Jul 27 2026 | २०८३, श्रावण ११ गते

सोचको सन्धिमा शिक्षा

सोचको सन्धिमा शिक्षा

  • 583
    SHARES

  • सोचको सन्धिमा शिक्षा

    साउन, ६ गते। शिक्षा मानव चेतनाको सम्पूर्ण इतिहास रहस्य पुस्तकमै होइन, प्रश्नको उज्यालोमा खुल्ने अर्को नाम हो । ब्रह्माण्डका अचेत गोलाहरू आफ्नै कक्षामा घुमिरहेका चमकतारा मात्र भए, तर मानिस—त्यसले एउटी आँखा आफूमै गाडेर भित्रतिर फर्काउँछ । उही भीरपाखामा साउने झरी झैँ खसालिने सूचना–वृष्टिका घनाहरू आज डिजिटल आकाशमा ओसारिन थालेका छन् । ट्वाँ आयो, छरितो लेख निस्कियो, राम्रा विम्ब, चित्ताकर्षक तथ्य–उद्धरण; तर गहिरिएर हेर्दा ती शब्दहरू भित्रको धडकन सुनिँदैन, धड्कन भन्दा पनि नक्कली चलायमानता—एक किसिमको छायाँ नृत्य मात्र । यस नीलो–काँचो पर्दामा प्रकट भएको ‘यान्त्रिक सौन्दर्य’ भित्री तन्तुमा काठको कठपुतलीझैँ चपक्क अड्केको छ । जीवनलाई वरण गर्नुभन्दा नक्कल गर्न सजिलो; र यही सजिलोपनलाई जेम्स पॉल गीले ‘अम्याच्युर संस्कृतिको उदय’ भनेर चिनाएका थिए—ज्ञानको गहिराइ खुम्चाएर सतहलाई क्रिस्टलजस्तो चम्काउने त्रासदी । एउटा त्रासदी, जहाँ मनुष्यको आलोचनात्मक आँखालाई स्विच–अफ गरेर, ‘विश्वास गर—किनकि देखिन्छ राम्रो’ भन्ने सम्मोहन चलाइन्छ ।

    यस विम्बीय चमकसँग जुध्ने हामी नेपाली कक्षाहरू अझै साना कुपोषित विन्डोहरूझैँ छन्—जहाँ ४० डिग्री चर्को घामका बीच रटन्ते अभ्यासको सुक्खा माटोमा पसिना चुहाउने विद्यार्थीहरू श्रुतिलेखको फस्र्यो पार्छन् । उनीहरूको कपालमा स्याँ स्याँ धूलो, तर आँखामा प्रश्नको चमक छैन । किनभने प्रश्न गर्ने बानी ‘कक्षा–अनुशासन’ भन्ठानिने अदृश्य डण्डाले हप्काइदिन्छ । कुरा सुन्ने कानलाई उत्तरको स्वाद मात्र चाहिन्छ, सोध्ने जिब्रोलाई निश्चिन्त निद्रा । यस्तो मनोदशामा ‘समालोचनात्मक सोच’ भित्र्याउनु भनेको सधैँदेखि बन्द सिँढीमा पहिलो पाइलो राख्नुजस्तै हो—अँध्यारो, तर सम्भावनाले कम्पन भएको । यही कम्पनलाई स्वर दिने पहिलो दार्शनिक थिए—जॉन ड्युयी । उनले आलोचनालाई आकाशबाट झरेको बिजुली मानेनन्; बरु दैनिक जीवनको सामान्य घर्षण, जसबाट चिन्तनको दियो बल्छ । उनको भनाइ: “Reflective thought is active, persistent and careful”—अर्थात् सोच भनेको आँखामा लागेको धूलो पुछेर पुनः हेरिरहनु हो ।

    तर ड्युयीका बीउहरू नेपाली माटोमा अंकुराउनुलगत्तै रोबर्ट एनिसको हात पुग्यो । उनले आलोचनात्मक चिन्तनलाई दुई गुरु–सङ्गीतमा बाँधे—दृष्टिकोण (dispositions) र सीपहरू (skills) । दृष्टिकोण भनेको मुहान हो, जहाँबाट पानी बग्न तयार हुन्छ; सीप भनेको नहर जस्तो, जसले पानीलाई सही खेतसम्म पुर्‍याउँछ । कखरा सिक्नुअघि धर्तीको गन्ध चिनेजस्तो—दृष्टिकोणले विद्यार्थीलाई स्रोत खोज, वैकल्पिक विचार ग्रहण, पूर्वधारणा संशोधन र प्रमाणको मूल्यांकन गर्न मनोवैज्ञानिक तत्परता दिन्छ ।

    कुनै पनि दृष्टिकोण कथित ‘मूल्य–तटस्थ’ हुँदैन; यसले आत्माको तासीर बनाउँछ, ठीक त्यसरी, जसरी वर्षौँदेखि सिँचाइ नपाएको माटोमा पहिलो वर्षाको आत्मीय स्वरले भिजाउँछ । दृष्टिकोण परिचालित भएपछि सीपहरू उदाउँछन् । त्यो तर्क–नक्साङ्कन हो, परिभाषालाई नाप्ने मीटर हो, स्रोतको साँचो नक्कली छुट्याउने चुम्बक हो । एनिस भन्छन्—यदि विद्यार्थीले ‘त्रुटिपूर्ण तर्क छुट्याउने’ कला सिकेनन् भने, उनीहरू सत्यको साँचो छविलाई कहिल्यै देख्न सक्दैनन्; आँखामै पर्दा नदेखेको फिल्म चलेजस्तो स्थिति हुन्छ ।

    हामी यही भिडन्तमा अर्को दार्शनिक–युगल भेट्छौँ—रिचर्ड पॉल र लिण्डा एल्डर । उनीहरूले “थट प्रोसेस” का आठ पाटा कोरे—उद्देश्य, प्रश्न, सूचना, अवधारणा, पूर्वधारणा, निष्कर्ष, प्रभाव र दृष्टिकोण । यी पाटा रहस्यका छाप होइनन्, तर चेतनाको अष्टकम; जसरी संस्कृत ‘अष्टाङ्ग योग’ ले ध्यानको आठ खुड्किलो सुझाउँछ, पॉल–एल्डरको अष्टङ्गहरूले सोचको यात्रालाई शुध्द मार्ग दिन्छ । जब विद्यार्थीले लेख लेख्छ, उनी स्वभावतः उद्देश्य र प्रश्नको दोभानमा उभिएको हुन्छ; तर यदि उसले आफ्नै पूर्वधारणा नअन्तर्दृष्ट्या नापे, उसका निष्कर्षहरू आधा–झ्यालजस्तो हुन्—जहाँबाट प्रकाश छिर्छ, तर हावा हुँदैन । शिक्षकले यदि नेपालको दूरदराज कक्षामा ठिङ्ग उभिएर “मेरो जानकारी विश्वसनीय छ?” भन्ने आत्मप्रश्न विद्यार्थीको कानमा पुकुर पुकुर सुनाउन सके, त्यो क्षण कक्षा–शून्यले ब्रह्माण्डसँग संवाद गर्ने सानो रेडियो बोल्छ ।

    यस्ता बौद्धिक रेडियोहरू खोल्नु सजिलो छैन । काठमाण्डौका पर्खालबीच थुपै्र सार्वजनिक विद्यालयहरूमा गरिएको अध्ययनले देखाउँछ—सिकाइ अझै पनि शिक्षक–केन्द्रित, पाठ्यपुस्तक–निर्भर र अंककेन्द्रित छ । प्रश्नहरू कण्ठ गर्न पाइन्छ, प्रश्न उठाउन पाइँदैन । कस्तो विडम्बना—१२ कक्षाको अंग्रेजी पाठ्यक्रमले आलोचनात्मक सोचलाई ‘core competency’ भन्छ; तर परीक्षा तयार पार्ने बोर्डले अङ्क खोज्ने उत्तर नै पुरस्कार दिन्छ । फलस्वरूप, शिक्षकलाई बहस, विपक्ष र विमतिलाई व्यजनको मसला होइन, अनुशासनको बन्धन तोड्ने उल्झन ठानिन्छ । शिक्षण प्रक्रिया यसैगरी एकपक्षीय व्याख्यानमा सीमित हुँदा, विद्यार्थीको मन सिलसिलेवार प्रमाण, तथ्य र तर्कको फोहोर पनि टिप्न नजानेर मिडिया प्रदत्त ग्लिटरको उपभोक्ता बन्छ । यसरी शिक्षा ‘उपभोक्ता लिप्सा’ को डल्लो बन्न पुग्छ; जहाँ विचारका बीजलाई मल–पानी होइन, तेजाबीय चमक खन्याइन्छ ।

    तर मानव चेतनाको उत्क्रान्ति सधैँ प्रश्नबाटै जन्मिएको छ । भारतीय उपनिषद्‌का ऋषि ‘कोऽहम्’ अर्थात् "मैं कौन हूँ?" भन्दै जन्मको वृत्तचित्र भाँच्थे; प्लेटोले गुफाभित्रको छायाँ तोडेर हेर्न सुझायो । आधुनिक युगमा प्रश्नको ज्वालाभित्र ड्युयी, एनिस, पॉल–एल्डर दगुरे । आजको एआई प्रविधिले प्रश्नको विकल्प होइन, प्रश्नको प्रोत्साहन खोज्छ—किनभने एआईले सबै जवाफहरूको छाया उभ्यायो, तर सत्यको देह सधैँ मानिसले छुनुपर्ने हुन्छ । यदि मशीनले कुनै तर्क तयार पार्‍यो भने, त्यसको पूर्वधारणा को/कसले जन्मायो? के ट्रेनिङ डाटामा पूर्वाग्रह थियो? विश्वसनीयता कहाँ नापिएको हो? शिक्षाले यी प्रश्न गर्ने मनोवृत्ति नदिए, एआईले बनाएको ‘इन्डस्ट्रियल–ग्रेड भ्रम’ ले नागरिकको विवेकलाई करेन्ट–कट गर्नेछ ।

    हेर्दा राजनीति, अर्थतन्त्र र समाज तीनै थलोमा निर्णयहरू गहिरो विश्लेषण बिना तुरुन्त बनिन्छन् । ‘हुँदाहुँदा’ राजनीतिक विज्ञप्ति र आर्थिक प्रतिवेदन पनि भाषिक–मोडेलले तयार पार्ने अवस्था सुरु भएको छ । यदि पढ्ने मनले स्रोत छुट्याउने क्षमतामा कसरत गरेन भने, लोकतन्त्र शोभा मात्र हो; ‘डाटा–फार्म’ ले खन्याएको सूचना–डोज मानिसले निङ्गाल्छ, निर्णय नदिचार स्वीकार्छ । यही जोखिमलाई संसारका नीति निर्माता चिन्न थाले—त्यसैले ४C skills (Critical thinking, Creativity, Collaboration, Communication) लाई पाठ्यक्रमको मेरुदण्ड बनाउने घोषणापछि घोषणै घोषणाको वर्षा भएको छ । नेपालले पनि प्रारम्भिक कक्षामा ‘Soft Skill’ भनेर आलोचनात्मक सोच थाँचेको छ । तर नीति–पानीले बिउ नअँझै टुसाउन सक्दैन, जबसम्म माटो—अर्थात् कक्षाकोठाको संस्कार—भिज्दैन । माटो भिजाउन बाँझो चोटि शिक्षक चेतनाको सिँचाइ हो ।

    एक मनोवैज्ञानिक हेक्का हो—जब शिक्षकले प्रश्नलाई ‘चुनौती’ होइन ‘सर्जक ऊर्जा’ माने, विद्यार्थीको मस्तिष्कमा असंख्य डेप्थ–फाइल खुल्छन् । त्यो ऊर्जा प्रतिबिम्बित हुने पहिलो घडीमा अनुशासन भनेको मौनतामा होइन, स्वाधीन सोधपुछमा भेटिन्छ । एनिसको सीप–सूची चरणबद्ध अभ्यास बनेर कक्षामा लागू हुँदा, विद्यार्थीले नोटबुकको खाली पानामा तर्कको नक्सा कोर्छ । पॉल–एल्डरको आठ तत्त्वीय फ्रेम शिक्षकको करेसाबारी हुन्छ, जहाँ ‘सूचना’ भन्ने बालीलाई ‘सन्दर्भ’ नामको हिलाम्मे खेतमा रोपिन्छ, ‘पूर्वधारणा’ नामको हिउँछेक ह्लो चलाइन्छ, अनि ‘निष्कर्ष’ नामको फलाउरो उब्जाइन्छ । यी सबै प्रक्रियामा सोच र भावना दुवै भिज्छन् । त्यो भेटघाटको नमी नै हो, जो शिक्षा अन्तर्मनको सुरिलो आवाज हो ।

    हुन त शिक्षा एकान्त यात्राभन्दा सँगै हिँड्न सिकाउने pilgrimage जस्तो हो । मानिसले ज्ञानको पहाड चढ्दा, प्रश्नहरूको छाता बोकेर हिँड्दा, उचाइको सास लिन गाह्रो हुन्छ । तर उचाइमै आकाश नजिक छ । नेपाली शिक्षा उचाइ चढ्ने बाटोमै छ, तर अझै पनि सुक्खा रटन्ते अक्सिजन सिलिन्डर बोकेर आँखा अस्तव्यस्त गर्दैछ । यदि हामीले आलोचनात्मक सोचलाई केवल ‘थप थोपरी’ ठानेर पाठ्यक्रमको पछिल्लो पन्नामा राख्यौँ भने, सासै अड्कनेछ । तर यदि यसलाई शिक्षा–शरीरको स्वासप्रश्वास बनाई हिँडायौँ भने, ती पाइलाले हिमालमाथि सूर्योदय देख्नेछ ।

    यस यात्राको सबैभन्दा आकर्षक बिन्दु के हो भने, आलोचनात्मक सोच आफैँमा कला पनि हो, कर्तव्य पनि । यो कला हो किनभने यसमा सौन्दर्य छ—प्रश्नको सौन्दर्य, संशयको गीत, सत्यको उज्यालो । यो कर्तव्य हो किनभने यसले नागरिकलाई विवेक–पथमा उभ्याउँछ । जसरी बुद्धले कपिलवस्तु त्याग्दा प्रश्नको पुकार सुने, जसरी सुकरातले विषको प्याला पिउँदा प्रश्न नछाडे, किनकि प्रश्न जीवित रह्यो भने समाज जीवित रहन्छ ।

    अन्ततः, शिक्षा अन्तर्मनमा समालोचना एउटा दार्शनिक यात्रा हो—जहाँ पाठ्यक्रम होइन, चेतनाको मानचित्र कोर्छ । एआईले चिल्लो सडक तयारी गरेको छ; तर सडक–किनारामा उभिएका स्याउमूलका रूखमा त्यसले फल देख्दैन । फल देख्न आखाँ चाहिन्छ, आँखामा विवेक; विवेक ल्याउन सोचको मानिसहरूलाई बसाइ–सरण गराउनु पर्छ—रटन्ते सद्दीबाट आलोचनात्मक दिग्भ्रमसम्म । यस दिग्भ्रमको बीचमा बीज रूपि आशा भनेको—प्रत्येक कक्षाभित्र एउटा सानो ड्युयी, एउटा सानो एनिस, एउटा सानो पॉल–एल्डरको आवाज गुञ्जिरहनेछ, जसले हरेक विद्यार्थीको मुटुमा “किन?” भनी टकटक गर्नेछ । त्यो टकटक सुन्नु नै शिक्षाको प्रथम मन्त्र हो ।

    हामीले यो मन्त्र बिर्सियौँ भने, सूचना युगको सभ्यता मीनार बिना उक्लँदै जाँदा, हामीले शिखर देख्दैनौँ—क्लाउडमा खुम्चिएर हराउनेछौँ । तर यदि सोधपुछको आरोहण गर्ने साहस बचायौँ भने, ज्ञान तारा मात्र होइन, तारा पछाडिको मौनता पनि बोल्न थाल्छ ।

    समालोचनात्मक सोच त्यही मौनताको लिपि हो, जुन सुनेपछि भाषा शब्दभन्दा गहिरो हुन्छ, शिक्षा परीक्षा भन्दा पर हुन्छ, र मानिस–मनुष्य—तर्क–भावनाको सन्तुलित संगीत—बन्छ । त्यसैले, शिक्षा अन्तर्मनमा समालोचना आज हाम्रो साझा दार्शनिक दायित्व हो; नत्र ज्ञानको आँखामा ऐना राखेर, आफ्नै प्रतिबिम्ब हराउँदै गएँ भने, प्रविधिको छायाँले हामीलाई नक्कली सूर्य देखाएर सधैँझैँ भ्रमित दिनमै राखिरहनेछ।

    लेखक डम्मर सिंह साउद, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।

    images
    बुधवार, श्रावण ८ २०८२०६:५३:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार