बिहिवार, आषाढ १९ २०८२
काठमाडौँ। नेपाल विद्यालय खेलकुद महासंघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच समझदारीपत्रमा हस्ताक्षर हस्ताक्षर भएको छ। विहीबार प्याब्सन केन्द्रीय कार्यालय, काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयहरूमा खेलकुद कार्यक्रम प्रवद्र्धन तथा अभिवृद्धि गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
उक्त साझेदारी पत्रमा एनएसएसएफ अध्यक्ष विनोद श्रेष्ठ र प्याब्सनको तर्फबाट कृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षरका क्रममा प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले देशमा असल शिक्षा दिने र असल नागरिक बनाउने मुख्य ध्येय भएकोले नेपाल भरिका नीजी र बोर्डिङ स्कुलहरुमा विद्यालय खेलकुदको विकास र संगठनलाई बढवा दिनु रहेको छ । उहाँले यो साझेदारीले विद्यालय खेलकुदका कार्यक्रमहरु, शैक्षिक खेलकुद कार्यक्रमहरु बृद्धिलाई समर्थन गर्ने रहेको बताउनुभयो ।
नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले देश विकास र समृद्धिका लागि खेल क्षेत्र एकदमै महत्वपूर्ण भएको भन्दै यसलाई विकास गर्न सम्झौता मार्फत अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मनोरञ्जन र ज्यान बनाउनका लागि खेल खेल्नेभन्दा पनि यसलाई नयाँ तरिकाबाट लाने हाम्रो योजना हो । देश विकास र समृद्धिका लागि खेल क्षेत्र एकदमै महत्वपूर्ण हुन्छ र यसलाई विकास गर्न सकिन्छ भनेर सम्झौता भएको हो । प्याब्सनले देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेकाले यसकै माध्यमबाट खेलकुद क्षेत्रलाई पनि नयाँ तरिकाबाट लान सकिन्छ भन्ने विश्वास हो ।’ खेललाई उद्यमशिलतासँग जोडेर लान सकिन्छ भन्ने विश्वासका साथ खेललाई आधारभूत तहसम्म लान साझेदारी भएको पनि उहाँको भनाइ छ।
उक्त कार्यक्रममा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहन कुमार कार्की, महासचिव राजकुमार कार्की, सदस्य तथा त्रिभुवन विश्व विद्यालयका खेल विज्ञान विभाग प्रमुख पशुपति अधिकारी, प्रमुख वित्त अधिकृत सोविन राज रेग्मी, महासंघका वोर्ड सदस्य पदम राना, खड्का बहादुर थापा, प्याब्सनका प्रमुख सल्लाहकार डिके ढुङ्गाना, सह–अध्यक्ष गोपाल आचार्य, वरिष्ट उपाध्यक्ष दीपिका थापा, उपाध्यक्ष सन्तोष मणि न्यौपाने, महासचिव आरबी कटुवाल, उप महासचिव भुवन लाल श्रेष्ठ, सचिव चन्द्र कुमार अधिकारी, र सदस्य लोकेन्द्र खड्का उपस्थिति रहेको थियो ।