Jul 27 2026 | २०८३, श्रावण ११ गते

शैक्षिक रूपान्तरणका लागि शिक्षक अनुसन्धान

शैक्षिक रूपान्तरणका लागि शिक्षक अनुसन्धान

  • 745
    SHARES

  • शैक्षिक रूपान्तरणका लागि शिक्षक अनुसन्धान

    आजको शिक्षकहरूलाई शैक्षिक अनुसन्धानकर्ताको रूपमा विकास गर्ने प्रक्रिया आधुनिक शिक्षण पेशामा एउटा महत्वपूर्ण क्रान्ति हो। परम्परागत रूपमा शिक्षकहरूलाई केवल ज्ञानको विज्ञ मानिए पनि अहिले उनीहरूको भूमिकामा गहिरो परिवर्तन आएको छ।

    शिक्षकहरूले कक्षा कोठामा देखिने वास्तविक समस्याहरूलाई अनुसन्धानका माध्यमबाट पहिचान गरी समाधान गर्न सक्ने क्षमता विकास गर्नु आवश्यक छ। सहभागी कार्यमूलक अनुसन्धान (PAR) जस्ता सहकार्यात्मक विधिहरूले शिक्षकलाई अनुसन्धान प्रक्रिया भित्र सक्रिय सहभागी बनाउँछन् र उनीहरूको व्यावहारिक अनुभवलाई आधार बनाएर नयाँ ज्ञानको सिर्जना गर्न प्रेरित गर्छन्। यसले शिक्षकहरूलाई बाह्य सहयोगको अपेक्षा नगरी आफ्नै कक्षा कोठामा नवप्रवर्तन र सुधार गर्न सक्ने अनुसन्धानकर्ता बनाउँछ, जसले शैक्षिक रूपान्तरणमा ठुलो योगदान पुर्‍याउँछ।

    नेपालको शिक्षा प्रणालीको व्यापक संरचना भित्र शिक्षक अनुसन्धानका मार्गमा थुप्रै चुनौतीहरू रहेका छन्। देशभर ३५,६०१ विद्यालयहरूमा करिब ७३ लाख विद्यार्थीहरू पढिरहेका भए तापनि ग्रामीण–शहरी बीच शैक्षिक पूर्वाधारको ठूलो असमानता, गुणस्तरीय शिक्षकको अभाव, र स्रोतको कमी शिक्षकहरूलाई प्रभावकारी अनुसन्धानमा संलग्न हुनबाट रोक्ने मुख्य कारणहरू हुन्। त्यस्तै, पाठ्यक्रममा सांस्कृतिक सान्दर्भिकता र आलोचनात्मक सोचको कमीले शिक्षक र विद्यार्थीबीच सहकार्य र सक्रिय संलग्नता सीमित पारिरहेको छ। यस्ता चुनौतीहरूलाई सामना गर्दै शिक्षकलाई शैक्षिक अनुसन्धानमा सशक्तिकरण गर्ने काम केवल आवश्यक मात्र नभई शिक्षण–सिकाइ प्रक्रियाको गुणस्तर सुधारका लागि अपरिहार्य छ। यसले मात्र शिक्षकलाई आफ्नो स्थानीय सन्दर्भमा आधारित समाधान खोज्न र सिकाइको वातावरणलाई समृद्ध बनाउन सहयोग पुर्‍याउँछ।

    शिक्षक अनुसन्धानकर्ताका रूपमा विकासको क्रममा सबैभन्दा ठूलो चुनौती स्रोतको अभाव, समयको कमी र प्रशासनिक समर्थनको अभाव रहेको पाइन्छ। कक्षाकोठामा देखिने समस्याहरूलाई पहिचान गरी स्थानीय बुद्धिमत्ता र सन्दर्भअनुसार समाधान खोज्न शिक्षकहरूलाई सक्षम बनाउनु पर्दछ। त्यसका लागि सहकार्यमा आधारित अनुसन्धान विधिहरूमा शिक्षकहरूलाई पर्याप्त तालिम र अवसर उपलब्ध गराउनु आवश्यक हुन्छ। यस्तो प्रशिक्षणले शिक्षकहरूको पेशागत विकासलाई मात्र होइन, उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा पनि उल्लेखनीय वृद्धिका साथै शैक्षिक सुधारमा सक्रिय सहभागिता सुनिश्चित गर्छ। समय र स्रोतको अभाव हुँदा पनि शिक्षकहरूलाई अनुसन्धानमा संलग्न गराउने वातावरण निर्माण गर्न प्रशासनिक निकायहरूले सहयोग गर्नु पर्ने हुन्छ।

    नेपालको शिक्षा प्रणालीमा पूर्वीय र पश्चिमी ज्ञान परम्पराहरूलाई समेटेर समग्र र सान्दर्भिक शिक्षा प्रवाह गर्ने प्रयास भइरहेको छ। यस्तो बहुआयामिक दृष्टिकोणले शिक्षक अनुसन्धानलाई पनि दुवै परम्पराका दृष्टिकोण समेटेर अघि बढाउन आवश्यक हुन्छ। आलोचनात्मक नागरिक शिक्षा र सिर्जनात्मक सिकाइका माध्यमबाट विद्यार्थीहरूलाई जिम्मेवार, चिन्तनशील र सक्रिय नागरिक बनाउने उद्देश्य पूरा गर्न शिक्षकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। शिक्षकहरूले आफ्नो कक्षा कोठालाई जीवित अनुसन्धान क्षेत्रका रूपमा विकास गरेर सिकाइ प्रक्रियामा निरन्तर रूपान्तरण ल्याउन सक्छन्, जसले शिक्षा प्रणालीलाई थप सशक्त र प्रभावकारी बनाउँछ। शैक्षिक अनुसन्धानको लोकतान्त्रिकरणले ‘अनुसन्धान सबैका लागि’ भन्ने मूलभूत धारणा स्थापित गर्दछ।

    यसले औपचारिक प्रमाणपत्र वा उच्च शैक्षिक तहमा आधारित प्रतिबन्ध हटाएर शिक्षकहरूलाई आफ्नै कक्षा कोठा र समुदायमा देखिएका समस्याहरूको समाधान खोज्न सक्रिय बनाउँछ। यस्तो प्रक्रियामा शिक्षक, विद्यार्थी र समुदायबीच सहकार्य अत्यन्तै महत्वपूर्ण हुन्छ, जसले सबै सरोकारवालाहरूलाई अनुसन्धानको सह-अनुभूति र सहभागितामा जोड्दछ। सहभागी कार्यमूलक अनुसन्धान (Participatory Action Research – PAR) विधि यसको उत्कृष्ट उदाहरण हो, जसले शिक्षकलाई केवल अनुसन्धानका विषयवस्तु मात्र नभई सह-अनुसन्धानकर्ताको रूपमा आत्मसात् गराउँछ र उनीहरूको पेशागत स्वायत्तता र नेतृत्वलाई प्रोत्साहित गर्छ।

    PAR विधिको पुनरावृत्त चक्र — योजना बनाउने, कार्यान्वयन गर्ने, अवलोकन गर्ने, रिफ्लेक्सन गर्ने र संशोधन गर्ने — शिक्षकहरूलाई निरन्तर सिकाइ र सुधारको प्रक्रिया भित्र राख्छ। यस चक्रले शिक्षकलाई आफ्ना कक्षा कोठामा देखिएका चुनौतीहरूको व्यावहारिक र सान्दर्भिक समाधान खोज्न सहयोग पुर्‍याउँछ। शिक्षकहरूले सामना गरेका समस्याहरूलाई विश्लेषण गरी त्यसको समाधानलाई आत्मसात् गर्दै नयाँ अभ्यास र नवप्रवर्तनमा परिणत गर्छन्, जसले समग्र शिक्षण–सिकाइ प्रक्रियालाई गुणात्मक रूपमा सुधार गर्ने बाटो खोल्छ। यस प्रकारको अनुसन्धानले शिक्षालाई मात्र होइन, शिक्षक र विद्यार्थी दुवैलाई सशक्त र सहभागी बनाउने माध्यमका रूपमा कार्य गर्दछ।

    कक्षाकेन्द्रित अनुसन्धानमा शिक्षकहरूले स्थानीय वातावरणीय समस्या वा सांस्कृतिक ज्ञानलाई उपयोग गरेर सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउन सक्छन्। उदाहरणका लागि, विज्ञान शिक्षणमा स्थानीय वातावरणीय विषयवस्तुहरू समावेश गर्दा विद्यार्थीहरूलाई विषयको व्यवहारिक पक्षसँग जोड्न सजिलो हुन्छ। त्यस्तै, गणित कक्षामा छोरीहरूको सहभागिता बढाउन विभिन्न शिक्षण रणनीतिहरू विकास गरी परीक्षण गर्न सकिन्छ भने स्थानीय संस्कृतिसँग मेल खाने सिकाइ अभ्यासहरू तयार गरेर विद्यार्थीहरूलाई आफू वरिपरिका परिवेशसँग सम्बन्धित बनाउन सकिन्छ। यस्ता अनुसन्धान प्रश्नहरूले शिक्षणलाई विद्यार्थी–केन्द्रित, सान्दर्भिक र प्रेरणादायी बनाउँछन्, जसले शिक्षकहरूलाई नवप्रयोग गर्न उत्प्रेरित गर्छ र विद्यार्थीहरूको संलग्नता तथा सिकाइ परिणाममा सकारात्मक प्रभाव पार्छ।

    शिक्षकहरूले कक्षाकोठा अवलोकन, विद्यार्थी कार्य विश्लेषण, डायरी लेखन, विद्यार्थी अन्तरवार्ता, तथा तुलना जस्ता विविध अनुसन्धान विधिहरू अपनाएर आफ्ना शिक्षण अभ्यासको मूल्याङ्कन गर्न सक्छन्। यी विधिहरूले शिक्षकलाई सिकाइ प्रक्रियाका सफलताहरू र चुनौतीहरूलाई गहिरोसँग बुझ्न मद्दत पुर्‍याउँछन् र सुधारका लागि आधार तयार पार्छन्। अनुसन्धानबाट पहिचान गरिएका समस्याहरूको समाधान गर्न शिक्षकहरूले नवप्रयोगहरू विकास गरी कक्षा कोठामा लागू गरि तिनको प्रभाव सहकर्मीहरूसँग साझा गरेर समष्टिगत शिक्षण सुधारको संस्कृति प्रवर्द्धन गर्नसक्छन। यसरी शिक्षक, विद्यार्थी र समुदायबीचको सहकार्यले स्थानीय सन्दर्भअनुकूल शिक्षण अभ्यासलाई व्यापक बनाउने सम्भावना बढाउँछ।

    यद्यपि, सहभागी कार्यमूलक अनुसन्धानको कार्यान्वयनमा समयको अभाव, स्रोतको कमी, प्रशासनिक समर्थनको अभाव र परम्परागत सोचजस्ता चुनौतीहरू अवश्य देखिएका छन्। तर यी बाधाहरूलाई कम गर्न सहयोगात्मक सञ्जालहरूको स्थापना, एकीकृत दृष्टिकोणको अंगीकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीहरूको विकास, र सानातिना उपलब्धिहरूको उत्सव मनाउने रणनीतिहरू प्रभावकारी सावित हुन सक्छन्। कार्यमूलक अनुसन्धानले शिक्षकहरूमा आलोचनात्मक आत्मचिन्तनको संस्कृतिलाई प्रोत्साहित गर्दै सहकार्यमा आधारित सिकाइका अवसरहरू सिर्जना गर्दछ। यसले शिक्षकलाई पेशागत स्वायत्तता प्रदान गर्ने मात्र नभई नवप्रवर्तनको नेतृत्व गर्न समेत सशक्त बनाउँछ। PAR को माध्यमबाट थुप्रै शिक्षकहरूले आफ्ना शिक्षण दृष्टिकोणहरूलाई प्रश्न गर्न, सहकर्मीहरूसँग मिलेर समाधान खोज्न र आफ्नो अनुभवलाई शैक्षिक सम्मेलनहरूमा प्रस्तुत गर्न सक्षम भएका छन्, जसले उनीहरूको पेशागत आत्मविश्वास र अनुसन्धानकर्ताको पहिचान दुवैमा वृद्धि गरेको छ।

    सहभागी कार्यमूलक अनुसन्धान संचालित भईरहेका विद्यालयहरुमा विद्यार्थी संलग्नता र समावेशी कक्षाकोठाको विकासमा कार्यमूलक अनुसन्धानले अत्यन्तै सकारात्मक प्रभाव पारेको छ। PAR विधिको प्रयोगबाट धेरै विद्यालयहरुका कक्षा गतिविधिहरूमा विद्यार्थीहरूको सहभागिता दर उल्लेखनीय रूपमा बढेको छ, जसले उनीहरूलाई परियोजनाको नेतृत्व गर्न, निर्णय प्रक्रियामा सहभागी हुन र सिकाइको दिशा निर्धारण गर्न सक्षम बनाएको छ।

    विविध पृष्ठभूमिका विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्न विविध सिकाइ शैलीहरूलाई समायोजन गर्न सकिने लचिलो वातावरण निर्माण भएको छ, जसले समावेशी शिक्षण अभ्यासलाई सशक्त बनाएको छ। साथै, विद्यार्थी अनुपस्थितिको दर घटेको देखिन्छ, जुन सक्रिय सिकाइ, व्यक्तिगत सम्बन्ध र सामाजिक उत्तरदायित्वको विकाससँग प्रत्यक्ष सम्बन्धित छ।

    समुदाय स्तरमा पनि सहभागी कार्यमूलक अनुसन्धानले दिगो विकास र पर्यावरणीय सचेतनालाई अभिवृद्धि गरेको छ। विद्यालयहरूमा स्थानीय बगैँचाबाट उत्पादन गरिएका अर्गानिक खाद्य सामग्री प्रयोगमा ल्याउने अभ्यासले न केवल पोषणमा टेवा दिएको छ, तर स्थानीय स्रोतको सदुपयोगमार्फत आत्मनिर्भरता र जिम्मेवार व्यवहार पनि विकास गरेको छ।

    अभिभावकहरूको विद्यालय गतिविधिमा सहभागिता बढ्नु समुदायमा शिक्षाप्रतिको लगाव र स्वामित्वको सूचक हो। यसले विद्यालयलाई मात्र औपचारिक शिक्षाको स्थल होइन, स्थानीय विकास र सामाजिक जागरणको केन्द्रको रूपमा रूपान्तरण गर्न मद्दत पुर्‍याएको छ।

    शिक्षकहरूले आफ्ना अनुसन्धान अभ्यासहरूलाई नीतिगत तहमा प्रभावकारी बनाउने प्रयासमार्फत स्थानीय तथा राष्ट्रिय शिक्षा नीतिमा सुधारको माग अघि सारिरहेका छन्। कक्षाकोठामा संकलित प्रमाणहरू र अनुभवहरूलाई नीतिनिर्मातासमक्ष पुर्‍याउने प्रयासले शिक्षाका वास्तविक आवश्यकताहरू उजागर गर्दछ, जसले निर्णय प्रक्रियालाई सन्दर्भानुकूल बनाउँछ। शिक्षक सञ्जाल र समुदायहरूको सहकार्यले यस्ता अभ्यासलाई दीर्घकालीन र व्यापक बनाउने सम्भावना बढाउँछ, जसले सामाजिक र शैक्षिक रूपान्तरणको प्रक्रियालाई थप गतिशील र प्रभावकारी बनाउँछ।

    शैक्षिक अनुसन्धानको लोकतान्त्रिकरणले शिक्षकहरूबीच सहकार्यात्मक समुदाय निर्माणको आधार तयार गर्छ, जसले विभिन्न सामाजिक, सांस्कृतिक र भौगोलिक सन्दर्भमा कार्यरत शिक्षकहरूलाई ज्ञान, अनुभव र प्रेरणाको साझा मंचमा जोड्दछ। यसले अनुसन्धानलाई केन्द्रीकृत संस्थागत संरचनाको सीमाभन्दा बाहिर ल्याई वास्तविक कक्षा कोठाको आवश्यकता र समाधानमा केन्द्रित बनाउँछ।

    नेपालजस्ता विविधताले भरिएको मुलुकमा यस्तो सहकार्यात्मक अनुसन्धान संस्कृति विकास हुनु अझ महत्वपूर्ण हुन्छ, जहाँ शिक्षक समुदायले परस्पर सिकाइ, परावर्तन, नवप्रवर्तन र सुधारको साझा यात्रामा सामेल हुने अवसर प्राप्त गर्छ। अन्तर्राष्ट्रिय रूपमा पनि शिक्षक नेतृत्वमा आधारित अनुसन्धानको यो अभ्यास नयाँ दृष्टिकोणको वाहक बन्दै छ।

    अन्ततः शिक्षामा दीर्घकालीन रूपान्तरण सम्भव बनाउन शिक्षकहरूले आफ्नै कक्षा कोठा र समुदायमा आधारित समस्या समाधान गर्ने, नवीन शिक्षण अभ्यास विकास गर्ने, र त्यसलाई पुनरावलोकन र परिमार्जनमार्फत निरन्तर सुधार गर्दै लैजाने प्रक्रिया आत्मसात गर्न आवश्यक हुन्छ। यसका लागि शिक्षकलाई अनुसन्धानकर्ता बन्न आवश्यक स्रोत, समय, आत्मविश्वास र सहकार्य वातावरण उपलब्ध गराउनुपर्छ। अब शिक्षा प्रणालीलाई ‘विज्ञ भनाउदाहरु’ को एकाधिकारबाट मुक्त गर्दै अभ्यासमा आधारित अनुसन्धाताको संस्कृतिले मार्गनिर्देशन गर्नु पर्दछ।

    यसरी कक्षा–आधारित अनुसन्धानमार्फत शिक्षकहरू शिक्षा प्रणालीलाई सशक्त, सान्दर्भिक र दिगो बनाउने अभियानमा सहभागी हुनेछन्। यो अभियानमा सबै सरोकारवालाहरू—शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्माता र समाज—ले हातेमालो गर्नुपर्ने समय आइसकेको छ। यही बाटो शिक्षाको साँचो रूपान्तरणको यात्रा हो।

    लेखक: डम्मर सिंह साउद उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस

    images
    मंगलवार, आषाढ ३१ २०८२०८:३२:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार