सोमवार, श्रावण १३ २०८२
मनिशा पन्त - साउन, १२ गते। सङ्घीयता कार्यान्वयनसँगै नेपालको स्थानीय तहहरूले अधिकार प्राप्त गरेका छन्, जुन निकै सकारात्मक कुरा हो। यद्यपि, स्थानीय तहमा शिक्षा, स्वास्थ्य, उपचार र सेवा प्रवाह क्षेत्रहरूमा विस्तार भएको छ। तर, राजनीतिक हस्तक्षेप, शक्तिको केन्द्रीकरण र पक्षपातले स्थिति शान्त र सन्तुलित हुन सकेको छैन। राजनीतिक पहुँच नभएकाहरू सेवा र सुविधा पाउनबाट वञ्चित छन् भने पहुँच भएकाहरूले आफ्नो मनपरी चलाउने अभ्यास गरेका छन्। यसले प्रष्ट देखाउँछ कि यदि कुनै काम गर्नु परेमा पहिले कुनै नेताको सिफारिस आवश्यक पर्छ भन्ने गलत सन्देश समाजमा फैलिएको छ।
शिक्षाको आधारमा समावेशी र स्थायी शासनको अपेक्षा गरिन्छ। तर, वर्तमान अवस्थामा शिक्षक नियुक्ति, स्थानान्तरण तथा प्रशासनिक कामकाजमा समेत राजनीतिक हस्तक्षेप हुने गरेको पाइन्छ। यसरी राजनीतिक हस्तक्षेपले आफ्नै घर-परिवारमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ। करिब १५–१६ वर्षसम्म गाउँपालिकाभित्रै शिक्षकको रूपमा कार्यरत मेरा बुबा लगायतका अन्य कर्मचारीहरुलाई राजनीतिक पूर्वाग्रह रुपमा विस्थापित गर्दै जिम्मेवारीबाट हटाइयो। उहाँहरुको व्यवहार, कार्यशैली र निष्ठाको चर्चा विध्यालयमा मात्र होइन समुदाय मा पनि प्रशंसा योग्य थियो। तर जब स्थानीय तहमा राजनीतिक समीकरण फेरियो उनीहरुको ठाउमा सम्बन्धित राजनीतिक दल तथा गुट नजिक भएका व्यक्तिहरुलाई राखियो। जहाँ कुनै योग्यताको कदर भएँन, राम्रा भन्दा पनि हाम्रा हेरिए।
म इमान्दार शिक्षक र कर्मचारीहरु माथि गरिएको त्यो अन्यायपुर्ण घटाना कहिले विर्सन सक्दिन, त्यो दिन सबैको आखामा आशु र मनमा पिडा थियो तर गुनासो र न्यायका लागि कुनै ठाउँ थिएन्। बुवाले आफुले शिक्षा क्षेत्रमा गरेको निस्वार्थ सेवा सम्झेर भन्नु भयो “हामीले हरेस खानुहुन्न, समय सधै उस्तै रहदैन”। त्यो दिन देखि सोच्न थाले “के योग्य मनिसहरु सधै यस्तै अन्यायको शिकार हुने त ? के हामीहरुले पनि उनीहरु जस्तै योग्यता, दक्षता र बिज्ञता हुदा पनि आफ्ना रहर, आशा, सपना साच्चिकै मर्न दिनु नै पर्ने हो त? यी समस्या केवल मेरो परिवारको मात्र होइन धेरै व्यक्ति थिए जो धेरै वर्षदेखि आफ्नो पेशामा निष्ठापुर्वक कार्यरत थिए। तर स्थानिय निकायमा आएको नयाँ नेत्तृत्व र त्यससंगै आएको राजनीतिक गुटबन्दी प्रवृतिले इमान्दार जनशक्ति बिस्थापित गर्यो। दुखत पक्ष के थियो भने जसले राजनीतिक पहुच, पैसा वा चाकरी देखाए उनीहरुलाई पुनः राखियो। यसरि योग्यता भन्दा बढी लेनदेन, चाकरिले र राजनीतिक पहुचले ठाउँ पायो। तर केहि इमान्दार र आत्मसम्मानि मानिसहरु जसले आफ्नो ईमान बेच्न हुन्न भन्ने अडान लिए, उनीहरु कहिलै पुनर्वाहाली हुनसकेनन। न आवाज उठाउने ठाउँ थियो न सुनवाई हुने व्यवस्था। यस्तो स्थितिमा एउटा योग्य निष्ठावान व्यक्तिको सपन तुहियो। त्यो एउटा जागिरको गुमाई मात्र थिएन त्यो एउटा असल, सच्चा इमान्दार व्यक्तिको शिद्धान्त माथिको प्रहर थियो। उक्त घटनाले घरकै खम्बा र हाम्रो प्रेरणाका खानी मानिने व्यक्तिको आत्मवल अलि कमजोर भएको महसुस भयो।
समाजमा जरा गाडेर रहेका यी समस्याको जरैबाट उन्मुलन हुन् जरुरि छ। यी समस्याको समाधानलागि नीतिगत समाधानहरु प्रभावकारी रुमपा लागुगर्नु अति आवस्यक रहेकोछ। पहिलो, स्थानीय तहमा राजनीतिक हस्तक्षेप रोक्न स्पस्ट नीति र कानुनी कडा प्रावधान आवस्यक छ। दोश्रो, खुला प्रतिस्पर्धा र पारदर्शी छनोट प्रकिर्या लागु गर्नुपर्छ। तेस्रो, योग्यता, अनुभव र निस्पक्ष मूल्यांकनका आधारमा नियुक्ति र जिम्मेवारी वितरण हुनुपर्छ। चौथो, गुनासो र उजुरी सुन्ने स्वतन्त र बलियो संयन्त्र बनाउनुपर्छ जसले निस्पक्ष सुनवाई गर्नसकोस। त्यसैगरि सामाजिक सोच र मानसिकतामा आमुल सुधार हुनु पनि जरुरि छ। “हाम्रो मान्छे” भन्ने सोच “रामो” मान्छे” भन्ने सोचमा रुपान्तरण हुनु आवस्यक छ। पहुच र चाकरी भन्दा पनि योग्यता, क्षमता, दक्षता, इमान्दारिता, निष्ठा, सत्यता र पारदर्शितालाई सम्मान गर्ने प्रवृतिको विकास हुनुपर्छ। गलत गर्नेलाई साथ दिने संस्कारको अन्त्य गरि सत्य को पक्षमा निर्भिक भई उभिनसक्ने सामाजिक चेतनाको विकास गर्न जरुरी छ।
मेरा बुवा मेरो जीवनका प्रेरणाका मूल श्रोत हुनुहुन्छ। उहाँको त्याग, सहनशीलता र अनुशासन मेरो शिक्षाको आधारस्तम्भ बनेका छन्। उहाँले सिकाउनुभएको धैर्यता, समय व्यवस्थापन र कठिन परिश्रमले मलाई आफ्नो लक्ष्यप्रति समर्पित रहन उत्प्रेरित गर्छ। सत्य, निष्ठा र श्रमलाई जीवन मूल्य मान्दै उहाँको आदर्श पछ्याउने मेरो प्रतिबद्धता निश्चल छ। तर व्यक्तिगत प्रेरणा र सपना मात्र पर्याप्त हुँदैन; जबसम्म ती प्रेरणालाई व्यवहारिक कार्यमा रूपान्तरण गर्न सकिँदैन, तबसम्म ती सपना अधुरा नै रहन्छन्।
यद्यपि व्यक्तिगत स्तरमा असल मूल्य र आदर्श बोकिए पनि सामाजिक संरचना भित्र व्याप्त राजनीतिक हस्तक्षेप र प्रशासनिक ढिलासुस्तीले ती प्रयासहरूलाई अवरुद्ध पार्ने गरेका छन्। मेरो अनुभवमा, नेतृत्वमा पारदर्शिता र जवाफदेहिता नहुनु समाजका लागि बाधक बन्ने प्रमुख कारण हो। यसले न त सिर्जनशील युवा सोचलाई प्रोत्साहन दिन्छ, न त योग्यतालाई सम्मान। व्यक्तिगत प्रतिबद्धता समाज परिवर्तनको एक पक्ष भए पनि, त्यो संस्थागत र संरचनात्मक सुधार बिना अधूरो हुन्छ। त्यसैले, मेरो आशा यति मात्र होइन कि म आफू सफल होस्, बरु त्यो सफलता समाजका लागि उपयोगी बनोस् भन्ने हो।
केवल औपचारिक शिक्षा, डिग्री वा प्रमाणपत्र प्राप्त गर्नु शिक्षाको अन्तिम लक्ष्य होइन भन्ने कुरा मैले बुझेकी छु। साँचो शिक्षा भनेको अरूको पीडालाई बुझ्ने, सामाजिक समस्याहरूमा संवेदनशील हुने र आफ्नो ज्ञानलाई व्यवहारमा उतार्ने क्षमता विकास गर्नु हो। शिक्षाले व्यक्ति भित्र धैर्य, सहनशीलता र विवेक निर्माण गर्छ, जुन व्यवहार परिवर्तनको पूर्वाधार हो। तर, हाम्रो शिक्षा प्रणाली अझै पनि धेरै हदसम्म अंक केन्द्रित, रोजगारमुखी र प्रमाणपत्रमुखी देखिन्छ। यस्तो प्रणालीले सिर्जनात्मकता र सामाजिक प्रतिबद्धता बढाउन सक्दैन। त्यसैले, शिक्षालाई जीवनसँग गाँसिएको मूल्य–आधारित अभ्यासमा बदल्न आवश्यक छ।
राजनीतिक हस्तक्षेप ‘निष्क्रियताको आवरण’ हो, जसले नेतृत्वको जिम्मेवारीबाट उम्किन खोज्छ। भूमिकाको अस्पष्टता, नीति कार्यान्वयनको ढिलासुस्ती र सामाजिक असमानता राजनीतिक अपारदर्शिताको परिणाम हो। यसले योग्य र निष्ठावान नागरिकहरूलाई निरुत्साहित पार्छ, जसले देशका कुनाकाप्चामा मौन पीडा भोगिरहेका छन्। यी समस्याको समाधान केवल कानुनी वा संस्थागत सुधारले मात्र सम्भव हुँदैन; यसका लागि नेतृत्वले उनीहरूको सपना बुझ्न र साथ दिन सक्नुपर्छ। म विश्वास गर्छु कि सामाजिक परिवर्तनको थालनी व्यक्तिगत प्रतिबद्धता र चेतनाबाटै सुरु हुन्छ। मेरो प्रेरणा यिनै निष्ठावान, समर्पित मानिसहरूबाट हो, जसले मौन संघर्षमार्फत भविष्य बदल्न सपना देखिरहेका छन्।
राजनीतिक हस्तक्षेप, गुटबन्दी, पहुँच र सिफारिस–संस्कृतिले योग्य, निष्ठावान र समर्पित जनशक्तिको मूल्य घटाइरहेको वर्तमान सामाजिक र राजनीतिक संरचना अत्यन्त चिन्ताजनक छ। यस्तो प्रवृत्तिले शिक्षा, प्रशासन, सेवा प्रवाहलगायतका क्षेत्रमा अन्याय, असमानता र निराशा बढाइरहेको छ। केवल संस्थागत सुधार, नीतिगत स्पष्टता र कानुनी कठोरता नै यी समस्याको पूर्ण समाधान होइन; त्योभन्दा महत्वपूर्ण सामाजिक मानसिकताको रूपान्तरण हो। “हाम्रो” होइन “राम्रो” व्यक्तिको कदर गर्ने संस्कृति निर्माण गर्नु आजको आवश्यकता हो। वास्तवमा सत्य, निष्ठा र न्यायको पक्षमा उभिने नागरिक चेतना नै दीगो परिवर्तनको आधार हो। मेरो बुवाको प्रेरणा र मेरो प्रतिबद्धता यही समाज परिवर्तनको यात्रामा एक सानो इँटा बन्ने हो, जसले निष्पक्ष, न्यायपूर्ण र समावेशी भविष्य निर्माणमा योगदान पुर्याओस्।
लेखक: पन्त विद्यार्थी, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस