना गर्नुपर्छ, अभिभावकहरूले घरमा अध्ययनको अनुकूल वातावरण निर्माण गर्नुपर्छ, र नीति निर्माताहरूले विद्यालय तथा विश्वविद्यालय तहमा अनुसन्धान, पठन तथा आत्म–चिन्तन प्रवर्द्धन गर्ने कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्छ। अध्ययनलाई केवल परीक्षा उर्तिण गर्ने साधन होइन, ज्ञान प्राप्तिको जीवनशैली बनाउने दिशातर्फ ध्यान केन्द्रित गर्नु आजको आवश्यकता हो।

    नेपालमा पठन संस्कृतिमा देखिएको ह्रास केवल व्यक्तिगत लापरवाही वा टेक्नोलोजीको असर मात्र होइन, यो एउटा गहिरो सामूहिक समस्या हो जसको जरा शिक्षा प्रणाली, पारिवारिक परिवेश, सामाजिक धारणा र नीतिगत कमजोरीसम्म फैलिएको छ। जब अध्ययनको वातावरण प्रेरणाविहीन, उद्देश्यविहीन र असंयमित हुन्छ, तब विद्यार्थीहरू पठनतर्फ आकर्षित हुन सक्दैनन्। पठनको मूल प्रवृत्तिलाई बलियो बनाउन केवल विद्यार्थीको इच्छाशक्तिले मात्र पुग्दैन; यसका लागि संरचनागत र व्यवहारगत परिवर्तन आवश्यक हुन्छ।

    यो समस्या समाधान गर्न विद्यालय, घर, समाज र सरकार चारै तहको साझा जिम्मेवारी आवश्यक छ। विद्यालयहरूले अनुशासित, उत्साहजनक र स्रोत–सम्पन्न अध्ययन वातावरण सिर्जना गर्नुपर्छ; घरपरिवारले अध्ययनलाई मूल्य दिनुपर्छ र सकारात्मक अनुकरणीयता प्रस्तुत गर्नुपर्छ; समाजले पठनलाई प्रतिष्ठाको विषय ठान्नुपर्छ; र सरकारले दीर्घकालीन नीतिगत योजना, पुस्तकालय विस्तार, शिक्षक तालिम तथा शैक्षिक नवप्रवर्तनहरूमा लगानी गर्नुपर्छ। जब यी सबै पक्ष एकै दिशामा क्रियाशील हुन्छन्, त्यत्तिबेला मात्र पठन संस्कृतिको पुनःस्थापना सम्भव हुनेछ र सशक्त शैक्षिक आधार निर्माण हुन सक्नेछ।

    अतः, आजको आवश्यकता पठन संस्कृतिको पुनरुत्थान हो — जुन केवल नाराबाट होइन, व्यवहारिक क्रियाशीलताबाट सम्भव हुन्छ। यसका लागि विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षाविद् र नीतिनिर्माताहरू सबैको साझा प्रयत्न अपरिहार्य छ। पठन संस्कृतिको जगेर्ना गर्नु भनेको हाम्रो समृद्ध भविष्यको जग तयार गर्नु हो। आजको पुस्तालाई पढ्न प्रेरित गर्न सक्यौं भने भोलिको पुस्ताले देशलाई उज्यालो दिशामा डोहोर्याउनेछ। त्यसैले अब विलम्ब नगरी पठन संस्कृतिको पुनःस्थापनाको दिशामा ठोस कदम चाल्न आवश्यक छ।

    लेखक: डम्मर सिंह साउद

    उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस

    images
    शुक्रवार, जेठ २४ २०८२०७:४०:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार