Jul 27 2026 | २०८३, श्रावण ११ गते

उच्च शिक्षाप्रतिको घट्दो आकर्षण कारण र समाधान

उच्च शिक्षाप्रतिको घट्दो आकर्षण कारण र समाधान

  • 1.5K
    SHARES

  • उच्च शिक्षाप्रतिको घट्दो आकर्षण कारण र समाधान

    साउन, ९ गते। नेपालजस्तो विकासोन्मुख मुलुकमा शिक्षा केवल ज्ञान प्राप्तिको प्रक्रिया नभएर सामाजिक रूपान्तरण, आर्थिक उन्नति र व्यक्तिगत सशक्तीकरणको आधार मानिन्छ। विशेषतः उच्च शिक्षा व्यक्तिको समग्र जीवन दृष्टिकोणमा परिवर्तन ल्याउने माध्यम हो, जसले उनीहरूलाई सामाजिक रूपले सचेत, आर्थिक रूपमा आत्मनिर्भर, र राजनीतिक रूपमा जिम्मेवार नागरिक बनाउँछ। तर पछिल्ला वर्षहरूमा नेपालका विभिन्न भूगोलहरूमा, विशेषगरी सुदूरपश्चिम प्रदेशका विकट जिल्लाहरूमा उच्च शिक्षाप्रति युवाहरूको आकर्षण दिन–प्रतिदिन घट्दै गएको यथार्थ अति नै गम्भीर र चिन्ताजनक बन्दै गएको छ। यो केवल व्यक्तिगत निर्णय नभएर संरचनागत, नीतिगत र सामाजिक संरचनासँग गाँसिएको बहुआयामिक समस्याको परिणाम हो।

    म स्वयं सुदूरपश्चिमको विकट जिल्ला दार्चुलाको स्थायी बासिन्दा हुँ। मेरो शिक्षा यात्रा गाउँको थुप्रै कठिनाइबीच सुरु भयो जुन हरेक ग्रामीण युवाको साझा कथा हो। मैले सानैदेखि देख्दै आएको छु कसरी बालबालिका बर्खामा खोलाबाट तर्नुपर्ने, कसरी एक पुस्तक पुरै कक्षाले पालोपालो पढ्ने, कसरी शिक्षकविहीन कक्षामा समय बिताउने। यस्ता परिस्थिति पार गरेर उच्च शिक्षामा पुग्न सक्नु आफैँमा एक संघर्ष हो। तर अफसोस, यो संघर्षको गन्तव्य हर्षजनक छैन। आज म जस्तै सयौं युवाहरू उच्च शिक्षाको शुरुवातमै थाकिसकेका छन्। कोही आर्थिक अभावका कारण बीचमै पढाइ छोडिरहेका छन्, कोही शिक्षापछि पनि बेरोजगार भएर निराश भएका छन्, अनि कोही झन् विदेश पलायनलाई विकल्प नभई अनिवार्यताको रूपमा लिन थालेका छन्।

    दार्चुला जिल्लामा जन्मिएर, अहिले स्नातक तहमा अध्ययनरत एक युवकका रूपमा मैले प्रत्यक्ष रूपमा अनुभूत गरेको छु कि शिक्षा, विशेषतः उच्च शिक्षा, अब युवाहरूको प्राथमिकतामा छैन। कुनै समय साथीभाइसँगै उच्च शिक्षा लिने योजनाबद्ध सपना देखिन्थ्यो; तर आज तीमध्ये धेरैजसो साथीहरू कतार, मलेसिया वा भारतको निर्माण स्थलमा मजदुरी गरिरहेका छन्। केहीले आंशिक रूपमा पढाइको यात्रा थाले पनि निराशा, बेरोजगारी र आर्थिक बोझका कारण बाटोमै छाडे। ती युवा साथीहरूका अनुहारमा मैले देखेको निराशा, उनीहरूको मौनता, र मनको गहिराइमा रहेको हिनताबोध कुनै कथा मात्र होइन यो नेपालको युवा पुस्ताको सामूहिक वेदना हो।

    सर्वप्रथम, उच्च शिक्षाप्रति घट्दो आकर्षणको मूल कारण आर्थिक अभाव हो। नेपालका ग्रामीण क्षेत्रहरू, विशेषतः सुदूरपश्चिमका जिल्ला, अझै पनि कृषि–आधारित परम्परागत अर्थतन्त्रमा अडिएका छन्। वर्षामा भर पर्ने, अर्धउत्पादक खेतीबाट प्राप्त आम्दानी उच्च शिक्षाको बढ्दो खर्च धान्न असमर्थ हुन्छ। सहरमा जानु, कोठा भाडा तिर्नु, किताब किन्नु, इन्टरनेट चलाउनु र अन्य जीवनोपयोगी आवश्यकताहरू पूरा गर्नु गाउँले परिवारका लागि 'लक्जरी' सरह हो। यस्तो आर्थिक सन्दर्भमा शिक्षा अब स्वतन्त्र रोजाइ होइन, 'अवसरविहीनताको परिणाम' बन्न पुगेको छ। उच्च शिक्षालाई थालनी गर्नु भनेको कतिपय परिवारका लागि आफ्नो जमिन, गाईवस्तु बेच्नु, वा ऋणमा डुब्नु हो। यहीँबाट धेरै युवाको आत्मबल खस्कन थाल्छ। जस्तै मेरा एकजना दार्चुलाकै साथी, जो एसईई परीक्षामा आफ्नै स्कुलमा टप थ्रीमा परेका थिए, अहिले भारतको पिथौरागढमा निर्माण मजदुरको रूपमा कार्यरत छन्। उनले प्लस टु सकेपछि पढ्न छाड्नुपर्‍यो किनकि बाबुको स्याहार, परिवारको खर्च र पढाइ सँगसँगै व्यवस्थापन गर्ने अवस्था थिएन। उनी भन्छन्, “काम नगरी घर चल्दैन, पढेर पनि जागिर छैन भने किन पढ्ने?”

    दोस्रो, शिक्षापछि पनि बेरोजगार रहने यथार्थले युवाहरूको मानसिकता पूर्णतः विचलित बनाएको छ। नेपालमा उच्च शिक्षा पाउनेहरूको संख्या विगत केही वर्षमा उल्लेखनीय रूपमा बढेको भए पनि, रोजगारी सिर्जनाको अनुपातमा त्यसको कुनै प्रत्याभूति छैन। सरकारी रोजगारी सीमित छन्, प्रतिस्पर्धा अत्यन्त चर्को छ, र निजी क्षेत्र अझैसम्म 'सुरक्षित करियर' को ग्यारेन्टी दिन सक्ने अवस्थामा पुगेको छैन। मानविकी, समाजशास्त्र, शिक्षाशास्त्र जस्ता विषयहरूमा स्नातक वा स्नातकोत्तर गरेका युवाहरूको ठूलो जमात रोजगारविहीन छन्। उनीहरूले यत्रो पढाइपछि पनि घरमै बस्नुपर्ने, ‘बेरोजगार स्नातक’ को परिचय बोक्नुपर्ने बाध्यताले शिक्षा भन्ने कुराप्रति नै वितृष्णा उत्पन्न भएको छ। जस्तै एक जना गाउँका दाइ, जो समाजशास्त्रमा स्नातकोत्तर गरेर गोल्डमेडलिस्ट भएका थिए, अहिले दार्चुलामा तरकारी खेती गरिरहेका छन्। पाँच वर्षदेखि उनी रोजगारीको प्रयास गर्दै छन्, तर सफलता नपाएर अन्ततः व्यावसायिक कृषि रोज्नुपर्‍यो। उनले दुखेसो गर्दै भने, “पढेर पनि काम नपाउने हो भने, केका लागि यत्रो कष्ट र समय खर्च गर्ने?”

    तेस्रो, युवाहरूको वैदेशिक रोजगारीतर्फको मोह पनि शिक्षाप्रति आकर्षण घट्नुपर्ने अर्को कारक हो। कतिपय अवस्थामा यो बाध्यता हो; तर धेरैजसो अवस्थामा तत्काल आम्दानी, भौतिक सुखसुविधा र समाजमा देखिने 'प्रगतिशीलताको भ्रम' ले युवाहरूलाई खाडी मुलुक, मलेसिया, कोरिया जस्ता देशतर्फ आकर्षित बनाएको छ। विशेषतः जब गाउँमै कोही साथी विदेशबाट पैसा कमाएर नयाँ मोबाइल, मोटरसाइकल वा घर बनाउँछन्, तब उच्च शिक्षामा लगानी गर्न कष्टपूर्ण देखिन्छ। यस्तो तुलनात्मक चेतनाले शिक्षा होइन, वैदेशिक रोजगारलाई 'सफलताको पर्याय' ठान्न थालिन्छ। यसले केवल व्यक्तिको दृष्टिकोणलाई मात्र होइन, सामाजिक चेतनालाई समेत विकृत बनाइरहेको छ।

    चौथो र अन्तिम प्रमुख कारण भनेको गुणस्तरीय शिक्षाको पहुँचको अभाव हो। ग्रामीण क्षेत्रका क्याम्पस, विद्यालय र शिक्षा संस्थाहरू अझै पनि पूर्वाधार, दक्ष जनशक्ति, प्रविधि र शैक्षिक सामग्रीको गम्भीर अभावमा छन्। पुस्तकालय र प्रयोगशाला त परै जाओस्, धेरै ठाउँमा पाठ्यपुस्तकसमेत ढिलो पुग्छ। इन्टरनेट सेवा कमजोर छ, ई–लर्निङको पहुँच नगण्य छ, र शिक्षण सिकाइ प्रविधि पुरानै छ। यस्तो अवस्थामा विद्यार्थीसँग पढ्ने इच्छा भएको खण्डमा पनि उसको अध्ययन यात्राले सघन अवरोध भोग्नुपर्छ। शिक्षाको गुणस्तर नबढाईकन, शिक्षाको मूल्य सामाजिक रूपमा घट्नसक्छ।

    यसो भनेको मात्र समस्याको वर्णन हो। अब प्रश्न उठ्छ यसलाई कसरी समाधान गर्ने? पहिलो, राज्य तथा स्थानीय निकायहरूले आर्थिक अवरोध घटाउन छात्रवृत्ति, सहुलियत ऋण तथा अनुदान कार्यक्रमहरू प्रभावकारी रूपमा ल्याउनुपर्छ। मेधावी तथा सीमान्तकृत विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क शिक्षाको पहुँच विस्तार गर्न सकिन्छ। यसले अभावका कारण शिक्षाबाट टाढा रहेका युवालाई पुनः उत्साहित गर्नेछ।

    दोस्रो, शिक्षा प्रणालीलाई रोजगारीसँग प्रत्यक्ष रूपमा गाँसिन आवश्यक छ। किताबी ज्ञानका अतिरिक्त, जीवनोपयोगी सीप, उद्यमशीलता, डिजिटल साक्षरता, कृषि तथा पर्यटन जस्ता क्षेत्रसँग जोडिएका विषयहरू विद्यालयदेखि नै सिकाइनुपर्छ। स्थानीय क्याम्पसहरूमा नयाँ विषयगत कार्यक्रमहरू सञ्चालन गरेर युवालाई अध्ययनसँगै रोजगारीको बाटो देखाउन सकिन्छ। यसले “पढेर पनि के हुन्छ?” भन्ने मानसिकता हटाउनेछ।

    तेस्रो, प्रेरणादायी व्यक्तित्वहरूलाई स्थानीयतर्फ ल्याएर युवामा आशा र आत्मविश्वास जगाउनुपर्छ। गाउँकै कोही व्यक्ति जो शिक्षाको माध्यमबाट सफल भएका छन्, उनीहरूको कथा विद्यालय, सामुदायिक रेडियो, र सामाजिक संजालमार्फत प्रस्तुत गर्न सकिन्छ। “ऊ पनि त मेरो गाउँको हो, म पनि सक्छु” भन्ने अनुभूति युवालाई अध्ययनमा प्रेरित बनाउन सक्छ।

    चौथो, प्रविधिमा आधारित शिक्षाको विस्तार गरी डिजिटल पहुँच सुनिश्चित गर्न सकिन्छ। इन्टरनेट, डिजिटल कक्षा, मोबाइल लर्निङ एप्स, र ई–पाठ्यपुस्तकमार्फत शिक्षा आधुनिक, प्रभावकारी र सहभागी बनाइन्छ। सरकार, स्थानीय निकाय, र निजी क्षेत्रको सहकार्यमा डिजिटल शिक्षाको पूर्वाधार तयार गर्न सकिन्छ।

    शिक्षा केवल ‘पढ्ने कुरा’ होइन, चेतना निर्माणको प्रक्रिया हो। तर जब शिक्षाले आर्थिक सशक्तीकरण, सामाजिक सम्मान वा रोजगारीको ग्यारेन्टी दिन सक्दैन, तब त्यो केवल एउटा महँगो खर्चमा सीमित हुन्छ। यही सोच र संरचनाको परिवर्तन अहिलेको आवश्यकता हो। युवाहरू शिक्षा प्रति निराश हुनु केवल उनीहरूको असफलता होइन, यो हाम्रो नीति, संरचना र व्यवस्थाको असफलताको स्पष्ट प्रतिबिम्ब हो।

    यदि हामीले अझै पनि शिक्षालाई पहुँचयोग्य, गुणस्तरीय र उपयोगी बनाउन सकेनौं भने, गाउँमा बालबालिका र बुढाबुढी मात्र रहने, र युवाशक्ति विदेशमा पसिना बगाउने युग अझै लामो समय टिक्नेछ। त्यसैले यो घडी शिक्षामा गम्भीर पुनर्विचारको हो जहाँ शिक्षा सबैका लागि हो, शिक्षा जीविकोपार्जनसँग जोडिएको छ, र शिक्षा देश निर्माणको मेरुदण्ड हो भन्ने दृष्टिकोणले हामी सबै अघि बढ्न सक्नुपर्छ।

    निष्कर्षमा, उच्च शिक्षाप्रति घट्दो युवाको आकर्षण केवल व्यक्तिगत वा पारिवारिक समस्या होइन, यो राज्यको ध्यानाकर्षण गराउनुपर्ने नीतिगत चुनौती हो। शिक्षालाई सजिलो, सुलभ, प्रेरणादायी र उपयोगी बनाउन सक्यौं भने मात्र नयाँ पुस्ता आफ्नो जरा–पहिचानसँग जोडिएर समृद्ध नेपालको सपना साकार गर्नसक्नेछ।

    लेखक खिम सिंह विष्ट सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका बिद्यार्थी हुन्।

    images
    शुक्रवार, श्रावण १० २०८२०५:११:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार