शनिवार, श्रावण ११ २०८२
कुशुम रैखोला - साउन, १० गते। आजको युगलाई ‘प्रविधिको युग’ भनिनुका पछाडि वैज्ञानिक उपलब्धि र नवप्रवर्तनका अनेक पक्षहरू छन्, जसले मानव जीवनलाई तीव्र, सुलभ र वैश्विक बनाएका छन्। प्रविधिले शिक्षा, सञ्चार, स्वास्थ्य, कृषि, उद्योगलगायतका क्षेत्रमा अद्वितीय रूपान्तरण ल्याएको छ। तर, प्रविधिको प्रभाव केवल सकारात्मक पक्षमा मात्र सीमित छैन; यसले केही गम्भीर सामाजिक, नैतिक र मानसिक चुनौतीहरू पनि निम्त्याएको छ। तसर्थ, प्रविधिको बहुआयामिक प्रभावको समालोचनात्मक रूपमा विश्लेषण गर्नु अपरिहार्य छ, जसले हामीलाई यसको विवेकशील प्रयोगतर्फ उन्मुख गराउन सक्छ।
शिक्षा क्षेत्रमा प्रविधिको योगदान उल्लेखनीय छ। डिजिटल माध्यमबाट सिकाइका शैलीहरू विस्तार भएका छन् जस्तै अनलाइन कक्षा, ई-पुस्तक, युट्युब सामग्री, जुम र गुगल कलासरुम जस्ता प्लेटफर्महरूले सिकाइलाई समावेशी र पहुँचयोग्य बनाएका छन्। विशेषगरी ग्रामीण भेगका विद्यार्थीहरूका लागि यो प्रविधि वरदान सावित भएको छ, जसले उनीहरूलाई भौगोलिक दूरी हटाएर समान अवसर प्रदान गरेको छ। प्रविधिको कारण शिक्षा अहिले समय र स्थानको सीमाबाट मुक्त हुँदै व्यापक हुँदै गएको छ।
यद्यपि, यही प्रविधिको अत्यधिक प्रयोगले शिक्षामा केही गम्भीर समस्याहरू पनि जन्माएको छ। शिक्षक र विद्यार्थीबीचको प्रत्यक्ष अन्तरक्रिया घटेको छ, जसले शैक्षिक अनुशासन, सामाजिक व्यवहार र सह-अस्तित्वका मूल्यहरूमा ह्रास ल्याएको छ। त्यस्तै, विद्यार्थीहरू अनलाइन कक्षामा सक्रिय नभइ ध्यान अन्यत्रै केन्द्रित गरिरहेका पाइन्छन्। कृत्रिम बुद्धिमत्ता र च्याटजीपीटीजस्ता उपकरणको दुरुपयोग गरेर नकल संस्कृतिमा रमाउने प्रवृत्ति मौलाएको छ, जसले सिर्जनशीलता र मौलिकताको क्षय गरिरहेको छ।
सञ्चार क्षेत्रलाई हेर्दा प्रविधिले सबैभन्दा तीव्र परिवर्तन यही क्षेत्रमा ल्याएको देखिन्छ। अघिल्ला समयमा सूचनाको आदानप्रदानका लागि चिठीको भर पर्नुपर्ने हुन्थ्यो, तर आज इन्टरनेटको माध्यमबाट सेकेन्डभित्रै संसारका कुनाकाप्चासम्म सन्देश पठाउन सकिन्छ। मोबाइल फोन, सामाजिक सञ्जाल, इमेल, भिडियो कलजस्ता प्रविधिले मानिसहरूको सम्बन्धलाई नयाँ स्वरूप दिएका छन्। तर, यिनै प्रविधिको अति प्रयोगले आभासी सम्बन्धमा सीमित बनाउँदै मानिसको सामाजिकपनमा ह्रास ल्याएको छ, जसले पारिवारिक एवं आत्मीय सम्बन्धहरूमा टुटफुट ल्याइरहेको छ। यसरी प्रविधिको प्रयोग सन्तुलित नहुँदा यसको नकारात्मक प्रभाव समाजमा गहिरो रूपमा महसुस भइरहेको छ।
आजको युगमा सामाजिक सञ्जालहरू दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेका छन्, तर यिनै प्रविधिहरूले सामाजिक जीवनमा विकृति पनि निम्त्याएका छन्। फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले मानिसलाई आभासी सम्बन्धमा बाँध्ने काम गरेका छन्, जसले आत्मीयता र पारस्परिक संवेदनामा गिरावट ल्याएको छ। युवा पुस्ताको समय र ऊर्जा यस्ता माध्यममा खर्च हुँदै जाँदा अध्ययन, सिर्जनशीलता र सामाजिक जिम्मेवारीमा उदासीनता देखिएको छ। सम्बन्धहरू वास्तविकता भन्दा ‘लाईक’ र ‘रियाक्सन’को गहिराइमा सीमित हुँदा मानिसबीचको भावनात्मक सम्बन्ध कमजोर बनिरहेको छ।
स्वास्थ्य सेवामा प्रविधिको प्रयोगले साँच्चिकै क्रान्ति ल्याएको छ। टेलिमेडिसिन सेवाको विकासले भौगोलिक दूरी हटाउँदै रोगीलाई विशेषज्ञसँग प्रत्यक्ष संवाद गर्ने मौका दिएको छ। डिजिटल एक्सरे, एमआरआई, सीटी स्क्यान, रोबोटिक सर्जरीजस्ता अत्याधुनिक प्रविधिको प्रयोगले गम्भीर रोगको समयमै पहिचान र उपचार सम्भव भएको छ। विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँचका लागि प्रविधि एउटा वरदान सावित भएको छ, जसले सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता बढाएको छ।
तर, प्रविधिमा अत्यधिक निर्भरता र यसको अन्धाधुन्ध प्रयोगले गम्भीर चुनौतीहरू पनि उत्पन्न गराइरहेको छ। डिजिटल स्वास्थ्य एप्सको आधारमा आफूलाई औषधि दिन थाल्ने वा इन्टरनेटमा उपलब्ध जानकारीकै भरमा उपचार गर्ने प्रवृत्तिले ‘गुगल डाक्टर’ बन्ने खतरा बढाएको छ। यसले रोगको गलत निदान र उपचारमार्फत स्वास्थ्य जोखिम थप बढाइरहेको छ। त्यस्तै, प्रविधिले चिकित्सक र बिरामीबीचको परम्परागत संवेदनशील सम्बन्धलाई भंग गर्दै मानवतावादी उपचार संस्कृतिलाई कमजोर पार्न थालेको छ।
कृषि क्षेत्र पनि प्रविधिको सकारात्मक प्रभावबाट अछुतो छैन। प्रविधिको सहायताले किसानहरू मल, बीउ, आधुनिक सिँचाइ प्रविधि, मौसम पूर्वानुमानजस्ता महत्त्वपूर्ण सूचनामा सजिलै पहुँच राख्न सक्ने भएका छन्। यान्त्रिक उपकरणको प्रयोगले कृषि प्रक्रिया सरल, छिटो र उत्पादक बनाएको छ। साथै, अनलाइन बजार प्रणालीको विकासले कृषकहरूलाई बिचौलियाको शोषणबाट मुक्त गर्दै आफ्ना उत्पादनको उचित मूल्य पाउन सक्ने सम्भावना देखाएको छ। यद्यपि, यी प्रविधिहरू सबै किसानको पहुँचमा नपुग्दा सामाजिक र आर्थिक असमानताको खतरा पनि बढिरहेको छ, जसलाई नीति निर्माणका तहबाट सम्बोधन गर्न जरुरी छ।
प्रविधिले कृषिमा धेरै सकारात्मक परिवर्तन ल्याएको भए पनि सबै किसानले यसको लाभ बराबरी रूपमा पाएका छैनन्। विशेषगरी साना किसानहरू प्रविधिबाट टाढा छन्, जसका कारण उनीहरू अझै परम्परागत औजार र विधिमै निर्भर छन्। प्रविधिमा पहुँच नहुनु र आवश्यक ज्ञानको अभावले उनीहरूलाई आधुनिक कृषि प्रविधिबाट वञ्चित गराएको छ, जसले कृषिमा वर्गीय विषमता बढाएको छ। साथै, अत्यधिक यान्त्रिकीकरणले परम्परागत ज्ञान, सामुदायिक सहयोग, र आत्मनिर्भरताको संस्कृति कमजोर बनाउँदै लोप हुने खतरा पनि बोकेको छ, जसले दीर्घकालीन रूपमा कृषिको आत्मा नै मेट्न सक्छ।
यातायात क्षेत्रमा प्रविधिको प्रयोगले यात्रालाई सजिलो, छरितो र व्यवस्थित बनाएको छ। जिपिएस प्रविधिले मार्ग पहिचान सजिलो बनाएको छ भने डिजिटल टिकटिङ र अनलाइन सेवा प्रणालीले यात्रीलाई लामो पर्खाइ र झन्झटबाट बचाएको छ। तर नेपालजस्ता विकासोन्मुख मुलुकमा अझै पनि ट्राफिक व्यवस्थापन, सडक सुरक्षाका उपकरण, र आपतकालीन प्रविधिको समुचित विकास र प्रयोग हुन सकेको छैन। प्रविधिको पहुँच र प्रभावकारी उपयोगबीचको खाडल हटाउन आवश्यक पूर्वाधार, नीति र दक्ष जनशक्ति आवश्यक देखिन्छ।
प्रविधिको प्रभाव मानव सम्बन्ध र सामाजिक संरचनामा गहिरो रूपमा देखिएको छ। पहिलेको जस्तो आत्मीय भेटघाट, सामूहिक जमघट र सहकार्यको संस्कृति क्रमशः हराउँदै गइरहेको छ। अहिलेका पारिवारिक सम्बन्ध मोबाइल स्क्रिन र सामाजिक सञ्जालका 'स्टाटस' र 'रियाक्सन' भित्र सीमित भइरहेका छन्। विशेष गरी बालबालिका वास्तविक खेलकुद, प्राकृतिक अनुभव र सामाजिक अन्तरक्रियाबाट टाढा हुँदै डिजिटल माध्यममा मात्र केन्द्रित छन्, जसले उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा नकारात्मक असर पुर्याइरहेको छ।
यसै गरी, प्रविधिले मानिसलाई शारीरिक रूपमा निष्क्रिय बनाउँदै लगेको छ। पहिलेका दैनिक क्रियाकलापहरू अब एक थिचाइमा सीमित भएका छन्, जसको असर स्वास्थ्यमा प्रत्यक्ष देखिएको छ जस्तै मोटोपन, मधुमेह, उच्च रक्तचाप जस्ता समस्याहरू वृद्धि हुँदै गएका छन्। मानवीय शरीर र मस्तिष्कलाई सक्रिय राख्न आवश्यक गतिविधिहरू घट्दै जानु दीर्घकालीन रूपमा गम्भीर चिन्ताको विषय हो। साथै, भर्चुअल दुनियाँमा अत्यधिक आश्रित भई वास्तविक जीवनका मूल्य र सम्बन्धहरूबाट टाढिँदै जानु सामाजिक सन्तुलन र मानवीय अस्तित्वका लागि खतराको संकेत बन्न थालेको छ।
प्रविधिले मानव जीवनका विविध पक्षहरूमा अभूतपूर्व परिवर्तन ल्याएको भए तापनि मानसिक स्वास्थ्यमा यसको नकारात्मक प्रभाव गहिरो रूपमा देखा परेको छ। इन्टरनेट र भिडियो गेमको लत, सामाजिक सञ्जालप्रतिको अत्यधिक निर्भरता, तनाव, डिप्रेशन जस्ता मनोवैज्ञानिक अवस्थाहरू आजका युवायुवतीहरूमा सामान्यजस्तै बनेका छन्। सामाजिक सञ्जालमा अरूको जीवनसँग तुलना गर्ने प्रवृत्तिले आत्मग्लानि, हीनताबोध र असन्तुष्टिको भावना जन्माएको छ, जसको दीर्घकालीन असर तनाव, निराशा र आत्महत्या दरको वृद्धिमा देखिन्छ। प्रविधिले सहजता त दिएको छ, तर मानसिक शान्ति खोसेको स्पष्ट देखिन्छ।
सांस्कृतिक र भाषिक विविधताको सन्दर्भमा प्रविधिको भूमिका जटिल देखिन्छ। एकातिर यसले लोकसंस्कृति, भाषा र परम्परालाई अभिलेखीकरण गर्न र प्रसार गर्न मद्दत पुर्याएको छ भने अर्कातिर, वैश्वीकरणको नाममा सांस्कृतिक एकरूपताको खतरा पनि बढाएको छ। विदेशी भाषा, पहिरन, खानपान, र जीवनशैलीको अन्धानुकरणले मौलिक नेपाली पहिचानमा चोट पुर्याइरहेको छ। प्रविधिको प्रभावले स्थानीय भाषाहरू लोप हुँदै गएका छन्, र सांस्कृतिक विविधता कम हुँदै एक ढाँचाको सांस्कृतिक उपभोक्तावाद जन्मिन थालेको छ, जुन सशक्त राष्ट्रिय पहिचानका लागि चिन्ताको विषय हो।
साथै, प्रविधिको प्रयोग अपराधका नयाँ स्वरूपहरू जन्माउने माध्यम पनि बनेको छ। साइबर क्राइम, ह्याकिङ, अनलाइन ठगी, बाल यौन शोषण, र डेटा चोरीजस्ता अपराधहरू प्रविधिको आडमा बढिरहेका छन्। सुरक्षा प्रणाली पर्याप्त सुदृढ नहुँदा नागरिकको गोपनीयता संकटमा पर्ने खतरा बढ्दो छ। विशेषगरी कमजोर नियमन, साइबर साक्षरताको अभाव र कानुनी कमजोरीका कारण प्रविधिसम्बन्धी अपराध नियन्त्रणमा चुनौतीपूर्ण भइरहेको छ। प्रविधिले नयाँ सम्भावना दिएको छ भने त्यससँगै जोखिम र खतरा पनि ल्याएको यथार्थलाई अस्वीकार गर्न सकिन्न।
तर, यी सबै समस्याहरूको समाधान प्रविधिलाई तिरस्कार गर्नु होइन, बरु यसको विवेकपूर्ण प्रयोग र सन्तुलित व्यवस्थापन गर्नु नै हो। प्रविधिले मानवीयता, नैतिकता र जिम्मेवारीको भावनालाई विस्थापित गर्नु हुँदैन। प्रविधिको प्रयोग सशक्त समाज निर्माणका लागि हुनुपर्छ, मानव नै प्रविधिको दास नबनोस्। अन्ततः प्रविधि मानव जीवनको अपरिहार्य अङ्ग हो, जसको सही दिशा, मर्यादा र नियमनसहितको प्रयोगले मात्र समावेशी, सन्तुलित र समृद्ध भविष्यको निर्माण सम्भव हुन्छ। प्रविधिको सदुपयोग नै आजको प्रमुख आवश्यकताका रूपमा स्थापित हुनुपर्छ।