Jul 27 2026 | २०८३, श्रावण ११ गते

गाउँदेखि विश्वविद्यालयसम्म : जीवनको पाठशाला

गाउँदेखि विश्वविद्यालयसम्म : जीवनको पाठशाला

  • 632
    SHARES

  • गाउँदेखि विश्वविद्यालयसम्म : जीवनको पाठशाला

    रोशन सिंह धामी - साउन, ११ गते । सपना देख्नलाई कसैले रोक्दैन, तर सपना पुरा गर्न हजारौं पाइलाहरू टेक्नुपर्छ, ती पाइलाहरू कहिले हिलोमा चिप्लिन्छन्, कहिले ढुङ्गामा ठोकिन्छन्, कहिले खोला तर्दै अघि बढ्नुपर्छ। म त्यही बालक हुँ, जसले जीवनको सुरुवात एक सानो गाउँबाट गर्‍यो, हातमा फाटेको झोला, हृदयमा गहिरो आशा, र आँखाभरि सपना बोकेर हिड्यो ।

    म जीवनको उज्यालो खोज्दै, ज्ञानको दीप सलबलाउने यात्रामा निस्किएको थिएँ। आज म दार्चुला बहुमुखी क्याम्पसमा अंग्रेजी विषयमा स्नातक तहमा अध्ययनरत छु। त्यो यात्रा जो धेरैलाई सामान्य लाग्न सक्छ, मेरो जीवनमा अत्यन्त गहिरो अर्थ राख्छ। त्यो मेरो आत्मबोधको यात्रा हो, जसले मलाई केवल शैक्षिक उन्नति मात्र होइन, आत्मबल, प्रतिबद्धता, र सामाजिक जिम्मेवारीका भावनाहरू पनि सिकाएको छ।

    मेरो बाल्यकाल पहाडको काखमा फैलिएको एक सानो गाउँमा बित्यो जहाँ प्रकृति सुन्दर थियो, तर जीवन कठिन। विद्यालय पुग्न मलाई दिनदिनै ४५ मिनेट पैदल यात्रा गर्नुपर्थ्यो, त्यो पनि हिलो, खोल्सा र चट्टान पार गर्दै। यो यात्रा केवल भौगोलिक दूरी पार गर्नु मात्र थिएन, यो ज्ञानको संसारमा प्रवेशको लागि गरेको संघर्ष थियो। त्यो उमेरमा, जहाँ अधिकांश बच्चाहरू खेलकुद, टेलिभिजन र मोबाइल फोनसँग रमाइरहेका हुन्छन्, म भने एक मात्र पुरानो किताबलाई साथी बनाएर टुकीको उज्यालोमा पढिरहेको हुन्थें।

    विद्यालयमा न त पर्याप्त स्रोत थिए, न पुस्तकालय, न त अंग्रेजी पढाउने दक्ष शिक्षक नै। इन्टरनेट भनेको त हामीले कहिल्यै सुनेको पनि थिएनौं। मैले पढ्ने किताबहरू फाटेका हुन्थे, कतिपटक हामी पाँच जना साथीहरूले एउटै किताब साझेदारी गरेर पढ्नुपर्थ्यो। त्यो साझा अध्ययनले हाम्रो सहकार्य र मित्रता त बलियो बनायो, तर ज्ञान हासिल गर्ने बाटो अत्यन्तै कठिन भयो। शिक्षा केवल कक्षाकोठामा मात्रै पाएको छैन, मैले खेतबारीमा आमाबाबुसँग काम गर्दै जीवनको वास्तविक अर्थ बुझेँ। मेरो घरको आर्थिक अवस्था कमजोर थियो। ट्युसन पढ्ने कुरा सपना जस्तै थियो। संघर्ष सँगसँगै बाँच्न सक्नुपर्छ भन्ने कुरा मैले बाल्यकालमै बुझिसकेको थिएँ । त्यो संघर्षले मलाई निराश होइन, बलियो बनायो। नेपालको ग्रामीण शिक्षा प्रणालीको अवस्थाले मेरो जीवनमा गहिरो प्रभाव पारेको छ। जब हामी सहरका विद्यालयहरूमा अंग्रेजी माध्यम, इन्टरनेट, स्मार्ट बोर्ड र प्रशिक्षित शिक्षकहरूका कुरा सुन्छौं, तब गाउँका विद्यालयहरूको अवस्थाले गहिरो अन्तर देखाउँछ। राज्यको दृष्टिमा शिक्षा सबैका लागि समान हुनुपर्छ भन्ने आदर्श हो, तर व्यवहारमा त्यो समानता अझैपनि सपना बनेको छ। मलाई आज पनि लाग्छ, यदि गाउँमा शिक्षाको गुणस्तर राम्रो हुन्थ्यो भने, मलाई मेरो वर्तमानसम्म आइपुग्न सम्भवतः अलिक सहज हुनेथियो। तर त्यो कठिनाइ नै मेरो निर्माणको जग बन्यो।

    शिक्षा भनेको केवल किताब पढ्नु मात्र होइन यो जीवन बुझ्ने, समाज बदल्ने, र आफूलाई आत्मसाक्षात्कार गराउने साधन पनि हो। मैले शिक्षा पाउन अनेकौं अवरोध पार गरें, तर त्यो प्रत्येक अवरोधले मलाई ूसच्चा शिक्षा त्यही हो, जुन कठिनाइमा पनि बाटो देखाउँछ” भनेर सिकायो । आज जब म क्याम्पसमा अंग्रेजी भाषा विषयमा अध्ययन गरिरहेछु, त्यो भाषा केवल एक विषय होइन, यो विश्वसँग जोडिने सेतु हो भन्ने अनुभूति भएको छ। एउटा गाउँको बालकका लागि, जसले बाल्यकालमा “apple” भन्न पनि संकोच मानेको थियो, आज अंग्रेजीमा लेख्न, बोल्न सक्नु आफैंमा एक उपलब्धि हो। तर यो उपलब्धि केवल मेरो होइन, त्यो प्रत्येक गाउँका बालबालिकाको कथा हो, जसले आफ्नै परिवेशलाई जित्दै भाषा सिकिरहेका छन्।

    आज म जुन ठाउँमा छु, त्यो केवल शैक्षिक उपलब्धिको परिणाम होइनस त्यो एक गहिरो आन्तरिक रूपान्तरणको कथा हो। बाल्यकालका ती संघर्षहरूले मलाई केवल विद्यार्थी होइन, एक प्रतिबद्ध युवा बनायो। जब म विगत सम्झन्छु, मैले आफूभित्रको आवाज सुन्न सिकें, जीवनप्रति उत्तरदायी बन्न सिकें भन्ने लाग्छ । संघर्ष केवल बाधा होइन, त्यो विकासको प्रारम्भिक अवस्था हो ।

    समाजले धेरैपटक गरिबीलाई कमजोरीका रूपमा देख्छ, तर गरिबीले तपाईंलाई आत्मनिर्भर बनाउँछ, लड्न सिकाउँछ, र अन्ततः तपाईंलाई जीवनको साँचो मूल्य बुझाउँछ। धन नभए पनि आत्मबल हुनुपर्छ, स्रोत नभए पनि संकल्प हुनुपर्छ भनेर गरिबीले मलाई सिकायो।

    नेपालको ग्रामीण शिक्षा प्रणाली केवल एक विद्यार्थीको समस्या होइन, यो संरचनात्मक असमानताको परिणाम हो। जब सहरका विद्यालयहरूमा विद्यार्थीहरू स्मार्ट बोर्डमार्फत पढ्दैछन्, त्यही बेला गाउँका बच्चाहरू अझैपनि चक, डस्टर र पुराना किताबहरूमा सीमित छन्। यो केवल स्रोतको प्रश्न होइनस यो नीतिगत प्राथमिकताको प्रश्न हो।

    हामीले बारम्बार ूशिक्षा सबैका लागिू भन्ने नाराहरू सुन्छौं, तर त्यो नाराले ग्रामीण जनताका जीवनमा सार्थकता ल्याउन सकेको छैन। मेरो अनुभवले देखाउँछ यो पुस्टि हुन्छ कि जबसम्म ग्रामीण क्षेत्रका विद्यालयहरूमा गुणस्तरीय शिक्षक, पुस्तकालय, प्रविधि र आधारभूत संरचना छैन, तबसम्म हामी समावेशी शिक्षा मात्र नारा बनाइरहनेछौं।

    म अंग्रेजी भाषाको विद्यार्थी हुँ। मलाई यो बुझ्न धेरै समय लाग्यो कि भाषा केवल सञ्चारको माध्यम होइन, यो एक सामाजिक शक्तिको रूप हो। भाषा तपाईंलाई आत्मविश्वास दिन्छ, विचार अभिव्यक्त गर्न सक्षम बनाउँछ, र संसारसँग संवाद गर्न मद्दत गर्छ। म सानैदेखि अंग्रेजीप्रति झुकाव राख्दथें, तर मलाई सिक्ने अवसर थिएन। आज जब म भाषा सिकिरहेको छु जसले मलाई विश्वसँग जोड्नेछ।

    भाषा बोल्न नसक्ने डर त्यत्तिकै रहन्छ, जबसम्म हामी अभ्यास गर्दैनौं। मैले गल्तीहरू गरें, संकोच गरेँ, तर ती गल्तीहरूले नै मलाई अघि बढायो। आज म आत्मविश्वासका साथ लेख्न सक्छु, बोल्न सक्छु। त्यो क्षमता मैले आफूभित्रको संघर्ष, निरन्तर अभ्यास र प्रतिबद्धताबाट पाएको हुँ। मेरो लक्ष्य केवल आफ्नै सपनाहरू पूरा गर्नु मात्रै होइन म जस्तै ग्रामीण पृष्ठभूमिबाट आएका विद्यार्थीहरूलाई साथ र प्रेरणा दिने पनि हो ।

    मलाई थाहा छ, ती विद्यार्थीहरूले पनि सपना देखेका छन्, तर सम्भावनाको ढोका बन्द छ। म चाहन्छु, उनीहरूको सपनामा म उज्यालो बन्न सकूँ। भविष्यमा म ग्रामीण क्षेत्रमा शिक्षामै समर्पित रहन चाहन्छु जसमा पनि विशेषतः अंग्रेजी भाषा शिक्षामा योगदान दिन चाहन्छु । मैले भोगेका कठिनाइहरू, झेलेका अवरोधहरू, आज मलाई अरूको लागि मार्गदर्शक बन्ने अवसर दिन्छन्। मलाई थाहा छ, म मात्र होइन, मेरो जस्तो अनुभव बोकेका हजारौं युवा छन्, जसको संघर्षले नेपाल बदल्न सक्छ।

    मेरो गाउँदेखि क्याम्पससम्मको यात्रा केवल भौगोलिक दूरी पार गर्ने कथा होइनस यो जीवनका मूल्य, आत्मविश्वास, संघर्ष र सपनाको यात्रा हो। सफलता न धनले आउँछ, न स्रोतलेस त्यो आउँछ धैर्यता, निरन्तरता र आत्मविश्वासले भन्ने कुरा मैले जीवनबाट सिकें । शिक्षा र भाषा यी दुई तत्वहरूले मलाई अन्धकारबाट उज्यालोतर्फ लगिरहेको छ। कसैको जन्म कहाँ भयो भन्ने कुराले होइन, उनी कहाँ पुग्न चाहन्छ भन्ने कुराले उसको पहिचान निर्धारण गर्छ भन्ने मैले बुझें । म अझै यात्रा गरिरहेछु, तर म कहिल्यै रोक्दिन आज म आत्मविश्वासका साथ भन्न सक्छु ।

    सपना देख्न डराउनु हुँदैन। साना साना पाइलाहरूले नै महान लक्ष्यहरूतर्फ डोरयाउँछन्। संघर्ष जीवनको पाठशाला हो, जहाँ प्रत्येक बाधाले हामीलाई बलियो बनाउँछ। यदि संकल्प छ भने, कुनै पनि गाउँका बाटाहरू क्याम्पससम्म पुग्न सक्छन् भन्ने मेरो जीवनले प्रमाणित गरिसकेको छ ।

    लेखकः धामी विद्यार्थी, सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला बहुमुखी क्याम्पसका विद्यार्थी हुन्।

    images
    आइतवार, श्रावण १२ २०८२१०:१३:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार